|

प्युठान : जिल्लाको सरुमारानी गाउँपालिका-५ मा अनाधिकृतरूपमा सञ्चालनमा आएको बड्डाँडाको बंगाली मेडिकलमा सिलबन्दी गरिएको छ।

बुधबार सरुमारानी गाउँपालिकाले गरेको अनुगमनका क्रममा अनाधिकृतरूपमा मेडिकल खोलेको पाइएपछि सिलबन्दी गरेको हो। बंगाली मेडिकल नियमविपरीत सञ्चालन मात्र नभई म्याद नाघेको औषधिसमेत बिक्री गरेको पाइएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर ओलीको नेतृत्वमा गएको अनुगमन टोलीले पसलमा सिलबन्दी गराएको गाउँपालिकाले जनाएको छ।

भारतीय नागरिक शंकर लस्करले अनधिकृतरूपमा मेडिकल सञ्चालन गरेका र म्याद नाघेका औषधिसमेत पाइएको प्रमुख प्रशासकीय अधिकृत अमर ओलीले जानकारी दिए। ‘यसअघि मेडिकल सञ्चालकलाई आवश्यक कागजपत्र लिई आउन सात दिनको म्याद दिई निर्देशन दिएका थियौँ’ अधिकृत ओलीले भने, ‘सञ्चालकले अटेरी गरेपछि मेडिकल पसल बजार अनुगमन निर्देशिका २०७५ दफा १४ को (क) बमोजिम सिलबन्दी गरिएको हो।'

त्यस्तै विद्यालय समयमा मदिरा सेवन गर्ने शिक्षक तेजबहादुर उलुङगेलाई पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै गाउँपालिकामा उपस्थित गराइने भएको छ। दैनिक मदिरा सेवन गरी विद्यालय जाने पाइएपछि शुक्रबारसम्म गाउँपालिकामा हाजिर गराउने भएको गाउँपालिकाले जनाएको छ। उनले स्थानीय भस्वनेश्वरी आधारभूत विद्यालयमा अनुदान कोटाबाट अध्यापन गराइरहेका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.