|
फाइल तस्बिर

मुगु : मुगुम कार्मारोङ गाउँपालिको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्ब संकलन लागि आगामी जेठ १५ देखि प्रवेश खुला गरिने भएको छ। 

गाउँपालिकाले जेठ १० देखि १४ सम्म यार्सागुम्बा संकलन गर्नेहरुबाट कर लिने र जेठ १५ बिहानदेखि प्रवेश गर्न दिने गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिए। उनका अनुसार मुगुवासीलाई प्रतिव्यक्ति दुई  हजार र मुगुभन्दा बाहिरकालाई दुई हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ।

मुगुम कार्मारोङ गाँउपालिका–२ मुगुगाउँको रिमाण, ठूलोकोईकी, सानो काईकीे, छापाखोला, चार्कुलगायतका वनमा यार्सा पाइन्छ। यार्सा संकलकबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङमा छलफल गरी खर्च गर्नेबारे छलफल गरिने बताइएको छ।

कडा सुरक्षा व्यवस्था

यार्सा संकलनको समयमा लुटपाटका घटना हुने भएकाले सुरक्षा व्यवस्था कडा परिएको बताइएको छ। केही वर्षअघिसम्म लुटपाटका घटना भए पनि सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरेपछि कम हुँदै गएको बताइएको छ। 

जेठ १५ देखि असार २५ सम्म यार्सा संकलन गर्न अनुमति दिइने भएकाले त्यो अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती पचिालन समेत गरिने जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरीक्षक लालबहादुर एैरले बताए। उनका अनुसार वैशाख मसान्तभित्र सुरक्षा टोली त्यसतर्फ पुगिसकेको छ।

यसैबीच संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ। संकलकले नियमवपरीत काम गरे १० हजार रुपैयाँसम्म जरिवाना हुने गाउँपालिकाले जनाएको छ। यार्सा संकलन क्षेत्रमा सिसा, प्लाष्टिक नफाल्न, वन्यजन्नुको सिकार नगर्न, बोटबिरुवा नकाट्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.