न्यूनतम पारिश्रमिकबारे थाहै छैन मजदुरलाई

|

झापा : पूर्वमा चिया मजदुर आन्दोलित भएको बिहीबार ४१ औँ दिन पुग्यो। उद्योगले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न नमानेपछि चिया मजदुरको आन्दोलन योपटक लामो समयसम्म चर्कियो। झापामा करिब ५० हजार बढी चिया मजदुर छन्। ती मजदुर जिल्लामा सञ्चालित दुई दर्जन बढी चिया उद्योगमा कार्यरत छन्। साना किसानद्धारा स्थापित उद्योग बाहेक सबै चिया उद्योग बन्द रहेको छ। बगानमा चिया पत्ति टिप्न नपाउँदा चिया काम नलाग्ने अवस्थामा पुगिसकेको छ।

उद्योग नचल्दा मेशिनरी औजारमा खिया लाग्न थालिसकेको छ। उद्योग खुलाउन उद्योगीहरू सरकारलाई गुहार्दै काठमाडौँ धाउन थालिसकेको छन, भने भोक भोकै रहेका मजदुर आन्दोलन चर्काउन कहिले सडकमा सुत्ने, कहिले पुत्ला दहन गर्ने, कहिले थाल बजाउँदै प्रदर्शन गर्ने देखि उद्योगमा तोडफोड गर्न सम्म भ्याए।

यति हुँदा पनि ठुला उद्योगी र चिया मजदुर सङ्गठन बिच अहिलेसम्म सम्झौता र वार्ता हुन सकेको छैन। दुवै पक्षको आ–आफ्नो अडानले ज्याला मजदुरी गरी परिवार पाल्ने मजदुर आन्दोलनको मारमा परेका छन। साथै ५ देखि १० कट्ठामा चिया बगान लगाएका साना चिया किसानहरू पनि हरियो पत्ति टिप्न नपाउँदा मारमा परेका छन।

मजदुर आन्दोलनले पूर्वमा अहिले सम्म करोड बढी मूल्यबराबरको हरियो पत्ति नष्ट भइसकेको चिया उद्योगी जेपी शर्माले जानकारी दिए। करोड बढीको हरियो पत्तिले २० करोड बढी मूल्यको चिया उत्पादन हुन्थ्यो, त्यसबाट राज्यलाई तिर्न राजश्वमा समेत प्रभाव परेको उनको भनाई छ।

मजदुरलाई नै थाहा छैन न्यूनतम पारिश्रमिक!

चिया मजदुर सङ्गठन र साना किसान चिया उद्योगी बिच सम्झौता भएपछि झापामा चार वटा साना किसानको चिया उद्योग सञ्चालनमा आइसकेको छ। हल्दिवारीको पाराखोपी साना किसान सहकारी संस्थाको चिया प्रशोधन कारखाना, साना किसान चिया उत्पादक सङ्घको चिया प्रशोधन कारखाना, भद्रपुरको साना किसान कृषि सहकारी संस्थाको सहकारी चिया प्रशोधन कारखाना पृथ्वीनगर  र मेचीनगरको शुभ चिया सहकारी संस्था बाहुडाँगी सञ्चालनमा आएको छ।े

यी उद्योग सञ्चालनमा आएपछि चिया मजदुरहरू हरियो पत्ति टिप्प सुरु गरिसकेको छ। केही मजदुर न्यूनतम पारिश्रमिकका लागि आन्दोलन गर्न सडकमा उत्रिएका छन्। केही बगानमा काम गर्न थालिसकेका छन्। आन्दोलनकै चरणमा बगानमा काम गर्न थालेका मौसिम चिया मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै थाहा नरहेको भेटियो। साना चिया प्रशोधन कारखाना सञ्चालनमा आएपछि मजदुरले न्यूनतम पारिश्रमिक पाएकी पाए, पाए पनि कति दिने सर्त गरेको रहेछ भन्ने अवस्था बुझ्न थाहाकर्मी हरियो पत्ति टिप्दै गरेको बगानमा पुग्यो।

हल्दिवारी २ स्थित चिया बगानमा महिला तथा पुरुष गरी एक दर्जन बढी मजदुर हरियो पत्ति धमाधम टिप्दै थिए। टिप्दै गरेको पत्ति कहाँ पुर्‍याउने विषयमा थाहाकर्मीले राखेको जिज्ञासामा मजदुरहरूले भने, ‘पाराखोपी साना किसानको उद्योगमा।' सरकारले तोकेको न्यूनतम पारिश्रमिक ३८५ रुपैयाँ अनुसार नै हरियो पत्ति टिप्दै हुनुहुन्छ त थाहाकर्मीले मजदुरलाई प्रश्न राख्यो । थाहाकर्मीको प्रश्नको उत्तर दिँदै मजदुर भन्छन्, ‘हामी पुरानै पारिश्रमिकमा काम गर्दछौँ, नयाँ पारिश्रमिक हामीलाई थाहा छैन।’ बिहान ७ बजेदेखि ११ बजेसम्म हामी हरियो पत्ति टिप्छौ, चिया मजदुर बुद्धसरी राजवंशीले बताइन्।

‘२७ केजी पत्ति टिप्दा २२५ रुपैयाँ दिने गरेको थियो, त्यही दिन्छ रे, र त्यो भन्दा बढी पत्ति टिपे प्रति केजी साढे दुई रुपैयाँ दिन्छन्’, उनले भनिन्, ‘मजदुर सङ्गठन र साना उद्योगी बिच भएको सम्झौता बारेमा हामीलाई केही थाहा छैन, बगानमा पत्ति टिप्न जानु भनेपछि हामी आएका हौ।’

