|

  • विमला ढकाल- 

बर्दिया : वन र वन्यजन्तु संरक्षणमा बर्दियाका संरक्षणकर्मीहरूले चासो देखाउन थालेका छन्। राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनहरू मासिँदै जानु र संरक्षित वन्यजन्तुसमेत लोप हुन थालेपछि मध्यवर्ती क्षेत्रका युवाहरू संरक्षणमा सक्रिय हुन थालेका हुन्।

उज्यालो नेपाल बर्दियाले राष्ट्रिय निकुञ्ज भित्रका राजमार्गहरूमा सवारीसाधन चलायबापत वातावरणीय कर संकलन गर्ने खाका तयार पारेको छ। सवारीसाधनले तिरेको करमार्फत संकलन भएको रकम वन्यजन्तुको बासस्थान व्‍यवस्थापनमा खर्च गर्ने बताइएको छ।

विगत २२ वर्षदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा काम गरेर अहिले रिटायर भएका उज्यालो नेपाल बर्दियाका अध्यक्ष रमेश थापाले संरक्षणका क्षेत्रमा बर्दियाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

बर्दिया राष्ट्रिय निकुञ्जले वन र वन्यजन्तु संरक्षणलाई आर्थिक बिकास संग जोडेर सन २०३० सम्म दिगो विकासका लक्ष्यहरू प्राप्ति गर्ने उद्देश्य लिएको छ। यसका लागि सम्पूर्ण स्थानीय संरक्षणकर्मीहरू, स्थानीय सरकारलगायतले आफ्नो आफ्नो क्षेत्रबाट भूमिका निर्बाह गर्नुपर्ने निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए।

प्रत्यर्ष मारिन्छन् १२० वन्यजन्तु

बर्दिया राष्ट्रिय निकुञ्जभित्र राजमार्गमा प्रत्येक वर्ष १२० जति वन्यजन्तुहरू दुर्घटनाबाट मारिने गरेको निकुञ्ज स्रोतले जनाएको छ। सबैभन्दा बढी बँदेल, चित्तल लगायतका साना प्रजातिका जनावर मारिने क्रम बढ्दो छ। यसरी जनावर दुर्घटनामा मारिनुले बाघलगायतका संरक्षित वन्यजन्तुको आहारा प्रजातिसमेत संकटमा पर्नसक्ने संरक्षणकर्मी बताउँछन्।

यसअघि सडक दुर्घटनाकै क्रममा बर्दिया निकुञ्जको एउटा बाघ घाइते भएको थियो। बर्दियामा अहिले ८७ बाघ छन्। यसअघि, ६२ वटा बाघ रहेको बर्दिया निकुञ्जमा अहिले बाघको संख्या बढेर ८७ पुगेको हो। निकुञ्जमा अहिले १२० बढी हात्ती छन् भने ५ सय १३ प्रजातिका चराहरू रहेको निकुञ्ज स्रोतले जनाएको छ।

राजमार्ग क्षेत्रमा सवारीसाधनहरू सुस्त गतिमा भए पनि सडक छेउछाउका झाडीका कारण जनावरले बाटो क्रस गर्दा दुर्घटना हुने गरेको सवारी चालक बताउँछन्। दुर्घटना कम गर्न राजमार्गका एक सय मिटर दायाँबायाँ सडकका झाडीहरू सफा गर्ने, दुर्घटना हुनसक्ने सम्भावित क्षेत्रमा स्प्रिङ ब्रेकर राख्नुपर्नेलगायत सावधानीका उपाए अपनाउनु पर्ने चालकहरू बताउँछन्।

यस्तै, निकुञ्ज क्षेत्रभित्र सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूले जथाभावीरूपमा फोहोर फालिदिनाले जनावरहरूमा विभिन्न संक्रमण हुनसक्ने बताइएको छ। वातावरण संरक्षण र वन्‍जन्तु व्यवस्थापनका लागि स्थानीय तथा सरकारीस्तरबाट पनि अझ प्रभावकारी नीतिनिर्माण गरी कार्यान्वयन गर्न जरुरी रहेको संरक्षणकर्मीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.