|

आज मार्गशुक्ल (मंसिरे) पूर्णिमा। सनातन संस्कृति र रहनसहनका विभिन्न पक्षसँग पूर्णिमा तिथि गाँसिएरको छ। त्यसैले नेपालका विभिन्न जातजाति र तिनका संस्कृतिमा पूर्णिमालाई बडो महत्त्व दिइन्छ। औंसीमा पितृकार्य गरिएजस्तै देवीदेवतासम्बन्धी अनुष्ठानका लागि पूर्णिमाको महिमा छ।

चान्द्रमानको पात्रोअनुसार महिनामा शुक्ल र कृष्ण गरी दुई पक्षका १५/१५ गरी ३० दिन हुन्छन्। चन्द्रमाको कला बढ्दै गएर पूर्ण हुने पक्षलाई शुक्ल र पूर्ण भएको चन्द्रमाको कला घट्दै गएर चन्द्रमा नै नदेखिनेसम्मको अवधिलाई कृष्ण पक्ष भनिन्छ। यही तथ्यअनुसार चन्द्रमा पूर्ण भएको तिथि नै पूर्णिमा हो।

महिनाको एउटाको हिसाबले वर्षमा सामान्यतया बाह्र पूर्णिमा हुन्छन्। हामीले अहिले चलाएको चान्द्रमानको पात्रो पूर्णिमान्त (पूर्णिमामा महिना पूरा हुने) भएकाले महिनाको अन्तिम दिन पनि हो पूर्णिमा। चलनचल्तीको पात्रोअनुसार चैत्रशुक्ल प्रतिपदादेखि नै संवत्सराम्भ हुने भएकोले चैत्रशुक्ल पूर्णिमालाई नै पहिलो पूर्णिमा मानिन्छ।

सनातन वैदिक धर्मावलम्बीको आदि ग्रन्थ वेदको एक अंग मानिने वेदाङ्ग ज्योतिषले सम्पूर्ण शुभकर्म गर्नका लागि शुक्लपक्ष अनुकुल मानेको छ। चन्द्रमा पूर्ण हुने दिनलाई धर्म–संस्कृति लगायत सामाजिक पक्षका विविध कार्यका लागि उपयुक्त मानिन्छ। वैशाखको चण्डी (बुद्ध) पूर्णिमा होस् या जेठको मष्ट्रा, साउनको जनैपूर्णिमा होस् या माघको स्वस्थानी पूर्णिमा हरेक पूर्णिमामा देवीदेवताको आराधना गर्ने परम्परा छ। 

मार्गशुक्ल पक्षको १४ औं दिनमा आज पूर्णिमा परेको छ। आज चतुर्दशी तिथि टुटेको पञ्चाङ्गहरूले उल्लेख गरेका छन्। तिथि नटुट्ने मान्यताअनुरूप वैदिक कालगणनाअनुसार भोलि पहिलो महिना ‘तप’को पूर्णिमा मनाइँदैछ।

नेपाल कृषिप्रधान मुलुक भएकाले यहाँ मनाइने चाडपर्व संस्कृति पनि कृषिसँग सम्बन्धित हुनु अस्वाभाविक होइन। मंसिर विशेषगरी नेपालको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने वा भित्र्याइसक्ने बेला हो। धान्यपूर्णिमा रूपमा समेत मनाइने हुनाले यस पर्वमा धानको विशेष महत्त्व बुझ्न सकिन्छ। धानलाई लक्ष्मीको रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

मंसिरको पूर्णिमासम्म सबैजसो स्थानमा हिउँदे धान भित्र्याइसकिएको हुन्छ। अर्कोतर्फ हाम्रो संस्कृतिमा कुनै नयाँ काम गर्दा आफ्ना देवता पितृलाई सम्झने परम्परा छ। नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। विशेषगरी पहाडी भेगमा आज गोठपूजा गर्ने चलन छ। गोठ सफासुग्घर गरी गाईवस्तुको विशेष पूजा गरिन्छ।

कतिपय समुदायमा आज कुलदेवताको पूजा गर्ने परम्परा छ। स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भन्निन्छ। कूलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाउने गरिन्छ। कतिपय जातजातिमा कुलदेवताको पूजामा बोका बलि दिने चलन छ। नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पिठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा रहेको पाइन्छ। कुलदेवताको पूजामा नियम पुर्‍याउन सकिएन भने वा कुलदेवता रिसाए भने अनिष्ट हुने विश्वास सबै जातजातिमा रहेको छ।

नेवार समुदायले आजको दिनलाई थिन्ला पुन्हि वा ‘योमरी पुन्हि’का नामले मनाउँछ। अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। योमरी चामलको पीठोको रोटीमा तिल र चाकु राखी त्यसलाई शंख आकार दिई बफ्याएर पकाउने गरिन्छ। यसैगरी पिँधेको मास वा मासु राखेर पनि योमरी बनाउने चलन छ।

यसरी तयार भएको परिकार लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ। धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ। पहाडी क्षेत्रमा देउसी खेलेर भेटी, सेलरोटी मागेको झल्को दिनेगरी गीत गाएर योमरी माग्ने चलन लोप हुन लागिसकेको छ। योमरी पकाएर देवीदेवतालाई चढाउने र आफू आफन्तलाई खुवाउने विषयमा नेवारी समुदायमा कुवेरसम्बन्धी किंवदन्ती चलेको पाइन्छ।

लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ। किरात समुदायका कतिपय जातजातिमा आज प्रकृति, पितृ र कुलदेवताको पूजा गर्ने चलन छ। उधौली किरात समुदायको मुख्य चाड हो। लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर भन्छन्। किरातभित्रका बिभिन्न जातजातिमा यस दिनलाई मनाउने फरक\फरक शैली पाइन्छ।

आजै परमज्ञानी ऋषि दत्तात्रेयको जन्मदिन पर्छ। काभ्रेपलाञ्चोकको बनेपास्थित धनेश्वरलगायत स्थानीय शिवमन्दिरमा आज ठूलो मेला लाग्ने गर्दछ। विभिन्न समुदायमा यसबेला गरिने वेशभूषा, बाजागाजाको संगीत र नाचगानले आफ्नो संस्कृति जगेर्ना गर्न प्रेरित गरिरहेको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.