निजीक्षेत्रको साथ नमिल्दा महानगर फेल !

|

काठमाडौः अस्वस्थ मासु उपभोक्ताको चुल्होमा पाकिरहेका बेला काठमाडौं महानगरपालिका बधशाला बनाउन असफल भएको छ। बधशाला बनाउने बजेट उपयोग गर्न नसक्दा फ्रिज हुने अवस्थामा पुगेको छ।

महानगरपालिकाले बधशाला बनाउन छुट्याएको २ करोड रुपैयाँ बजेट फ्रिज हुने अवस्थामा पुगेको  महानगरपालिका पशु विभागका प्रमुख हरि भण्डारीले बताएका छन्।

काठमाडौंमा बनाउन नमिल्ने भएपछि बजेट फिर्ता हुने अवस्थामा पुगेको महानगरले दाबी गरेको छ। 'निजी क्षेत्रसँग सहकार्य गरेर बनाउन खोजिएको थियो', उनलले भने, 'तर, कोही पनि सहकार्यका लागिआएनन्, त्यहीकारण बधशाला बन्न सकेन।' 

महानगर आफ्नै निर्णय कार्यान्वयन गराउन असफल भएको हो। महानगरले धादिङमा बधशाला बनाउने निर्णय गरेको भण्डारीले बताए। त्यो निर्णय पनि विवादमा परेपछि बधशाला निर्माण योजना अलपत्र परेको उनी बताउँछन्। 'महानगरसँग सहकार्य गर्न निजी क्षेत्रबाट कोही आएनन्', उनले भने । २ करोडले मात्र बधशाला बनाउन नसकिने भएपछि प्रक्रिया अगाडि बढ्न नसकेको भण्डारीले बताए । 

उपत्यकामा पर्याप्त खुल्ला स्थान नभएकाले बधशाला बनाउन नसकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए।  प्रयोगमा नआएको बजेटलाई  बधशाला बनाउन नै खर्च गरिने उनले दाबी गरेका छन्।

डंगोलका अनुसार बाहिर जिल्लाबाट ल्याइने राँगा,खसी र कुखुरा राख्ने ठाउँ उपत्यकामा छैन। 'काठमाडौं उपत्यकामा अस्वस्थ मासु उपलब्ध नहोस् भनेर बधशाला बनाउने निर्णय भएको थियो। तर ठाउँ अभावले बधशाला बनाउन सकिएन', उनले भने।

काठमाडौं उपत्यकामा दैनिक १० लाख किलोग्राम माछामासु खपत हुने गर्छ। करिब ५० लाख मानिसको बसोबास रहेको उपत्यकामा स्वस्थकर मासु उपलब्ध गराउन 'मिट मार्ट' र कोल्ड स्टोर बनाउनुपर्ने डंगोलको भनाइ छ।

सबैभन्दा बढी मासु होटलमा खपत हुने डंगोलले बताए। महानगरलपालिकाले खड्गी समाजलाई मिट मार्ट बनाउन आग्रह गरेको थियो। तर खड्गी समाजले आफैँले चलाउने भनेपछि बधशाला बन्न नसकेको डंगोलले बताए। खड्गी समाज पनि बधशाला बनाउन सकेको छैन।

'महानगरले बधशालाका लागि छुटयाएको बजेट खर्च नहुनु महानगरकै कमजोरी रहेको बताउँछन् वातावरण विभागका प्रमुख हरिकृष्ण । 'उनले भने,' महानगर भित्र बधशाला नबने फोहरमा कमी हुन्छ ।' महानगरले बधशाला बनाउन नसक्नुमा मासु सप्लायर्स पनि एक कारक बनेको छ। उनीहरुले उपत्यकामा मासु बजार कब्जा गरेर बसेको श्रेष्ठ बताउँछन्। 'घर-घरबाट होटलहरुमा सम्पर्क गरेर मासु पुर्‍याउने गरेका छन्', उनले भने। 

काठमाडौंमा बधशाला नहुँदा स्थानीयले गुणस्तरहीन मासु खाइरहेका छन्। लाजिम्पाट बस्ने आशिष श्रेष्ठका अनुसार पसलमा ३-४ दिनदेखि फ्रीजमा राखेका मासु बिक्री हुने गरेको छ। 'मासु स्वस्थकर छ कि छैन थाहा छैन', उनी भन्छन्।

देशको सबैभन्दा ठूलो र पुरानो महानगरपालिकामा बधशाला नभएकोमा उनले गुनासो पोख्दै भने,'नेपालीको चुल्होमा मासु अनिवार्य छ।  स्वस्थकर मासु खान पाउने अधिकार हनन भएको छ।' उपत्यकाबासीले स्वस्थ्यकर मासु खान नपाउनुमा बधशाला व्यवस्थित नहुनु प्रमुख कारण रहेको उनको बुझाइ छ।'

महानगरले थानकोट र टोखा क्षेत्रमा बधशाला बनाउने निर्णय गरेको थियो। २०७३ चैत २२ गते काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत इश्वरराज पौडैलको अध्यक्षतामा बसेको बैठकले थानकोट क्षेत्रमा मिट मार्ट र कोल्ड स्टोर बनाउने निर्णय गरेको थियो ।

उक्त क्षेत्रमा पर्याप्त जग्गा पाउन नसकेपछि उक्त निर्णय अलपत्र छ। हाल बारा र नवलपरासीमा बधशाला छन्। चिनियाँ र र नेपालीले संयुक्तरुपमा बधशाला सञ्चालन गरिरहेका छन्। त्यहाँको मासु भियतनाम र चीनमा निर्यात भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.