कालापहाड जाने युवाशक्तिलाई गाउँमै रोजगार दिने गाउँपालिकाको तयारी

|

दैलेख : परिवार पाल्नकै लागि भारतका विभिन्न ठाउँमा पसिना बगाउन बाध्य दैलेख पश्चिमका युवा गाउँमै बसेर काम गर्न पाउँदा निकै खुसी भएका छन्।

तर कामकै लागि भारतका विभिन्न भूभागमा मजदुरी गर्दै जीवन बिताएका दुर्गम गाउँका अधिकांश युवा आफ्नै ठाउँमा रोजगारी नपाइने भएपछि अझै पनि कालापहाडमा भारी बोकी गुजारा चलाउन बाध्‍य छन्।

भारतमै आधा जीवन मजदुरी गरेर बिताएका दैलेखका कासे कामी आफूले पराई मुलुकमा पाएको दुःख सम्झँदै भन्छन्, ‘आधा जीवन कालापहाडमै बिताएँ, अहिलेको जस्तो गाउँमै केही काम पाएको भए परिवारबाट टाढा रहेर अर्काको मुलुकमा पसिना बगाउनुपर्थेन,अब कालापहाड जानुभन्दा गाउँकै बारीमा पसिना बगाउँछाै‌ँ।'

संघीयतापछि स्थानीय सरकार स्थापना भएसँगै क्षेत्र विकास कोषको २५ लाख बजेटमा ठाटीकाँध गाउँपालिका २ को प्याडुली भैरवस्थान हुँदै गाउँपालिकाका सदरमुकाम ठाटीकाँध बजारसम्म पुग्ने प्रशासकीय सडकमा दुई सय ५० जना स्थानीय महिला र पुरुषले काम गरिरहेका छन्। बिहान बेलुकी घरको काम र दिउँसो सडक खन्ने काम गरिरहेका स्थानीय परिवारसँगै सडक खन्ने काम पाउँदा खुसी छन्।

हातमा गैती लिएर आफ्नै सुरमा काम गरिरहेकी सोही ठाउँकी एकल महिला काली सुनार भन्छिन्, ‘कमाउने मान्छे नहुँदा हातमुख जोर्न हम्मेहम्मे हुन्थ्यो, अहिले स्थानीय सरकारले गाउँमै काम दिएपछि जिविका चलाउन केही सहज भएको छ।’ उनले दिनको सात घण्टा काम गरेर पाँच सय कमाउने र कमाएको पैसाले नुनतेल किन्न पुगेको बताइन्।

स्थानीय दलबहादर सुनारले पराई मुलुकमा काम गर्दा गाउँघर आफन्त सम्झेर कैयौँपटक रोएको बताए। उनले भने, ‘परदेशमा काम गर्न सजिलो छैन। अब कालापहाडको भारी बोक्नुभन्दा आफ्नै खेतबारीमा काम गर्छु, कालापहाड त नामजस्तै कालो हुँदो रहेछ।’

गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले अहिले २५० भन्दा बढीलाई सडकको काममा लगाइएको बताए। उनले अबका दिनमा कालापहाड जाने सबै युवा जनशक्तिलाई गाउँमै रोजगार दिने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको बताए।

गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले गाउँपालिकाले स्थानीयस्थलमै रोजगारी दिएपछि असिना पीडितलाई पनि निकै ठूलो राहत हुने बताइन्। गत चैतमा आएकोे असिना पानीले दैलेखका अधिकांश क्षेत्रसहित ठाटिकाँधका स्थानीयको बालीनालीमा ठूलो क्षति गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.