ओलीमाथि कटाक्ष : हाँस्य कलाकारले देश चलाए

|

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसको जागरण अभियानले पार्टीमा ऊर्जा थप्ने बताएका छन्। 

कांग्रेसले बुधबारदेखि सुरु गरेको देशव्यापी राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचनामा समय खर्चिए। आक्रामक रुपमा प्रस्तुत भएका उनले अहिले हाँस्य कलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री ओलीमाथि व्यङ्ग्य गरे । 

प्रमुख सचेतक खाँणले संविधानले ‘मेरो सरकार’ लेख्ने छुट कसैलाई नदिएको बताए। ‘जब संविधानले ‘नेपाल सरकार’ भन्छ भने राष्ट्रपतिलाई मेरो सरकार भन्ने छुट छैन’, सरकारको नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ शब्दावलीतर्फ संकेत गर्दै उनले भने, ‘ओलीले पनि ‘मेरो सरकार’ भनेर लेख्ने छुट छैन। प्रधानमन्त्री ओली ज्ञानेन्द्र पथमा हिडेंर  संविधान मिच्न खोजिरहेका छन्।’

यो सरकारको पालामा काण्डैकाण्ड भएकाले प्रश्न गर्नुपरेको उनले बताए। ‘काण्डैकाण्ड भएका बेला प्रश्न सोध्नु गल्ती होर?’ उनले प्रश्न गरे, ‘वाइड बडी प्रकरण, बालुवाटार जग्गा प्रकरण, निर्मला हत्याकाण्ड, सुन तस्करी, एनसेलको कर असुलीलगायतका विषयमा प्रश्न गर्न पाउने कि नपाउने?’

बालुवाटारको जग्गा किन्ने र बेच्नेहरू मार्सी चामलको भात खाएर प्रधानमन्त्रीकै अघिपछि हिड्ने गरेको आरोप पनि खाँणले लगाए।
‘यी प्रश्न नाजायज छन्? नाजायज छन् भने काठमाडौंका दाजुभाइ दिदीबहिनीले नाजायज भन्नोस्। हामी यस्ता प्रश्न गर्ने छैनौं,’ खाँणले भने, ‘जायज भएमा जायज छन् भन्दिनुस् हामी बारम्बार प्रश्न गरिरहने छौं।’ 

प्रमुख सचेतक खाँणले यी प्रश्नका उत्तर खोज्नका लागि आफूहरू बलिदान दिन र सहिद बन्न तयार रहेको चेतावनी पनि दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.