मजदुर भीमबहादुर कार्कीले मजदुरहरू चार घण्टा बढी काम गर्न चाहँदैन, साहुले पनि चार घण्टा गरेकै ज्याला २२५ दिन्छु भनेको बताए।  'एउटा मजदुरले चार घण्टामा ४० देखि ६० केजी सम्म पत्ति टिप्दैछ’, उनले भने, ‘सरकारले तोकेको ज्यालाको विषयमा साहुसँग कुरा गर्दा साहु भन्छन् त्यसो भए अन्यत्र गएर काम गर्नु, हामी मजदुरलाई त्यो भन्दा बढी ज्याला दिन सक्दैनौ।’

साना किसानमा मजदुर आन्दोलनको प्रभाव परेन

भद्रपुर नगरपाकिला १ स्थित पृथ्वीनगरमा सञ्चालित साना किसान कृषि सहकारी संस्थाको सहकारी चिया प्रशोधन कारखानामा मजदुर आन्दोलनको कुनै प्रभाव परेको छैन। ४१ औ दिनदेखि मजदुर सडकमा उत्रिएर सरकारसँग न्याय माग्दै गरेको अवस्थामा यी चिया कारखाना भित्र कार्यरत २२ जना भन्दा बढी चिया मजदुर चिया पत्ती सुकाउने, मेसिनमा हाल्ने, ग्रेडिङ् छुट्ट्याउने देखि प्याकेजिङ गरी गाडीमा हालेर बजार पठाउनमानै व्यस्त छन्।

७ करोड लगानीमा २०७१ सालमा स्थापना भएको यो चिया कारखानाले हालसम्म कुनै पनि बन्द हडताल भोग्नुपरेको छैन। ३ करोड १० लाख सरकारी अनुदान र बाँकी सहकारी माध्यमबाट सञ्चालित उक्त उद्योगमा काम गर्ने सबै मजदुर सहकारीका सेयर सदस्य हुन्। उद्योगकै सेयर सदस्य नै मजदुर भएकाले किसानले लगाएको चिया नत बिग्रियो नै, तन टिप्न नपाएर छिपिएको छ। चिया टिप्ने देखि कारखानामा काम गर्ने चिया मजदुरलाई आन्दोलनले छोएको छैन।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकले यहाँका सेयरधनी अर्थात् मजदुरलाई कुनै असर नपरेको सेयरधनी नवीन भट्टराईले बताए। ‘हामी आफै काम गछौँ, उद्योग भित्र काम गर्ने दक्ष जनशक्तिलाई पनि मासिक पारिश्रमिक दिएकै छौ, आठ घण्टा काम गर्नेले पनि मासिक पारिश्रमिक पाएका नै छन्, त्यसैले कुनै विवाद नै छैन,’ उनले थपे। कारखानाले प्रति किलो १८ देखी २५ रुपैयाँ सम्ममा चियाको पत्ति खरिद गर्दै आएको छ। उद्योगको क्षमता एक पटकमा ६ लाख किलो चिया प्रशोधन गर्ने भए पनि हाल ४ लाख किलो चिया प्रशोधन गर्दै आएको उद्योगका लेखा अधिकृत चुणामणी खतिवडाले बताए। पछिल्लो समय चिया मजदुरको आन्दोलनका कारण बजारमा निस्किएका तयारी चिया सकिँदै जाँदा आफूहरूले उत्पादन गरेको चियाको माग अझै बढी भएको उनको भनाई छ।

यसकारण चिया उद्योगी मजदुर नेताबीच विवाद

सरकारले २०५० को चिया श्रम नियमावलीलाई खारेज गर्दै २०७४ भदौ १९ गते जारी भएको श्रम ऐन ‘२०७४’ लाई २०७५\७६ को बजेट भाषण मार्फत नै चिया क्षेत्रमा लागु गर्दै चिया मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा पाउने भनी तोकिदिएको छ।

उद्योगले त्यसअघि स्थायी कामदारलाई २ सय ७८ रुपैयाँ ज्यालासहित ५ प्रतिशत सञ्जय कोष, ५ प्रतिशत उपदान, १३ दिन सार्वजनिक बिदा, १२ दिन घर बिदा, साढे सात दिन बिरामी बिदा र २६ दिनको बोनस गरी वार्षिक १ लाख ८ हजार ३ रुपैयाँ दिँदै आएका थियो।

समग्रमा एकदिन बराबर ३६० रुपैयाँ ज्याला पर्न जान्थ्यो। तर, सरकारले श्रम ऐन लागु गरेपछि स्थायी, अस्थायी, मौसमी वा एक दिन काम गरेको मजदुरलाई पनि ३८५ रुपैयाँ ज्यालासँगै १० प्रतिशत सञ्चय कोष, ८.३३ प्रतिशत उपदान, १.६७ बिमा, सार्वजनिक बिदा, बिरामी बिदा, घर बिदा र बोनस दिने नीति ल्याएको हो।

त्यसो गर्दा एक मजदुर बराबर वार्षिक १ लाख १९ हजार ५४० रुपैयाँ अर्थात् एक दिन बराबर ३९८ रुपैयाँ दिनुपर्ने हुन्छ। उद्योगी सरकारले तोकेको श्रम ऐनले चिया उद्योग धरायशी हुने अडान लिँदै उद्योग बन्द गरी बसिरहेका छन्। भने चिया मजदुर सङ्गठन र नेताहरू सरकारले तोकेको ज्यालासहितको सेवा सुविधा पाउनुपर्छ अडान लिएर आन्दोलित बनेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.