आत्मनिर्भर बन्छन् विद्यार्थी, अभिभावकलाई राहत

|

काठमाडौं : निजी विद्यालयको जगजगी रहेको अहिलेको समयमा १ कक्षाकै मासिक शुल्क २० हजारसम्म तिर्नुपर्छ। सरकारले नि:शुल्क शिक्षा दिने नीति लिइरहेको। तर कार्यान्वयन हुन सकेको छैन। सरकारी विद्यालयहरुको शिक्षाको स्तर कम्जोर हुँदा निजी विद्यालयहरुले अभिभावकको ढाड सेक्ने गरेका छन् । 

काठमाडौंका नाम चलेका निजी विद्यालयमा अभिभावकले छोराछोरी पढाउनै सक्दैनन्। शुल्क यति चर्को छ कि घर खेत नै बेच्नुपर्छ। कम्जोर आर्थिक अवस्थाका अभिभावकले सामान्य सरकारी विद्यालयमा छोराछोरी पढाउछन्। अझ आर्थिक रुपमा बिपन्‍न, शारीरिकरुपमा अशक्त र सुस्त मनस्थितिका बालबच्चालाई पढाउने विद्यालय राजधानीमा भेट्टाउनै मुस्किल पर्छ।

स्‍नातकसम्म नि:शुल्क

तर राजधानी सहरमै एउटा यस्तो विद्यालय पनि छ, जहाँ स्‍नातकसम्म निशुल्क पढाउने व्यवस्था छ। यो विद्यालयमा अशक्त बालबालिकालाई पढाइन्छ। यहाँ शारीरिक रुपमा र्दुबल र बहिरा विद्यार्थीलाई पूर्वप्राथमिक तह (नर्सरी) देखि स्‍नातकसम्म निःशुल्क पढाइन्छ।

अनेक सुविधासहितका निजी विद्यालय रहेको राजधानीमा केन्द्रीय बहिरा विद्यालय अन्य भन्दा बिल्कुल फरक छ। यस विद्यालयमा विपन्‍न विद्यार्थीले सजिलै पढ्न पाउँछन्। यहाँ नर्सरीदेखि स्‍नातकसम्म विद्यार्थीले एक पैसो शुल्क तिर्नु पर्दैन। यहाँ शारीरिक रुपमा अशक्त विद्यार्थीले सांकेतिक भाषाको माध्यमबाट  पढ्न पाएका छन्। अभिभावकले पनि शारीरिक दुर्बलता भएका आफ्ना छोराछोरीलाई पढाउने सपना पुरा गर्न पाएका छन्।

२०२३ सालमा स्थापना भएको यस विद्यालयमा सुरुबाटै सांकेतिक भाषाबाट पठनपठन गराउँदै आएको सूचना अधिकारी नवीन श्रेष्ठले बताए। विद्यालय स्थापना हुँदा ४ जना विद्यार्थीबाट पढाउन थालिएको थियो । यो विद्यालयमै पढेका विद्यार्थीहरु अहिले शिक्षक भएर अरुलाई पढाइरहेका छन्।

यस विद्यालयमा पनि विद्यार्थीलाई प्रत्येक दिन अतिरिक्त क्रियाकलाप पनि गराइन्छ। साथमा विभिन्‍न खेलमा विद्यार्थीलाई सहभागी गराइन्छ। कक्षा १ देखि ५ सम्मका छात्राछात्रलाई भलिबल, टेबलटेनिस, व्याटमिन्टन, लुँडो, डोरी, चेस जस्ता खेल खेलाइन्छ। ६ देखि १० सम्मका छात्राछात्रलाई फुटबल, बास्केटबल, क्रिकेट र रिङजस्ता अतिरिक्त क्रियाकलाप खेलाइन्छ।

यहाँ बिहान १० वजेदेखि दिउँसो ४ बजेसम्म कक्षा देखि १० सम्मको पढाई हुन्छ। दिउँसो ३:४५ देखि बेलुका ७ बजेसम्म स्‍नातक तहको पढाई हुने गर्छ। विद्यार्थीको पढाई निःशुल्कसँगै टाढाबाट आउने विद्यार्थीलाई निःशुल्क गाडी पनि व्यवस्था गरिएको श्रेष्ठ बताउँछन्। उनले करिब १५० विद्यार्थीलाई दैनिक स्कुल ल्याउने लाने गरेको सुनाए

आत्मनिर्भर बन्दै विद्यार्थी

यस विद्यालयका विद्यार्थीले ज्ञान मात्र लिँदैनन्, आत्मनिर्भर हुने सीप पनि सिक्छन्। 'हामीले पठनपाठन गराएका छात्रछात्राहरु आफ्नै खुट्टामा उभिएका छन्' श्रेष्ठले भने, 'पेप्सीकोला कम्पनी, बेकरी क्याफे, औषधि कम्पनी, रेष्टुरेन्ट र उधोगधन्दामा काम गर्ने अवसर पाएका छन्।' उनले विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीले अन्य ठाउँमा सांकेतिक भाषाका शिक्षकका रुपमा कार्यरत रहेको सुनाए।

३९० विद्यार्थी पढ्दैछन्

यहाँ ६ वर्षभन्दा माथिका बालबालिकाको भर्ना लिइन्छ। नयाँ शैक्षिक सत्रमा पूर्वप्राथमिक तह कक्षा १ मा १२, पूर्वप्राथमिक तह कक्षा २ मा १५ र पूर्वप्राथमिक तह कक्षा ३ मा १२ जना विद्यार्थी भर्ना भएका छन्।

