|

काठमाडौं :  स्थानीय तहले आफ्नै पाठ्यक्रम लागू गरेर अध्यापन गर्न थालेका छन्। स्थानीय तहले निर्माण गरेको पाठ्यक्रममा इतिहास, खेलकुद, भूगोल, सम्पदा, कला–संस्कृति, रहनसहन आदि विषय समेटिएको छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले स्थानीय तहले पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर विद्यालयमा पाठ्यक्रम लागू गरेको बताए।स्थानीय तहले चालेको यो कदम समय सान्दर्भिक भएको उनले बताए। 'स्थानीय तहले आफ्नै पाठ्यक्रम लागू गर्दा केन्द्रलाई कुनै असर पर्दैन। तर स्थानीय तहलाई अप्ठ्यारो परेको बेला केन्द्रले सहयोग गर्छ, सुझाव दिन्छ', उनले भने, ‘हामीले नै स्थानीय तहलाई पाठ्यक्रम निर्माण गर्ने अधिकार दिएका छौँ। स्थानीय तहले आफूखुसी भने गरेको होइन।’ उनका अनुसार स्थानीय तहले एउटा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार पाएका छन्।

भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाले पनि गत वर्षदेखि विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आधारभूत ज्ञानसँगै आफू बसोबास गरेको स्थानको जानकारी, त्यहाँको रहनसहन, संस्कृति र इतिहासको विषयमा पूर्णज्ञान दिनका लागि स्थानीय पाठ्यक्रममा आधारित पाठ्यक्रम लागू गरेको बताउँछन्, भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति।

नगरप्रमुख प्रजापतिका अनुसार गत वर्ष कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरिएको थियो।  यो वर्ष कक्षा २ र ७ मा आफ्नै पाठ्यक्रम पढाउन लागिएको छ। भक्तपुर नगरपालिकाले कक्षा ८ सम्म स्थानीय तहमा आधारित पाठ्यक्रम पढाउन पाउने अधिकार पाएको छ। नगर क्षेत्रका ३७ वटा सामुदायिक विद्यालय र ५५ वटा निजी विद्यालयले चारवटा कक्षामा स्थानीय पाठ्यक्रम पढाइरहेका छन्।

पाठ्यक्रममा खेलकुद, रहनसहन, कला–संस्कृति, सम्पदा, इतिहास, जनआन्दोलनका विषयहरुलाई पाठ्यक्रममा समेटेका छौँ, प्रजापतिले भने, ‘विद्यार्थीलाई भक्तपुरको कला–संस्कृतिदेखि लिएर राजनीतिक आन्दोलन, भक्तपुरको इतिहासलगायत विषयमा पूर्ण जानकारी दिनकै लागि स्थानीय पाठ्यक्रम लागू गरेका हौँ।’ उनले कुनै पनि विद्यार्थीलाई भक्तपुरको परिचय र इतिहासलाई सोधेको खण्डमा विद्यार्थीर्ले सरसरर्ती बोल्न सक्ने र सबै विषयको जानकारी गराउने उद्देश्य राखेर अघि बढेको बताए।

भक्तपुर र ठिमीमा जस्तै पाल्पाको माथागढी गाउँपालिकाले पनि विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ। गाउँपलिकाले पाल्पाका ४१ सामुदायिक विद्यालय र चार निजी विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ। यस वर्ष १ र ६ मा १०० पूर्णाङ्कको पढाइ हुने गाउँपालिकाले जानकारी दिएको छ। पठनपाठनका लागि स्थानीय सम्पदा, स्थानीय कला–संसकृति, स्थानयि उपचार विधि, स्थानीय पेसा व्यवसाय, बोलीचाली र लिपिलाई पाठ्यक्रममा समावेश गरिएको छ। ।  

नयाँ पाठ्यक्रम 

पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को नयाँ पाठ्यपुस्तक तयार गरेको छ। देशका १७ जिल्लाका १०३ विद्यालयमा सो पाठ्यपुस्तक परीक्षण अध्यापन गरिने बताइएको छ। केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले परीक्षणका आधारमा आगामी शैक्षिक सत्र २०७७ बाट देशभरिका सबै विद्यालयमा नयाँ पाठ्यपुस्तक लागू हुने जानकारी दिए।

केन्द्रले परीक्षणका लागि एकीकृत पाठ्यक्रम तयार गरेको छ। नेपाली, अङ्ग्रेजी, गणित र मेरो सेरोफेरो विषयका पाठ्यपुस्तक तयार भएका छन्। मेरो सेरोफेरोभित्र विज्ञान, स्वास्थ्य शारीरिक, सामाजिक शिक्षा र सिर्जनात्मक कला विषय समावेश गरिएका छन्। विगतमा विज्ञान, स्वास्थ्य शिक्षा, सामाजिक शिक्षा आदि पाठ्यपुस्तक अलग पठनपाठन हुने गरेको थियो।

सरकारले गत वर्ष विद्यालय तहमा नयाँ पाठ्यक्रम संरचना स्वीकृत गरेको थियो। त्यसलाई कार्यान्वयन गर्न यो वर्ष परीक्षण गरिँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.