|

झापा, (भद्रपुर) : मानवतस्करको जालोमा फसेका २३ नेपाली महिलाको भारतको मिजोरमबाट उद्धार गरिएको छ। बर्मासँग सिमाना जोडिएको भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएको २३ महिलालाई बिहीबार झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ।

उद्धार गरिएका २३ जना महिलालाई चार दिन लगाएर बसमार्फत काँकडभिट्टा नाका हुँदै शक्ति समूह, माइती नेपाललगायत संस्थाहरूको पहलमा नेपाल ल्याइएको हो।

नेपालका विभिन्न जिल्लाबाट मानवतस्करको जालोमा फसेर भारत पुगेका ती महिलालाई स्थानीय नेपाली भाषा नागरिकको सुराकको आधारमा भारतीय संघसंस्था र मिजोरम पुलिसले ६ दिनअघि उद्धार गरेको महिला बालबालिका तथा ज्‍येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिए।

उनीहरूलाई मिजोरमको चम्फी भन्ने स्थानमा प्रहरी टोलीलले छापा मारेर उद्धार गरिएको जनाइएको छ। उद्धार गरिएकाहरूमा झापासहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ उमेर समूहका महिला छन्। भारतीय प्रहरी स्रोतका अनुसार भारतीय नागरिक नेपालीभाषी एजेन्ट लालबहादुर भन्ने व्यक्तिले उनीहरूलाई सो स्थान पुर्‍याएको खुलेको जनाइएको छ।

उनीहरूलाई बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजानका लागि त्यहाँ पुर्‍याइएको अनुसन्धानका क्रममा खुलेको मन्त्रालयका उपसचिव भुसालले बताए। एजेन्ट लालबहादुरलाई पनि मिजोरम पुलिसले पक्राउ गरिसकेको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जनाकारी गराएको उनको भनाइ छ।

पूर्वोत्तर भारतको मणिपुर, मिजोरम र नागाल्याण्ड राज्यको सीमाना बर्मासँग जोडिन्छ। सोही नाकाबाट नेपाली महिलाहरूको तस्करी हुने गरेको घटना सार्वजनिक भएको हो। केही महिनाअघि बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १ सय ७८ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.