त्यस्तै कक्षा १ मा १६, कक्षा २ मा १६, कक्षा  ३ मा १९, कक्षा ४ मा २४ र कक्षा ५ मा २५ विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ मा १८, कक्षा ७ मा २४, कक्षा ८ मा २९, कक्षा ९ मा ४१, कक्षा १० मा ३४, कक्षा ११ मा ३४ र कक्षा १२ मा ४२ जनासहित ३९० जना विद्यार्थीले यहाँबाट आफ्नो भविष्यको रेखा कोरिरहेका छन्।

३२३ जना प्रवेशिका उत्तीर्ण

यो विद्यालय २०५५ सालदेखि प्रवेशिका परीक्षा (एसएलसी) मा सामेल भएको हो। विद्यालयको तथ्याङ्क अनुसार ०५५ सालमा ४ जना, ०५६ मा १० जना, ०५७ मा २ जना, ०५८ मा ६ जना, ०५९ मा १ जना, ०६० मा २ जना, ०६१ मा ५ जना, ०६२ मा ४ जना र ०६३ मा १२ जना विद्यार्थी एसएलसी उत्तीर्ण भएका छन्। 

त्यस्तै ०६‍४ सालमा १५ जना, ०६५ मा १७ जना, ०६६ मा २१ जना, ०६७ मा २५ जना, ०६८ मा २२ जना, ०६९ मा २६ जना, ०७० मा २७ जना, ०७१ मा जना विद्यार्थी एसएलसी उत्तीर्ण भइसकेका छन् । 

२०७२ सालबाट सञ्चालित एसइई परीक्षामा ३१ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै ०७३ सालमा ३४ जना र ०७४ सालमा ३२ जनाले एसइई परीक्षा उत्तीर्ण गरेका छन्। गत चैतमा सञ्चालित एसइईमा ३० जना विद्यार्थी सहभागी थिए । 

२०५५ सालदेखि २०७४ सम्ममा ३२३ जना विद्यार्थीले प्रवेशिका उत्तीर्ण गरेका छन्। क्याम्पस प्रमुख ऋषि देवकोटाले प्रवेशिका परीक्षामा ३२३ विद्यार्थी र स्‍नातक तहमा ११ विद्यार्थी उत्तीर्ण हुँदा शिक्षकहरुलाई गौरव लागेको बताए । 

११ विद्यार्थी स्‍नातक पास

केन्द्रीय बहिरा विद्यालयका प्रमुख देवकोटाले २०६९ सालबाट विद्यालयमा शिक्षा संकायमा स्‍नातक तहको पढाई सुरु गरेको बताए। हाल स्‍नातक प्रथम वर्षमा १६, दोस्रोमा २४, तेस्रो वर्षमा ३७ र चौथो वर्षमा ३० जना अध्ययनरत छन्।

हालसम्म यहाँबाट ११ जनाले स्‍नातक उत्तीर्ण गरेका छन्। विद्यार्थीलाई उच्च शिक्षापनि दिनुपर्छ भन्‍ने उद्धेश्यले २०६९ सालमा २७ जना विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको थियो। 

कमजोर विद्यार्थीका लागि छुट्टै व्यवस्था नभएको हुनाले अन्य विद्यार्थीमाझ यहाँका विद्यार्थीलाई प्रतिप्रर्धा गर्न गाह्रो भएको छ,’ क्याम्पस प्रमुख देवकोटाले भने, ‘११ जना भनेको पनि हाम्रो लागि ठूलो उपलब्धी हो, राम्रो सफलता हो।’

उनले विद्यार्थीलाई सांकेतिक भाषाको प्रयोग गरेर पढाउँदा अन्य विद्यार्थीले भन्दा छोटो विधिबाट बुझ्ने भएकाले परीक्षामा सबै कुरा लेख्‍न नसक्ने बताए। 'सांकेतिक भाषाबाट अध्ययन गरेर विद्यार्थीले स्‍नातक तहको प्रमाणपत्र लिनु भनेको हामी शिक्षकहरुका लागि गौरवको कुरा हो', देवकोटाले भने।

शिक्षकको गुनासो 

यस विश्विद्यालयमा अध्यपन गराउने शिक्षकलाई अस्थायी शिक्षकको मात्रै मान्यता दिइएको छ। यहाँ स्थायी शिक्षक छैनन्। अन्य सामुदायिक विद्यालयका शिक्षकले जस्तै यहाँका शिक्षकले पनि स्थायीसहितका सुविधा खोजेका छन्।

प्रमुख देवकोटाले विद्यार्थीबाट एक रुपैयाँ शुल्क नलिएको यो विद्यालयलाई सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई जस्तै सेवा सुविधा नदिएकोमा गुनासो गरे। 'हामी न्यूनतम तलबमा कार्यरत छौं, तर पनि विद्यार्थीलाई पढाइरहेका छौँ', देवकोटाले भने, 'न्यूनतम खर्चमा पनि विद्यार्थी पढाउनु हाम्रो बाध्यता हो।’

सूचना अधिकारी श्रेष्ठले अन्य सामुदायिक विद्यालयका शिक्षक कर्मचारीसरह तलब नपाएको गुनासो गरे। उनले सांकेतिक भाषा अध्यपन गराउने शिक्षक कर्मचारीलाई सरकारले लाइसेन्स दिनुपर्ने बताए। 

'शिक्षण पेसामा संलग्न भइरहँदासम्म थोरै पारिश्रमिक तपाइन्छ', उनले भने, 'काम छोडेको दिन हामी खाली हात घर फर्किनुपर्छ। तर पनि सेवा नै धर्म हो भनेर पढाइरहेका छौँ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.