|

काठमाडौं : सरकारले अबदेखि अशक्त असहाय, बेवारिसे मानसिक रोगीहरुको नि:शुल्क उपचार गरिदिने भएको छ। मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार खर्च सरकारले व्यहोरिदिने भएको हो।

यस्ता समस्या भएका विरामीको उपचार तथा पुन:स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७६ पास भएसँगै बेवारिसे विरामीको उपचार खर्च सरकारले बेहोर्ने बाटो खुलेको हो।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको यो कार्यविधि गत १६ बैशाखामा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रिस्तरीय निर्णयबाट पास भएको थियो।

यो कार्यविधि पास भएसँगै मन्त्रालयले यसै आर्थिक वर्षबाट कार्यक्रम अघि बढाउन इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखालाई निर्देशन दिइसकेको छ।

कार्यविधि अनुसार मानसिक रोग र मनोसामाजिक समस्या भएका अशक्त र बेवासरिसे विरामीको उपचार अस्पतालमा  भए प्रतिदिन छ सय र पुर्नस्थापना केन्द्रमा भए प्रतिदिन पाँच सय रुपैयाँ तोकिएको छ।

यस्तै कार्यविधिले मनोचिकित्सकको प्रेस्किप्सन अनुसार र गैरसरकारी, निजी अस्पताल, पुन:स्थापना गृह सञ्चालन गर्ने सामाजिक संस्था वा निजी संस्था रहेको स्थानीय तहबाट प्रमाणित औषधिको बिलको आधारमा हरेकमहिना प्रतिव्यक्ति चार हजार रुपैयाँ नबढ्ने गरी उपलब्ध गराउन भनेको छ।

कार्यविधिले उक्त रकम सेवा उपलव्ध गराएका अस्पतालहरुलाई उपचारपछि शोधभर्ना गर्ने व्यवस्था समेत  मिलाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.