मिहिनेत गरे जताजतै पैसा

|

बागलुङ : झट्ट हेर्दा विदेशबाट फर्केको लाहुरेजस्तो देखिने बागलुङको जैमिनी नगरपालिका-७ जैदीका दलबहादुर नेपाली गाउँमै कृषि कर्म गर्ने युवा व्यवसायी हुन्। उमेरले भर्खर २५ औं वसन्तमा प्रवेश गरेका नेपालीले गाउँमा बाख्रा पालेर आम्दानी गर्न थालेको तीन वर्ष भयो।

माध्यमिक तहको पढाइ सकेर उनका दौँतरी विदेश जान ऋण खोज्न हिँडे। साथीभाइकै लहैलहैमा ऋण खोज्दै हिँडेका नेपालीले विदेश जानको लागि होइन आफ्नै माटोमा कृषि कर्म गर्ने पैसाको जोहो गरे। उनका साथीभाई अहिले विदेशमा हरेक महिना आधा लाख कमाउँछन्। उनको पनि खर्चसहितको कमाइ जोड्ने हो भने त्योभन्दा कम छैन।

तीन वर्षपहिले तीस हजार रुपैयाँ ऋण खोजेर जोडेका ७ वटा बाख्राको बगाल बढेर ४० वटा भएका छन्। माटोलाई माया गर्ने नेपालीले यो समयमा बाख्राको बगाल मात्रै बढाएका छैनन् राम्रो आम्दानी पनि गरेका छन्।

बाख्रा पालेकाले नियमित कमाइ हुने कुरा भएन मासिक आम्दानी त उनले भन्न सकेनन् तर वार्षिक हिसाब गर्दा खर्च कटाएर ३ लाखदेखि ३ लाख ५० हजारसम्म बचाउने गरेको उनले बताए। बाख्रासँगै उनको आँगनमा कुखुरा चर्छन्। करेसामा तरकारी फलेका छन्। आधुनिक हरितगृह निर्माण गरेर गोलभेँडा र बेसिजन तरकारी पनि फलाएका छन्।

‘बाख्रासँगै कुखुरा पालेको छु, यिनीहरुको मलले तरकारी राम्रो हुन्छ’ नेपालीले भने, ‘टनेल बनाएर टमाटर फलाउँछु, बेच्नको लागि कुनै समस्या छैन।’ उनको खोरमा भएका बाख्रा र कुखुरा तथा बारीमा फलेका तरकारी खोज्न ग्राहक घरमै आउँछन्। केही बँचेको तरकारी डोकोमा बोकेर स्थानीय बजारमा बेच्ने गरेका छन्। यतिधेरै काम तपाईं एक्लैले कसरी भ्याउनुहुन्छ? भन्‍न प्रश्‍नमा उनी भन्छन्, ‘म आफूले पनि समय खेर फाल्दिनँ बिहानदेखि बेलुकासम्म काममा घोटिने हो’ नेपाली भन्छन्, ‘श्रीमती र परिवारले पनि राम्रो साथ दिएका छन्।’ बाख्राको लागि पानी नपरेको दिन चराउने जंगल छ। जंगलमा दिनभर चरेको बाख्रा खोरमा थुनेपछि उनका बाँकी काम सुरु हुने गरेका छन्।

कृषि कर्मसँगै उनले सानो किराना पसल पनि चलाएका छन्। गाउँलेलाई घरखर्च खरिद गर्न सजिलो होस भनेर पसल राखेको नेपालीले बताए। ‘मिहिनेत गर्नसके जताजतै पैसा फल्छ’ उनले भने, ‘म त मेरो सपना यही माटोमा खोजिरहेको छु।’ परम्परागत खेतीपाती गर्ने परिवारमा हुर्केका उनले विदेश जाने साथीहरूको लर्कोमा मिसिन मन नलागेर व्यावसायिक बाख्रापालन तथा कृषि कर्म गर्न मन लागेको बताउँछन्। उनको काम देखेर प्रशंसा गर्नेहरु बढेका छन्।

‘उसले गरेको मिहिनेतले दलित समुदायप्रति हेर्ने दृष्टिकोण नै बद्लिएको छ’ स्थानीय चूडामणि सार्कीले भने, ‘मिहिनेतले सबैको मन जितेको छ केटाले।’ व्यावसायिक कृषि कर्ममा लागेका नेपालीको व्यवसाय आफ्नै बलबुताले चलेको छ।

राज्यले आफ्नो व्यवसायलाई नहेरेको उनको गुनासो छ। ‘अरू त मलाई पुगेकै छ, कसैको सहयोग पाए बाख्राको संख्या बढाउँथेँ’ नेपाली भन्छन्, ‘आधुनिक खोर र तालिम पाए अझै राम्रो गर्थें भन्ने लाग्छ।’ आफूजस्तै युवा उद्धमी जो नेपालमै सपना देख्ने र नेपालमै केही गर्नुपर्छ भन्नेहरूलाई प्रोत्साहन गर्न स्थानीय सरकारले कार्यक्रम बनाए बिदेसिने युवाको संख्या घट्ने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.