फिचर

मलाई अमेरिका यही, मलाई जापान पनि यही...
SHARES

हण्डरै हण्डर खाएर उठेपछि सफल

बैशाख २७, २०७६

    काठमाडौं : अरु मस्त निद्रामा हुँदा बिहान चार बजे उठ्छन्। उज्यालो नहुँदै गाईको स्याहार गर्न पुग्छन्। दिनभर किराना पसलमा बिताउँछन। यही हो लोकनाथ सुवेदीको दैनिकी। यो दैनिकीमा अभ्यस्त भएको १४ वर्ष बित्यो।

    पर्वतका उनी अहिले कलंकीमा गाई फार्म खोलेर रमाइरहेका छन्। सुवेदीको सफल जीवन पछाडि छुट्टै कहानी छ। कृषिप्रधान देश नेपाल तर कृषकलाई नै समाजले हेप्छ। तर लोकनाथ कृषिकर्म अर्थात् गाईपालनमै रमाइरहेका छन्। आखिर कसरी फुर्‍यो त गाईपालनको सूत्र?

    धेरै ठाउँमा हण्डर ठक्कर खाएपछि उहाँ आइपुगेको बताउँछन् उनी। पोखरामा बसेर बिजुलीसम्बन्धी काम गरे। डेढ वर्ष सरकारी नोकरीमा पनि झुन्डिए। देश छाडेर मलेसिया हान्‍निए। तर उनी जहाँ जहाँ पुगे, हन्डरमात्रै खाए। मलेसिया पनि नफापेपछि फर्किए देशमै। नेपाल आएपछि होटल व्यवसाय गरे। किराना पसले खोले। खेतीपाती पनि गरे। तर जे गरे पनि आफूले सोचे जस्तो भएन। ठक्कर मात्रै पाए। जता हात हाल्यो। उतै असफला हात लागेपछि व्यवहार पनि बिग्रँदै गयो। साहु बढ्दै गए। ऋणको भारी चुलिदैँ गयो।

    भड्किएको मनले कुनै काममा सफलता हात नपारे पनि हिम्मत हारेनन्। निराश भएका उनलाई एक साथीले भाडाको जग्गामा भैँसी पालन गर्न सुझाए। तर यो काम अघि नबढेपछि सुवेदी जुटे गाइपालनमा। अनि किने दुईवटा जर्सी गाई। दुईवटा गाईबाट सुरु भएको व्यवसाय अहिले झाँगिएको छ। अहिले उनीसँग १८ वटा होलिस्टेन प्रजातिका गाई छन्। यो फर्ममा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको उनले सुनाए।

    गाई पालनले जाँगर बढाएसँगै उनको जिन्दगीले मूलबाटो समात्न थालेको छ। अहिले उनी दैनिक २०० लिटर दूध बजार पठाउँछन्। यी गाईले दिनको १८ देखि २५ लिटरसम्म दूध दिन्छन्। 'अनेक हण्डर र ठक्कर खाइयो। गाईपालनले बल्ल जीवनको नयाँ अध्याय सुरू गरिदियो', उनले सुनाए। यो व्यवसायबाट उनी प्रफुल्ल र सन्तुष्ट रहेको बताउँछन्।

    यो गाई फार्ममा दुईजनाले रोजगारी पाइरहेका छन्। सबै खर्च कटाएर उनले महिनामा ५० हजार बचाइरहेका छन्। दूध बेचेर गतिलै आम्दानी भए पनि खर्च धेरै छ।गाईको स्याहारमा अन्य जनावर भन्दा धेरै ख्याल गर्नुपर्ने बताउँछन् उनी। अब उनले संकल्प गरेका छन्, 'गाईपालनमै रमाउँछु, यसैबाट भविष्य चम्काउँछु।'

    सुरू गाईपालन गर्छु भन्दा आफन्तले हेयको दृष्टिले हेर्ने गरेको तीतो अनुभव छ उनीसँग। तर चेतनास्तर बढ्दै गएपछि हेयको नजरले हेर्ने आफन्तले पनि माया गर्न थालेको बताउँछन्। कुनै बेला रोगले उनको गोठको खाँबो किलो रित्तिएको थियो। त्यही माथि भूकम्प पनि थपिएर गाईगोठमा नराम्रो क्षति गर्‍यो। तर पनि हण्डरले खारिएका उनले हिम्मत हारेनन्।

    युवा मेहनत गर्न डराउँछन्

    अनेक हण्डर सहँदासहँदै उनी उत्तिकै खारिएका छन्। देशमा महँगी बढिरहेको छ। मान्छेका रहर दिन दई गुणा रात चौगुणा बढ्दै छन्। दैनिक आवश्यकता परिपूर्ति गर्न पुर्ख्यौली सम्पति बेचेर विदेशिने युवाको संख्या कहाली लाग्दो छ। 'आफ्नो जग्गा बेचेर विदेशिएका युवाले आफ्नो जीवनकालमा कमाएको पैसा फेरि त्यही जग्गा किन्‍न खर्चिएको पनि देखेको छु', उनी सुनाउँछन्, '१० लाख खर्च गरेको एउटा युवाले पाँच वर्षपछि आफ्नै जग्गा ५० लाखमा किन्‍ने गर्छ।'

    मेहनत गरे आफ्नै माटोमा सुन फल्ने कुरा  युवाले बुझ्‍न नसकेको गुनासो गर्छन् उनी। पढाई सकेर विदेश जाने लर्को देख्दा उनको पनि मन कुँडिन्छ। उनको अनुभवले भन्छ,'विदेशमा पनि पैसा फल्ने रूख छैन।' तातो घाममा अर्काको देशमा पसिना बगाउनुपर्छ। गाली खानुपर्छ। अपमान सहनुपर्छ भन्‍ने कुरा अहिलेका युवाले हेक्का राख्नुपर्ने बताउँछन् उनी।

