|

काठमाडौं : तीन वर्ष बितिसक्दा पनि चाबहिल-बौद्ध-जोरपाटी सडकखण्ड पिच नगरिएपछि स्थानीयबासी आन्दोलित भएका छन्।
बौद्ध र जोरपाटी क्षेत्रका व्यवसायीहरु पसल नै बन्द गरेर सडकमा उत्रिएका हुन्। केही दिनदेखि आन्दोलित स्थानीयले आफ्नो मर्का नबुझेको भन्दै झन् कडा आन्दोलन थालेका हुन्। 

स्थानीय व्यवसायी विरोधमा उत्रिएर सडक अवरुद्ध गरेपछि अवस्था तनावग्रस्त भएको छ। सडक अवरुद्ध गरेका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेपछि झडप भएको छ। 

आन्दोलित स्थानीयमाथि प्रहरीले अश्रुग्यास हानेपछि झडप भएको हो। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीयले इँटा ढुंगा प्रहार गरेका छन् ।

दमकलले काम गरेन

प्रदर्शनकारीले सडकमा फोहोरका बोरा र टायर बालेपछि बौद्धक्षेत्र धुवाँमय भएको छ। आगो निभाउन प्रहरीले लगेको दमकलको पाइप नै नखुलेपछि समस्या भएको छ। 

आन्दोलित स्थानीयबासीले प्रहरीले घर घरमा छिरेर कुटपिट गरेको गुनासो गरेका छन्। सडक छेकेर आन्दोलित स्थानीय व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका छन्।

स्थानीयबासीले 'जनता मार्न पाइँदैन', धुवाँ-धुलो उडाउने सरकार चाहिँदैन', 'ठेकेदारलाई कारबाही गर'लगायतका नारा पनि लगाएका छन्।

आन्दोलित स्थानीयबासीले सडकमा बिजुलीका तार, टायर, प्लास्टिक र फोहोरका पोका जलाएका छन्। झडपका क्रममा प्रहरीको टोली बौद्ध स्तुपा नजिकै बसेको छ। अर्कातिर प्रदर्शनकारी जोरपाटी क्षेत्रमा छन् ।

चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएको तीन वर्ष भन्दा धेरै भएको छ। तर यो सडकखण्ड पिच गर्न ठेकेदार ढिलाइ गरिरहेको छ। 

प्रहरीसँगको झडपका क्रममा स्थानीयबासी घाइते भएका छन् । आन्दोलन र झडपपछि चुच्चेपाटी–जोरपाटी सडक ठप्प छ । 

सबै तस्बिरहरु : निश्चल बाँस्कोटा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.