|

उदयपुर : पहाडी क्षेत्रमा पर्ने खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीको पूर्वीक्षेत्र र उदयपुर पश्चिम भागको मुख्य बजार कटारी हो। उदयपुरको सदरमुकामपछि दोस्रो ठूलो बजार तथा जिल्लाको मुख्य व्यापारी केन्द्रका रूपमा परिचित कटारीले रूप फेर्दै गएको छ।

सशस्त्र द्वन्द्वका बेलादेखि ओझेलमा परेको सगरमाथाको द्वारका नामले परिचित पुरानो कटारी बजार राज्य पुनर्संरचनापछि मुहार परिवर्तन हुँदै गएको छ। यहाँ चारैतिरबाट सडक सञ्जाल जोडिएका छन्।

कटारी बजारलाई जोड्दै वैकल्पिक लोकमार्ग (धरान–चतरा–बेल्टारबजार–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक) निर्माणसँगै यो परिवर्तन हुन थालेको हो। सिद्धिचरण लोकर्मागले मात्रै छोएको कटारी वैकल्पिक लोकर्मागसँगै पूर्वको धरान र पश्चिममा हेटौँडासँग जोडिँदा गुलजार बन्दै गएको छ। मुख्य दुई लोकमार्गसँग जोडिएपछि पछिल्लो समय व्यापार व्यवसाय बढेको छ। ठूलो लगानीमा होटल, अस्पताल, खाद्य उद्योग, निर्माण सामग्रीको थोक बिक्री केन्द्रसमेत खुलेका छन्।

द्वन्द्वका कारण पलायन भएका व्यापारी फर्किएर ठूलो लगानी भित्र्याएका छन्। ‘पहिले व्यापारी पलायन रोक्न प्रयास गर्दा पनि सकिएन,’ वाणिज्य संघका अध्यक्ष पुष्कर खडकाले भने, ‘पहिलेकै अवस्था रहँदै गएको भए अहिले कटारीको नामसमेत हराउने थियो।’ तर, वैकल्पिक लोकमार्गलगायत अन्य सडकले जोडेपछि कटारी बजारको मुहार फेरिएको उनले बताए।

कटारीसँग जोडिने सडकको स्तरोन्नति नहुँदा पनि समस्या थियो। त्यसैगरी बैकल्पिक लोकर्मागको निर्माणसँगै सिद्धिचरण मार्ग जीर्ण हुँदा व्यापार खस्किएको थियो। सिद्धिचरण मार्गको स्तरोन्नति हुन नसक्दा व्यापार खस्किएको छ। ‘सिद्धिचरण मार्गको स्तरोन्नति नहुँदा सोलु, ओखलढुंगा र खोटाङबाट आउने सर्वसाधारण, व्यापारी काठमाडौंतर्फ मोडिएका छन, स्थानीय पत्रकार अभिमन्यु लामिछानेले भने, ‘टाढा भए पनि कटारीभन्दा काठमाडौं पुग्न सजिलो भएकाले त्यसतर्फ जाने गरेका छन्। तर काठमाडौंको तुलनामा कटारी बजारमा तराईमा उत्पादित वस्तु धेरै सस्तो भएको र यातायतले जोडेपछि पुनः ती कटारी आउन थालेका उनले बताए।

धरानबाट, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जका अधिकृत बिक्रेताले थोरै नाफा लिएर सोझै कटारीमा बिक्री गर्ने गरेको व्यवसायी भरत खत्री बताउँछन्।

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले कटारी बजारको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको बताए। ‘अहिले कटारी बजारको व्यापार व्यवसाय बढ्दै गएको छ’, श्रेष्ठले भने, ‘त्यसलाई अझै बढाउँदै लैजान र ठूलो लगानीका व्यवसाय भित्र्याउन नगरले विशेष योजना बनाएको छ ।'  नगरपालिकाले कटारी बजारको सरसफाइदेखि सुन्दरता र ठूलो लगानीका व्यवसायीलाई प्रोत्साहन गर्ने उनले बताए।

कटारीको केन्द्रविन्‍दु भूगोलपार्क

कटारी बजारको मुख्य भागमा निर्माण गरिएको भूगोलपार्क कटारीको केन्द्रिविन्दु बनेको छ। वातावरण संरक्षण र पर्यावरण जोगाउन सर्वसाधरणलाई सचेत गराउने उद्देश्य निर्माण गरिएको भूगोलपार्क अहिले केन्द्रिविन्दु बनेको छ।

‘वातावरणको संरक्षण गरौं, पृथ्वीको पर्यावरण जोगाउ’ भन्ने सन्देश दिने स्माकर सहितको पार्क निर्माण सम्पन्न भएको छ। वातावरणमा आएको परिर्वतनले सर्वसाधारणलाई पार्ने असरलाई पार्क निर्माणले सचेत गराउने नगरपालिकाले विश्वास लिएको छ।

बढ्दो वातावरणीय असरले पृथ्वीलाई पारेको असरबारे सर्वसाधारणमा कम जानकारी भएकाले सन्देश दिन पार्क महत्त्वपूर्ण बनेको स्थानीयको भनाइ छ। ‘हिमाल, पहाड, तराई र कटारी नगपालिका क्षेत्रका आदिवासी दनुवार जातिको प्रतिनिधित्व गर्ने ७ जना सर्वसाधारण आफै चारै तिरबाट पृथ्वी बोकिरहेको स्मारकसहित पार्क बनेको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘त्यसैले पार्क हेरेपछि वास्तवै स्थानीयदेखि हिमाल, पहाड र तराईका सर्वसाधारणलाई वातावरण संरक्षण गर्न जागरण ल्याउने छ।

करिब ३६ लाख रुपैयाँको लागतमा पार्क निर्माण सम्पन्न भएको हो। नगरपालिकाको पहिचानको रुपमा स्थापित गर्न खोजीएको पार्क निर्माणले सर्वसाधारणलाई आकर्षित गरिरहेको छ।

 ‘पार्क निर्माण भएयता पार्कमा उभिएर फोटो खिच्नेको भीड लाग्ने गरेको छ’ स्थानीय पत्रकार लामिछानेले भने, ‘पार्कमा उभिएर फोटो खिच्ने र हिँड्दाहिँड्दै उभिएर हेर्नेको भीड हेर्दा लाग्छ कि सर्वसारधणको पृथ्वीप्रतिको मोह बढेको छ।’

उनले आफू उभिएको धरातल (पृथ्वी) आफैंले संरक्षण गर्नुपर्ने सन्देशमूलक स्मारकमा पृथ्वीलाई सर्वसाधरणले चारैतिरबाट उचालिरहेको दृश्यले वातावरण संरक्षण र पर्यावरण जोगाउन चासो बढेको सन्देश दिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.