सिन्धुपाल्चोक : गोरखा भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन सीमाक्षेत्रमा धमाधम पूर्वाधार निर्माण भइरहेको छ। यही जेठ १७ गतेदेखि सञ्चालन गर्ने तातोपानी नाकामा काम भइरहेको छ। तर, पुल निर्माण आधा बाँकी रहेकाले यो नाका तोकिएको मितिमा खुल्ने सम्भावना टर्दै गएको छ।
अरनिको राजमार्गको बाह्रबिसे-तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। तर, पुलको ढलानको काम बाँकी भएकाले नाका जेठमै सञ्चालनमा आउनेमा आशंका भएको हो।
भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार नेपाल-चीन जोड्ले पुल ढलान गर्नै बाँकी छ। ढलानपछि फर्मा खोल्न केहि दिन कुर्नुपर्ने हुन्छ। त्यसैले नाका सञ्चालन हुने मिति सर्ने उनको भनाइ छ।
नाकासँगै लार्चामा निर्मित सुख्खा बन्दरगाह पनि वैशाख १८ अर्थात् मजदुर दिवसमा हस्तान्तरण गरिने योजना थियो। काममा ढिलाइ भएपछि एक महिनापछि सरेको अध्यक्ष पौडेलले बताए।
प्रधानमन्त्रीको निर्देशनअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद् अग्नि सापकोटा, घनश्याम भुसाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको टोलीले गत चैत २६ गते स्थलगत निरीक्षण गरी चाँडै काम सक्न निर्देशन दिएका थिए। उनीहरूको निर्देशनपछि कामका तीव्रता आएको छ।
बाह्रबिसे नगरपालिकाअन्तर्गत गातिको बसेरीदेखि सीमापुलसम्मको सडक चिनियाँ पक्षले मर्मत गरिसकेको छ। लार्चामा निर्माण भएको अत्याधुनिक सुख्खा बन्दरगाहको धेरै काम सकिएको छ।
सांसद अग्निप्रसाद सापकोटाको पहलमा गत वर्षको बर्खामा बाढीले बगाएको बाह्रबिसेको खुर्सानीबारीस्थित साँदी खोलाको बेलिब्रिज जडान गरिने भएको छ। पक्की पुल निर्माणका लागि बजेट माग गरिएको सांसद सापकोटाले बताए।
सम्पूर्ण फोटोहरू सासंद अग्निप्रसाद सापकोटाको स्वकीय सचिव गोविन्द पाठकको सहयोगमा।
तपाईंको ईमेल गोप्य राखिनेछ ।