गाईघाट : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आबद्ध जुनसुकै तहका र जोसुकै नेताहरू पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारबाही गरिने बताएका छन्। प्रेस युनियन उदयपुरले शुक्रबार बिहान उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन्।
पार्टी कामको सिलसिलामा उदयपुर आइपुगेका भएका नेता पौडेलले अहिले बालुवाटारको जग्गा काण्ड, एनसेलको काण्ड र वाइडबडी काण्डमा विभिन्न पार्टीका नेताहरूको नाम जोडिएको र त्यसमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकोसमेत नाम जोडिएकोले यदि पुष्टि भए आफूहरू पार्टी सभापति देउवालाई समेत कारबाही गर्न तयार रहेको उल्लेख गरे। उनले वर्तमान सरकारले राम्रो काम गर्ने अवसर पाइरहेको भएता पनि नेपाली जनताले सोचेजस्तो काम गर्न नसकेको धारणा व्यक्त गरे।
नेता पौडेलले अहिले सत्ता पक्ष र विपक्षीबीच वाकयुद्ध चलिरहेको र यस्तो वाकयुद्धले प्रजातन्त्र र संघीयतालाई बलियो नबनाउने भन्दै सरकार पक्ष र विपक्षी दुवैले बोल्दा संयम भएर शिष्ट तरिकाले संसदीय मर्यादामा रहेर बोल्न सिक्नुपर्ने सुझाब दिए। उनले कांग्रेस पार्टी लामो इतिहास बोकेको पार्टी भएको कारण पार्टीभित्र सानातिना झिनामसिना कुराले कुनै असर नपार्ने बताए।
वर्तमान सरकारले अब भाषणमा भन्दा बढी कृषि क्रान्ति र पर्यटन विकासमा लाग्न सके नेपालले छिटो विकासमा फड्को मार्ने सुझाब नेता पौडेलले सरकारलाई दिए। पार्टीको महाधिवेशनमा आफूले पनि आवश्यक परे सभापतिको उम्मेदवार बन्न सक्ने नेता पौडेलको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।