कर्मचारीको बदमासी, सरकारी कार्यालयबीच आरोप प्रत्यारोप

|
दुईतर्फका बस्तीको चेपुवामा परेको टुकुचा

काठमाडौं : विश्वका धेरै देशले सहरको बीच भएर बग्ने खोला जीवन्त राखेका छन् । जहाँ कलकल पानी बगिरहेको हुन्छ, माछा खेलिरहेका हुन्छन् । चराचुरुङ्गीदेखि अन्य जलचरहरु रमाइरहेका हुन्छन्।

खोलामा पानी मात्रै बगिरहेको हुँदैन, सहरको शोभा पनि बढाइरहेको हुन्छ। पर्यटक तान्‍ने माध्यम पनि हुन्छन् खोला नदी। धेरै नेपालीहरुले खोलालाई जलदेउता भनेर पूजा गर्छन्। तर त्यही नेपालमा खोलाको रुप प्रदूषण गरेर कुरुप बनाइन्छ। खोलामा ढलमात्रै हालिन्न, त्यही खोलालाई पुरेर आलिशान बंगला ठड्याइन्छ।

काठमाडौँको बीच भाग हुँदै बग्ने यस्तै एउटा दृष्टान्त बनेको छ टुकुचा खोलो। बस्ती बिस्तारको नाममा मनलगी मिचेर टुकुचालाई सहरको बीचबाटै गायब बनाइएको छ। तर सरकारी निकाय मौना छन् या खोलो मिच्नेसँग साँठगाठँ गरेर बसेका छन्। सरकारी निकाय सहरबाट हराएको खोली खोजी गर्दैनन्, उल्टै गायब भएको खोलामाथि बन्ने संरचनाको नक्सा पास गरिदिन्छन्। भूमाफियाको बदमासी टुलुटुलु हेरेर बस्छन्। खोलो हराइरहन्छ, भूमाफियाले रजगज गरिरहन्छन्।

खोजिँदै जग्गा

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले केही महिनायता सहरबाटै हराएका खोला र सार्वजनिक जग्गा खोजीलाई अघि बढाएको छ। मुलुकभरका सरकारी जग्गा खोजी अभियान थालिरहेका बेला सहरबाट हराएको टुकुचा फेरि ब्यूँतिने आश बढेको छ। काठमाडौं सहरको मध्य भागमा बगिरहेको टुकुचा खोलो नक्सामै गायब भएको चार दशक भइसकेको छ। यसको खोजी हुनेमा अझै आशंका छन्।

टुकुचाको कथा

टुकुचा खोलो बूढानीलकण्ठबाट सुरु भएर लाजिम्पाट हुँदै नारायणहिटी उत्तरढोका हुँदै गैरीधाराको बीचबाट छिरेर नारायणहिटीमा पसेपछि गायब भएको छ। त्यहाँबाट गायब भएको यो खोलो एकैचोटि बागबजार हुँदै प्रदर्शनी मार्गको खसी बजारमा मात्रै बगिरहेको देखिन्छ । त्यो पनि फोहोर र मलमुत्र मिसिएर डुङडुङ गन्हाउँदै।

नारायणहिटीबाट बगेको टुकुचा खोलो धेरै साँघुरो छ । पानी बगेको भने देखिन्छ। जयनेपाल हलअगाडिको पर्खालसम्म यो खोलाको नक्सा छ। जयनेपाल अगाडि टुकुचा छ भनिए पनि बगेको भेटिँदैन। त्यहाँ आइपुगेपछि टुकुचालाई छोपेर आलिसान महल बनाइएको छ। त्यहाँ आइपुग्दा न त खोलो छ न त खोला बग्ने पानीको एउटा थोपो नै।

काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोलो नक्साबाटै गायब भएको छ। खोलो बग्ने ठाउँमा ६० भन्दा धेरै कित्तामा बाँडेर व्यक्तिको नाममा दर्ता गरिएको छ  ।

कारबाही होला ?

खोलो मिचेर बनाइएका संरचनाको अध्ययन गरी कारबाही थालिने काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल बताउँछन्। डंगोलले ढलसमेत मासेर घर बनाइएको भेटिएको छ। महानगरले ढल मासेर घर बनाउने अनुमति दिएको छैन। टुकुचालाई बचाउन महानगरले अभियन चलाइसकेको डंगोलले बताए ।

महानगरले टुकुचा बचाउन अभियान सुरु गरिसकेको डंगोलले बताए। 'वडा नम्बर २ ले अभियान सुरु गरिसकेको छ', डंगोलले भने, 'मिचिएको ठाउँलाई अधिग्रहण गरेर खोलालाई जीवित बनाउँछौं।'

महानगरले आफैँले पनि सरकारी जग्गा खोज्ने जनाएको छ। भूमि व्यवस्था मन्त्रालयले सरकारी जग्गा खोजी अभियान नै चलाइरहेको बेला महानगरले पनि आफ्नो जग्गा खोज्ने भएको हो।

