|

ताप्लेजुङ : तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। बिहीबार सम्पन्न फाइनलमा साबिक विजेता पुलिसले त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको मैदानमा पुलिसले आर्मीमाथि २५–१७,२५–१३,२५–१९ को जित निकाल्यो। इम रानाको कप्तानीमा मैदानमा उत्रिएको पुलिस सुरुदेखि नै खेलमा हाबी भएको थियो। ब्लकिङ बलियो रहेको  पुलिसका अगाडि आर्मीको स्पाइकिङ निकै कमजोर बन्यो।

आफूहरूको टिममा अग्ला खेलाडी भएको र ब्लकिङ उत्कृष्ट गरेकै कारण आर्मीलाई हराउन सहज बनेको पुलिसका प्रशिक्षक सरोज श्रेष्ठले बताए। उपाधिसँगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ। उपविजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ मा चित्त बुझाउन बाध्य बन्यो।

यसैगरी, सेमीफाइनलमा पुग्न सफल एपिएफ र गण्डकी प्रदेशले ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे। विधागततर्फ पनि पुलिसकै खेलाडीको वर्चश्व रह्यो। वेष्ट प्लेयर पुलिसका कुलबहादुर थापाले नगद १५ हजार प्राप्त गरे। वेस्ट सर्भर पुलिसका विशाल विक, वेस्ट सटर पुलिसका इमबहादुर रानामगर, बेस्ट ब्लकर पुलिसकै दीपकराज जोशी, वेस्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, वेस्ट डिफेन्डर पुलिसका भीम गाहामगर, उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ घोषित भए।

सबैले नगद ७ हजार प्राप्त गरे। पर्यटन प्रवद्र्धनका लागि भलिबल भन्ने नारासहित बैशाख २२ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमको सहभागिता थियो। प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र विश्वविद्यालय क्वार्टर फाइनलमै पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.