    विदेशको तातो घाममा दिनरात खटिनु भन्दा सानै लगानीमा देशमै व्यवसाय गरे ठूलो उपलब्धि लिन सकिने उनी दाबी गर्छन्। विदेशमा हुने कमाइ क्षणिक मात्रै हो। 'तर नेपालको कमाइ दीगो हुन्छ र सम्मान पनि दिन्छ', उनी सुनाउँछन्, 'परिवारसँग बसेर गरेको कमाइले दिने आनन्द बेग्लै हुन्छ।'

    छोराछोरीलाई गाईपालन

    दुई छोराछोरीलाई पनि गाईपालन सिकाउँदै छन्। दुवैले फुर्सदमा बुवाआमालाई सघाउँछन्। युवाहरू कृषि व्यवसायबाट भागिरहँदा आफ्ना सन्तानले साथ दिएको देख्दा मख्ख छन् सुवेदी। मेहनत गरे आफ्नै माटोमा सुन फल्ने कुरा सिकाउँदैछन् उनी। 'देशमा कृषि क्रान्ति गर्ने हो भने आफ्नै सन्तानबाट सुरू गर्नुपर्छ', उनको अनुभवले भन्छ,'माटो, गोबर र गहुँतको गन्धलाई सम्मान नगरेसम्म देशमा कृषि क्रान्ति सम्भव छैन।'

    सरकारले कृषक चिनेन

    सरकारले समृद्धिक कुरा गरिरहेको छ। प्रधानमन्त्रीकै मुखमा रेलदेखि पानी जहाज टुट्दैन। तर गफले मात्रै समृद्धि आउँदैन। आधुनिक कृषि क्रान्ति नभएसम्म देश आत्मनिर्भर नहुने बताउँछन उनी। आफूले उत्पादन गरेको दूधको सही मूल्य नपाएको गुनासो पनि छ। 'वस्तुभाउलाई अन्‍न, उपचार र औषधिखर्च बढेको बढ्यै छ। तर दूधको भाउ बढाउन सकेको छैन', मनको कुनामा लुकेको पीडा सुनाउँछन् सुवेदी। 

    सरकारले आवश्यक मापदण्ड बनाउनुपर्ने उनको माग छ। किसानको नाममा आउने अनुदान सम्बन्धित ठाउँमा पुर्‍याउन सरकारले मेहनत गर्न नसकेको मूल्यांकन उनले गरेका छन्। कुनै पनि पेशालाई व्यवस्थित बनाउन आवश्यक मापदण्ड बनाउनुपर्ने उनी बताउँछन्। 'दूधको बजार काठमाडौं भए पनि व्यवस्थित गर्ने काम सरकारको हो,' उनी भन्छन्, 'तर त्यसो हुन सकेको छैन।' 

    शहरबीचमा गाईपालन गर्न मिल्दैन, टाढा जानुपर्छ। शहर बाहिर जाँदा ढुवानी समस्या हुन्छ। सामान उत्पादन गर्‍याे। बजारभाउ निर्धारण छैन। यो काम सरकारको हो। गाईको दानापानीमा व्यापारीले मनलाग्दी मूल्य लिने गरेको बताउँछन् उनी। 'सरकारे मूल्य निर्धारण गर्नुपर्छ। बजारमा तनाव हुनेबित्तिकै कालोबजारी सुरू भइहाल्छ', उनी भन्छन्, 'जसको सीधा असर किसानलाई पर्छ।' 

    गाउँ फर्किने मन छ, सुविधा छैन

    बढ्दो सहरीकरणले खाली जग्गा साँघुरिदै, मासिँदै छन्। दूधको व्यवस्थापन सहज हुनेगरी पुर्वाधार भए ठाउँ पाए गाईको संख्या ४० पुर्‍याउने योजना छ उनीसँग। यो पेशा आफ्नै गाउँमा गर्ने अठोट छ उनीसँग। तर गाउँमा आवश्यक पुर्वाधार बनिसकै छैन। काठमाडौंबाट उनी आजित छन्। भन्छन्, 'गाउँकै हावापानीमा व्यवसाय गर्न पाए गज्जब हुने थियो। तर पुर्वाधार मुख्य समस्या भएको छ, मनको चाह भने मरेको छैन।'

    श्रीमतीको साथले सफल

    गाईपालनसँगै उनले किराना पसल पनि चलाइरहेका छन्। एक्लै यी सबै काममा सफलता मिल्दैन। उनको सफलतामा साथ दिएकी छन् श्रीमतीले। 'मेरो सफलताको पुरा हकदार श्रीमती हुन्। यो उपलब्धिको मुख्य श्रेय उनैलाई जान्छ,' सुवेदी सुनाउँछन्। जीवनमा दु:खका पहाड श्रीमतीकै आड भरोसाले छिचोले। दुवैजना मिलेर सुरू गरेको व्यवसायले अहिले उनलाई मिठो सफलताको स्वाद दिइरहेको छ। दुवैको दैनिकी एउटै छ।

     बिहान ४ बजे उठेर गाईको स्याहारसुसार। १४ वर्षको यति लामो समय छिट्टै बितेको बताउँछन् उनीहरू। दुवैले एकै स्वरमा, 'मिलेर काम गर्दा सफलता हात लाग्दो रहेछ। जिन्दगीका उतारचढावमा हातमा हात मिलाएर हिँड्दा समय बितेको पत्तो नहुने रहेछ।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]