फिचर

अर्गानिक कृषि उत्पादनले बदलियो बरातु गाउँ
SHARES

बैशाख २६, २०७६

    कालिकोट : खाँडाचक्र नगरपालिका-११ बरातु गाउँलाई कृषिउपजका वस्तु उत्पादनमा अर्गानिक गाउँ बनाइएको छ। कृषिउपजका वस्तुहरूमा कृषकहरूले रसायन मलको प्रयोग निषेध गरेर अर्गानिक गाउँ बनाएका हुन्।

    स्थानीय बाली उत्पादनमा कृषक रसायनिक मलको प्रयोग विषादी प्रयोगबिना नै स्थानीय प्रांगारिक मल र स्थानीयस्तरमा किटनाशक औषधि प्रयोगमा ल्याएका छन्।कृषि उत्पादनका नमुना गाउँ रहेको बरातुका किसानहरूले २२ वर्ष अघिदेखि नै व्यावसायिक खेती सुरु गरेका थिए।

    रसायनिक मलको प्रयोगले जग्गा बाँझोपन बढ्यो

    पहिला कृषि उपजका वस्तुहरू उत्पादनमा रसायनिक मलको प्रयोग गर्दा जग्गा सुख्खापन वृद्धि भएको किसानहरूले बताएका छन्। पहिलापहिला हामी कृषि बाली उत्पादन गर्नका लागि प्रयोग गरेको रसायनिक मलको असरले जग्गामा सुख्खापन आउनुका साथै बाझोँपनको समस्या देखिएको अगुवा कृषक बिरु भारतीले बताइन्। ‘रसायनिक मलको प्रयोगले जग्गाको क्षतिबाहेक अरू केही हैन भन्ने बुझ्यौं।’ उनले भनिन्, ‘अहिले गाउँमा कसैले पनि रसायनिक मलको प्रयोग गर्दैनन्।’

    जग्गामा सुख्खापन बढेका कारणले किसानहरूले अहिले कृषि उत्पादनका क्षेत्रमा जैविक र प्रांगारिक मलको प्रयोगमा ध्यान दिएको वडा अध्यक्ष पुष्पराज गिरीले बताए। ‘गाउँमा कसैले पनि रसायनिक मलको प्रयोग गर्दैन।’ उनले भने, ‘स्थानीयरूपमा उत्पादन हुने हरेक कृषि उपजका वस्तुमा स्थानीय जैविक मल र प्रांगारिक मलको प्रयोग गर्न थालिएको छ।’

    वर्षभरि नै बेमौसमी तरकारी

    बरातु गाउँका किसानहरूले वर्षभरि नै बेमौसमी तरकारीको उत्पादन गर्ने गरेका छन्। अन्य बालीभन्दा तरकारी बालीबाट राम्रो उत्पादन हुने भएकाले किसानहरूले तरकारी बाली उत्पादनमा जोड दिएका हुन्।

    यहाँका किसानहरूले वर्षभरि नै बैमौसमी तरकारी उत्पादन गर्ने त्यसबाट राम्रो लिने गरेको शिक्षक अजबहादुर गिरीले बताए। ‘यहाँ पहिलापहिला कसैले पनि तरकारी उत्पादन गर्न मानेनन्’ उनले भने, ‘पहिला मैले नै तरकारी खेतीको सुरु गरेर राम्रो आम्दानी लिन थालेपछि अरूले पनि तरकारी खेती सुरु गरेका हुन्।’

    बजारको समस्या

    बैमौसमी तरकारी तथा अन्य कृषिजन्य वस्तुको उत्पादन राम्रो हुने गरेको भए पनि बजारीकरणको समस्या रहेको अगुवा किसान तारा गिरीले बताइन्। ‘यहाँ हामीले उत्पादन गर्ने गरेको तरकारीलगायतका अन्य कृषि उपजका वस्तुहरू बजारीकरणले समस्या छ।’ उनले भनिन्, ‘यहाँ उत्पादन भएको तरकारी कसरी कहाँ बेच्ने त्यसको समस्या छ।’

