|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले पार्टी भातृ संस्थाका नेताले सार्वजानिक समारोहमा गरेको पट्यार लाग्दो लामो भाषण र कार्यक्रमले सर्वसाधरण जनता र कार्यकर्तामा निराशा छाएको बताएका छन्। 

नेपाल विद्यार्थी संघले सोमबार त्रिचन्द्र कलेजमा आयोजना गरेको कार्यक्रममा धेरै वक्ता र लामो भाषणबाट वाक्क दिक्क भएका देउवाले लामो भाषण छाँट्ने नेविसंघका नेतालाई बिद्यार्थीहरुले नै मन नपराएको दावी गरे। 

कार्यक्रममा देउवाअघि नेविसंघका आठ नेताले लामो पट्यारलाग्दो भाषण गरेपछि मन्तब्य दिन हतारिएका देउवालाई महामन्त्री सरोज थापाले अनेकौं विशेषण र उपमा दिँदै बोलाएपछि देउवा उनीमाथि नैं खनिएका थिए। ‘अबदेखि यस्तो लामो भाषण गर्ने नेतालाई उद्घोषक नबनाउनु’ देउवाले भने ‘ यो सरोज (महामन्त्री थापा) ले किन थोरै मत ल्यायो भनेको त यस्तै लामो भाषण गरेर पो रहेछ।’

कार्यक्रममा नेविसंघका नेतालाई एक पछि अर्को गर्दै बग्रेल्ती रुपमा अतिथि भन्दै उद्घोषक भएका महामन्त्री थापाले भाषण गर्न बोलाएपछि देउवाको धैर्यताको वाँध टुट्यो र भने ‘अबदेखि लामो भाषण गर्ने नेविसंघका नेतालाई कसैले भोट नदिनु।’ नेविसंघ महाधिवेशनमा देउवा प्यानलबाटै महामन्त्री निर्वाचित भएका थापाले आफ्ना प्रत्यासी भन्दा चार मत वढी ल्याएर बिजयी भएका थिए। 

नेविसंघ महामन्त्री थापालाई लक्षित गर्दै देउवाले भने ‘मेरो बारेमा गुणगान गाएर प्रशंसा गरेर यो उद्घोषकले के पाउने मैले चिनकै छु त।’ उद्घोषक मात्र होइन, कार्यक्रममा बोल्ने अन्य केन्द्रीय सदस्यले पनि नेपाली कांग्रेस र नेविसंघले लोकतन्त्रको पक्षमा खेलेको भूमिका र संविधान कार्यान्वयन देखिएका समस्या समाधानका लागि दर्जनौं तथ्य, विवरण, सुझाव र उपदेश दिएपछि देउवाले मन पराएनन्। 

‘जहाँ विद्यार्थी, त्यहाँ नेविसंघ’ भन्ने मूल नाराका साथ नेविसंघले सोमबार आयोजना गरेको ‘संविधान कार्यान्वयन, स्ववियू निर्वाचन, शैक्षिक सुधार र संगठन सुदृढीकरण अभियान’ को शुभराम्भ कार्यक्रममा सहभागी हुन बिहान आठ बजे विद्यार्थी बोलाइएको थियो।

बिहान आठ बजे बिद्यार्थीलाई बोलाइए पनि प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा कार्यक्रमस्थल सवा नौं बजे मात्र पुगको थिए। सभापति देउवा कार्यक्रमस्थलमा गए पनि आयोजकले तयारी नगर्दा आधा घण्टा कुराइएको थियो।

आफूलाई अनावश्यक रुपमा कुराएको घटनाबाट आयोजकसँग झोंक्किएका देउवाले उद्घोषकलाई प्रश्न गरेका थिए ‘तीन मिनेट भनेर कति बोल्न दिएको?’
पार्टी भातृ संस्थाका हरेक कार्यक्रमहरु यस्तै लामो, पट्यारलाग्दो र दिक्क लाग्ने भएको भन्दै देउवाले विद्यार्थी र तरुण दलका नेतालाई प्रशिक्षण जरुरी भएको बताए। उनले भने ‘हाम्रा तरुण र विद्यार्थी नेताहरुलाई के बोल्ने? कति बोल्ने, कसरी बोल्ने जस्ता बिषयमा प्रशिक्षण दिनै पर्ने भो।’

लामो भाषण गर्ने व्यक्तिलाई कसैले पनि मन नपराउने भन्दै देउवाले घर भित्रकै कुरा भएको र आफ्नै भाई बहिनी भएकोले सुझाव दिएको कुरालाई लिएर नरिसाउन भने। 

आठ बजे कार्यक्रम शुरु हुने भनेर कार्यक्रमस्थल बसेका बिद्यार्थीलाई चिया र पानीको समेत व्यवस्था नगरी दिउँसो साढे एक बजेसम्म राखिएको थियो। कार्यक्रम निर्धारित समय भन्दा दुई घण्टा ढिलो शुरु भएपछि सभापति देउवा, परराष्ट्र मन्त्री एवं पार्टी केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरु भाषण गर्नेवित्तिकै कार्यक्रमबाट बाहिरिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.