|

झापा (भद्रपुर) : झापा सदरमुकाम भद्रपुर नगरक्षेत्रभित्र अहिले धमाधम कालोपत्रे सडक निर्माण कार्य भइरहेको छ। भद्रपुर नगरपालिकाले करोडौँ बजेट निकासा गरी निर्माण गरिएको कालोपत्रे सडकको गुणस्तर अवस्थामा कस्तो छ?

ठेकेदार र उपभोक्ता समितिले इस्टिमेटअनुसार सडकको मापदण्ड पूरा गरेको छ कि छैन? अलकत्राको गुणस्तर कस्तो छ? सडक बनाउनुअघि बेसको काम कस्तो गरेको छ भन्ने विषयमा नगरपालिकाका प्राविधिक कर्मचारीले खासै चासो देखाएको पाइँदैन।

निर्माण भइसकेको कतिपय सडकको कालोपत्रे उप्किन र भत्किन थालिसकेको छ। कतिपय स्थानमा अहिले कालोपत्रे सडक निर्माणाधीन अवस्थामा रहेको छ। निर्माणाधीन अवस्थामा रहेको सडकमा ठेकेदार र उपभोक्ता समितिलाई नगरपालिकाकै प्राविधिक कर्मचारीले उल्टै संरक्षण गर्दै आइरहेकोले सडकको गुणस्तरमा नगरवासीले गम्भीर प्रश्न उठाउन थालिसकेको छ।

यसैक्रममा भद्रपुर-६ स्थित रामअवतारको किराना पसलदेखि राजदेव साहको घर हुँदै कानाचोकबाट भानु नगर जोड्ने सडक निर्माणाधीन अवस्थामा रहेको छ। सो सडक पक्की नालासहित कालोपत्रे बनाउने नगरपालिकाको क्रमगत योजनामा परेको हो। नगरपालिकाले दुई प्याकेजमा बजेट निकासा गरेपछि उपभोक्ता समितिमार्फत सडक बनाउने काम सुरु गरेको हो। दोस्रो प्याकेजको नालासहित कालापत्रे सडक निर्माण भइसकेको छ।

पहिलो प्याकेजमा दुवैतर्फ पक्की नाला बनिसकेकोले चालू आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको ५५ लाख रुपैयाँको बजेटबाट राजदेव साहको घरदेखि काना चोकसम्म करिब ३६० मिटर सडकलाई कालोपत्रे बनाउने काम महिना दिनअघि मात्र सुरु भएको थियो। पुरानो कालोपत्रे सडकलाई छाडेर समितिले दुवैतर्फ जेसिभीले खनेर कालोमाटो निकालेका थिए।

खनिएर निकालेको माटो कतै छेउछाउको खाली जमिनमा थुपारेको छ, भने बाँकी माटो त्यहाँबाट कहाँ पुर्‍याइयो त्यसको अत्तोपत्तो छैन। त्यहाँबाट निस्केको पुरानो इँटाको लेखाजोखा पनि छैन।

जथाभावी सडक खनेर छाडेको विषयमा पानी जमेको सडकको फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाको दबाबमा समितिले बल्ल एक महिनापछि सोमबार सडकको पहिलो चरणको बेस बनाउने काम सुरु गरेको छ।

सडक छेउको माटो हाल्‍न ठेकेदारको आदेश

 बेस बनाउन समितिले एउटा ग्रेडर मेसिन र जेसिभी प्रयोग गरिरहेका थिए। निर्माण कार्य भइरहेको अवस्थामा थाहाकर्मी घटनास्थलमै थिए। नगरपालिकाले बनाएको मापदण्डविपरीत समिति र ठेकेदार पक्षले जेसिभी चालकलाई सडक छेऊमा थुपारेको माटो हाल्न आदेश दिए।

सोही आदेशबमोजिम जेसिभी चालकले माटो हाल्न सुरु गरे। बेसमा माटो हाल्ने मापदण्डमै छैन, मिक्स गिट्टी बालुवा हाल्नुपर्ने हो। बेसमा माटो हाल्न थालेपछि थाहाकर्मीले तुरुन्त सडकको मापदण्ड बुझ्न नगरपालिकाका इन्जिनियर योगेन्द्र रंजितकारलाई फोन गरे। बेसमा माटो हाल्दै गरेको अवस्थामा उपभोक्ता समितिका राजेश भण्डारी, ठेकेदार बालध्वज कार्की, नगरपालिका सब इन्जिनियर दिनेश कर्ण लगायतका टोली निर्माणस्थलमै थिए।

माटो झिक्न आदेश दिइसक्यौँ : इन्जिनियर

थाहाकर्मीले माटो हाल्दै गरेको फोटो र भिडियो खिच्न थालेपछि समितिका अध्यक्ष भण्डारी अतालिँदै आएर जेसिभी चालकलाई माटो हाल्‍न बन्द गराए। हालिसकेको माटो तुरुन्त सडकबाट उठाउन अध्यक्ष भण्डारीले आग्रह गरेपछि चालकले माटो उठाउन थाले। त्यही बेला सब इन्जिनियर झा पनि नजिकै आइपुगे। सब इन्जिनियर झालाई माटो हाल्न पाइन्छ कि पाइँदैन भन्ने थाहाकर्मीले राखेको जिज्ञासामा उनले माटो हाल्न पाइँदैन भनी जवाफ फर्काए।

तपाईँ त घटनास्थलमै हुनुहुन्छ कसरी तपाईँको अगाडि बेसमा माटो हालियो? भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा आफूलाई थाहा छैन, म त समितिको मान्छेसँग बाटोको विषयमा गफ गर्दै थिएँ' भनी जवाफ फर्काए। त्यस्तै समितिका अध्यक्ष भण्डारी माटो हाल्न आदेश नदिएको भन्दै घटनाबाट पन्छिन खोजे।

यता नगरपालिका इन्जिनियर रञ्‍जितकारले सडकमा हालिएको माटो झिक्न आदेश दिइसकिएको बताए। ‘पहिलो बेसमा गिट्टी बालुवा र पुरानो सडकबाट निस्किएको कालोपत्रे मिक्स गरी काम गर्नुपर्ने हुन्छ,' उनले भने, ‘माटो हाल्ने काम मापदण्डविपरीत भएको र यस विषयमा उपभोक्ता समितिका पदाधिकारीले ध्यान दिनुपर्ने हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.