 'सरकारी जग्गा मिचेको पाइएमा कसैको प्रभावमा नपरी हामी फिर्ता ल्याउँछौं', डंगोलले भने, 'हामी सरकारको अभियानलाई साथ दिएर अगाडि बढ्छौँ । सरकारी जग्गा मिच्नेलाई कानुनी कारबाही चलाउँछौँ।'

सरकारी जग्गा फिर्ता ल्याउन काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड बनाइसकेको छ। 'सार्वजनिक सधै सार्वजनिक नै हुन्छ,' डंगोलले भने,' निजी कहिल्यै पनि हुन सक्दैन। कानुन भन्दा माथि कोही पनि छैन।'

मापदण्ड खोई ?

सामन्यत कुनै पनि संरचना बनाउँदा खोला वारि र पारि ६ मिटर छोड्नै पर्ने हुन्छ। तर जयनेपाल हल क्षेत्रको आधा किलोमिटर क्षेत्रमा टुकुचा खोलो नै छैन। खोलालाई छोपेर विशाल महल ठडिएका छन्। खोलामाथि नै काठमाडौं प्लाजा ठडिएको छ।

कहाँ कहाँ हरयो ?

टुकुचा खोलो काठमाडौं महानगरपालिका १,३० र ३१ नम्बर वडाबाट हराएको छ। डिल्लीबजारस्थित नापी कार्यालयको रेकर्डमा खोलो गायब भएको ठाउँ २०३३ मा नापी भएको छ। त्यसबेला तयार पारिएको नक्सामा प्राधिकरणले भनेझैँ टुकुचा खोलो गायब नै छ। प्राधिकरणका अनुसार त्यस क्षेत्रमा २०२१ सालमा पनि नापी भएको थियो।

टुकुचा खोलोमाथि बस्ती बसालेर बनाइएका भवन

नापी कार्यालयले खोलो देखिएको ठाउँमा मात्र काम गर्ने नापी अधिकृत अशोककुमार भुसालले बताए। 'नापी कार्यालयले फोटो खिचेर ल्याउँछ। त्यसैको आधारमा नक्सा तयार गर्ने हो', उनले भने। खोलाको खोजी गर्न महानगर र उपत्यका विकास प्राधिकरणको रहेको उनले जिकिर गरे।

पहिले यस्तो थियो

२०२१ को नापीमा काठमाडौं प्लाजा–जय नेपाल हल क्षेत्रमा टुकुचा खोलो थियो। २०२१ को नापीको नक्सा नापी विभागमा हुनुपर्ने उपत्यका विकास प्राधिकरणको दाबी छ। तर, नापी कार्यालय २०३३ मा लिएको नापीको नक्साबाहेक अगाडिको विवरण नभएको जनाउँछ।

केही गर्न सकिन्‍न

सहरलाई दीर्घकालिन योजना अनुसार विकास गर्न उपत्यका विकास प्राधिकरण बनाइएको हो। बढ्दो सहरीकरणले काठमाडौँ वातावरण अव्यवस्थित बनेको छ।

खोलामाथि नै भए पनि बनिसकेका भवनलाई प्राधिकरणले केही गर्न नसक्ने उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी बताउँछन्।

महानगरपालिकाले भवन बनाउन नक्सा पास गरिदिएकाले उसले नै त्यसको जिम्मा लिनुपर्ने तिवारीको भनाइ छ। 'अब उपत्यका विकास प्राधिकरणल केही गर्न सक्ने अवस्था छैन', तिवारीले भने, 'महानगरको लापरवाहीले टुकुचा खोलो नक्साबाट हराएको हो। खोलामाथि मानिसले कसरी धनीपूर्जा पाए? कसरी नक्सा पास गराए?'

नापी कार्यालयले खोलाको नक्सा अझै एकीन गर्न सकेको छैन। प्राधिकरणको नियम अनुसार खोलाको दायाँबायाँ चार मिटर छोडेर घर बनाउनुपर्छ।

'खोलामाथि घर बनाउन अनुमति दिने निकायको कमजोरीले सरकारी जग्गा र खोलो मिचिएको हो,' तवारीले भने, 'खोलामाथिको जग्गालाई धनीपूर्जा दिएर मालपोत कार्यालयले ठूलो गल्ती गरेको छ। पूर्जा दिनु नै पहिलो गल्ती हो, नक्सा पासको कुरा त पछि आउँछ।'

डिल्ली बजार नापी कार्यालयले सहरको मध्यभागबाट टुकुचा खोलो हराएको जानकारी पाएको छ। खोलो खोज्न नापी कार्यालय नै गम्भीर हुनुपर्ने तिवारीले बताए। 'खोलामाथिको जग्गामा कसरी धनीपूर्जा बाँडियो? यसको छानबिन हुनुपर्छ', तिवारीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.