|

काठमाडौं : चाबहिल‍-जोरपाटी सडक पिचमा ढिलाइ भएपछि प्रदर्शनमा उत्रिएका एक स्थानीयबासीको सिक्री लुटेको आरोप प्रहरीमाथि लागेको छ । 

बिहीबार दिउँसो बौद्धमा भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गर्दा एक स्थानीय व्यवसायीको सुनको सिक्री लुटेको आरोप प्रहरीमाथि लागेको हो । 

सडक कालोपत्रे गर्न माग राख्दै बौद्ध सडकमा उत्रिएका युवा व्यवसायी सहदेव चौलागाईंले घाँटीमा लगाइरहेको सिक्री उनलाई पक्राउ गर्ने क्रममा प्रहरीले लुटेको दाबी प्रत्यक्षदर्शीले गरेका छन् । 

चौलागाईंका साथी तथा स्थानीय व्यवसायी निश्चल बाँस्कोटाले एकजना प्रहरी हवल्दारले घाँटीमा हात लगेर सिक्री तानेको तस्बिरहरु आफूहरुसँग रहेको बताएका छन्। 

प्रहरीले पक्राउ गर्ने क्रममा चौलागाईंको घाँटीमा चोट पनि लागेको छ। उनको घाँटीमा औँलाले कोतरेको डाम बसेको तस्बिर स्थानीयले सार्वजनिक गरेका छन्। 

चौलागाईंले लगाएको साढे ३ तोलाको उक्त सिक्रीमाथि प्रहरीले हात लगाएर तान्दै गरेको फोटोसमेत स्थानीयबासीले खिचेका छन्। 'फोटो जुम गरेर हेर्दा प्रहरीको बुढी औंलाले सिक्री समातेको देखिन्छ। चोर औंलामाथिबाट सिक्री हातमा तानेको प्रष्ट देखिन्छ', उनले भने, 'सिक्री गायब भएपछि हामीले बौद्धवृत्तका डिएसपी नरेन्द्र चन्दलाई यसबारेमा बिहीबारै जानकारी गराएका थियौँ।'

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले धरपकड गरेर चौलागाईंलाई भ्यानमा हाल्न लैजाँदै सिक्री गायब गरिएको हो। यो घटनाबारेमा तस्बिरसहित डिएसपी चन्दलाई जानकारी गराउँदा उनले शुक्रबारसम्ममा खबर गर्ने बताएका बाँस्कोटाले जानकारी दिए। 

तर चन्दले कुनै उत्तर दिएका छैनन्। सिक्री गायब भएको घटनाबारे स्थानीयको टोली शुक्रबार पनि बौद्ध वृत्त पुगेको थियो। तर डिएसपी चन्द बाहिर गएको भन्दै प्रहरीले कुनै जवाफ दिएनन्।

आरोप गलत हो 

यता महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले भने सिक्री लुटेको आरोपमा कुनै सत्यता नभएको बताए । थाहा खबरसँग कुरा गर्दै उनले धरपकडका क्रममा भुइँमा झरेर हराएको हुन सक्ने उल्लेख गरे ।

बौद्धमा बज्यो सरकारविरुद्ध शंख, अवस्था तनावग्रस्त (फोटो फिचर) 
सडक नबनेको आक्रोशमा आन्दोलन : बौद्धमा प्रहरी र स्थानीयबीच झडप 

'प्रहरीले कसरी लुट्न सक्छ? यस्तो मिथ्या आरोप कसरी लगाए मलाई थाहा छैन', चन्दले भने, 'सिक्री लाउँदै आन्दोलमा आउने अनि प्रहरीलाई बदनाम गराउन खोज्ने ? धरपकडका क्रममा हराएको हुन सक्छ। यसो भयो भन्दैमा प्रहरीलाई दोषी देख्नु सरासर गलत हो।'

घटना के हो ? 

तीन वर्षदेखि स्तरोन्‍नति थालिएको चाबहिल-जोरपाटी सडकखण्ड पिचको काम ठेकेदार अलपत्र छाडेपछि स्थानीयबासी बुधबारदेखि आन्दोलित भएका थिए।

बुधबारदेखि थालेको आन्दोलन बिहीबार उग्र बनेको थियो । सडक पुरै बन्द गरेर  स्थानीय आन्दोलित भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

टायर, प्लास्टिकको फोहर र तार बालेर सडक अवरुद्ध गरिएपछि प्रहरीको ठुलो टोली त्यहाँ खटाइएको थियो । प्रहरीले आन्दोलितमाथि अश्रुग्यास र लाठीचार्ज गरेपछि स्थानीयले ढुंगा र इँटा हानेका थिए। 

त्यही क्रममा बौद्ध सडकमा आन्दोलनकारीकातर्फबाट माइकिङ गरिहेका चौलागाईंलाई प्रहरीले समातेको थियो । आधा दर्जन भन्दा धेरै प्रहरीले घेरा हालेर समातेर उनलाई भ्यानमा कोचिएको थियो । भ्यानमा लानुभन्दा अगाडि नाम नखुलेका एकजना प्रहरी हवलदारले चौलागाईंको घाँटीबाट सिक्री थुतेर लगेको आरोप स्थानीयले लगाएका हुन्।

चौलागाईंको घाँटीमा लागेको चोट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.