    अहिले गाउँमा आरु, आलुलगायत तरकारी खेरजाने अवस्थामा रहेको सरिता भारतीले बताइन्। ‘अहिले गाउँमा आरु फालाफाल छ। यो कहाँ लिएर बेच्ने?’ उनले भनिन्, ‘तर, सडक पुगेको ठाउँमा भारतीय तरकारी बिक्री हुन्छ।’

    बजारको समस्या हुँदैन : नगर प्रमुख पाण्डे

    खाँडाचक्र नगरपालिका नगर प्रमुख जसीप्रसाद पाण्डेले किसानहरूले उत्पादन गरेको वस्तु बजारीकरणको समस्या हुन नदिने बताएका छन्। कर्णाली राजमार्गदेखि बरातुसम्म ग्रामीण कृषि सडक पुगेको अबका दिन ती समस्या हल हुने बताएका हुन्।

    ‘बरातुका किसानहरू निकै मिहिनेती छन्।’ नगर प्रमुख पाण्डेले भने, ‘उनीहरूले उत्पादन गरेका कृषि उपजका वस्तुहरूलाई बजारीकरणका लागि मलै पहल थाल्छु।’ बरातु कालिकोट जिल्लाकै कृषि वस्तु उत्पादनमा नमुना गाउँ भएको प्रमुख पाण्डेले बताए।

    कालिकोटमा पहिलोपटक किबी खेती

    बरातुका किसानहरूले अहिले गाउँमा किबी खेतीको सुरुवात गरेका छन्। तीन वर्षअघि गाउँमा किबी खेती सुरु गरेको गत वर्ष थोरै फलेको यो वर्ष धेरै दाना दिएको शिक्षक अजबहादुर गिरीले बताए। ‘किबी खेतीको सम्भावना निकै राम्रो छ।’ उनले भने,‘यसको बजारमूल्य पनि निकै राम्रो छ।’

    सुन्तला जोनका रूपमा विकास

    साबिकको जिल्ला कृषि विकास कार्यालयले बरातु गाउँलाई सुन्तला जोनका रूपमा विकास गरेको थियो। अहिले गाउँमा सुन्तला उत्पादन गर्ने कृषकहरूको संख्या वृद्धि भएको र गाउँमा नै सुन्तलाका सात जातका बाली उत्पादन गर्ने गरेको माया गिरीले बताइन्। ‘यहाँ गाउँमा सुन्तला, जुनार, मुन्तला, कागती, स्थानीय जातको चुकलगायत बाली उत्पादन हुन्छन्।’ उनले भनिन्, ‘यो हाम्रो प्रयासले सम्भव भएको हो।’

    जिल्ला नै रसायनिक मलमुक्त बनाउने छलफल

    कर्णाली प्रदेश सरकारले आर्गानिक प्रदेश बनाउने निर्णयसँगै कालिकोट जिल्लालाई अर्गानिक जिल्ला बनाउने तयारी थालिएको छ। कर्णाली कृषि तथा खाद्य सरोकार समूह पहलमा अर्गानिक जिल्ला बनाउन तयारी थालिएको हो।

    प्रदेश सरकारको निर्णयलाई कार्यान्वयन गर्नका लागि कालिकोट जिल्लालाई पनि अर्गानिक जिल्ला बनाउन पहल थालिएको कर्णाली कृषि तथा खाद्य सरोकार समूहका कालिकोट जिल्ला अध्यक्ष कालीबहादुर मल्लले बताए। ‘अहिले अर्गानिक जिल्ला बनाउने विषयमा किसान र स्थानीय सरकारसँग छलफल थालेका छौँ।’ उनले भने, ‘चाँडै नै विषादीमुक्त जिल्ला कालिकोट हुनेछ।’

रमेश रावल

पत्रकार रावल थाहाखबरका कालिकोट जिल्ला संवाददाता हुन्। ईमेल : rmsrwl@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]