मेरो सरकार भन्ने छुट कसैलाई छैन

|

बुटवल : नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले सरकारका जय नेपाल तत्कालीन राजा महेन्द्रले भन्न सुरु गरेको भनाइप्रति आक्रोश व्यक्त गरेका छन्। शुक्रबार बुटवलमा नेपाली कांग्रेस बुटवलको नगर सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले उक्त भनाइप्रति खरो उत्रिएका हुन्।

नेपाल सरकारका प्रवक्ता तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार जय नेपाल शब्द राजा महेन्द्रले भन्न सुरु गरेको अभिव्यक्ति दिएका थिए। ‘जय नेपाल शहीद शुक्रराज शास्त्रीले सुरुवात गर्नुभएको हो। फाँसी दिँदा अन्तिम आशा के छ भनेर सोध्दा उहाँले जय नेपाल भन्नुभएको थियो’ उनले भने। 

उसै शैलीमा उनले थपे, ‘यही जय नेपालको बलले राणाको सातो लग्यो, राजाको सातो लग्यो अब कम्युनिस्‍टको सातो लैजान्छ।’ सचेतक खाँणले गलत तथ्यका आधारमा अनावश्यक हल्ला र टिप्पणी नगर्न चेतावनीसमेत दिए।

मेरो सरकार भन्ने छुट कसैलाई छैन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मेरो सरकार भन्ने छुट नेपालको संविधानले कसैलाई पनि नदिएको बताएका छन्। उनले नेपालको संविधानले संघीय सरकारलाई नेपाल सरकार भनेर स्पष्ट उल्लेख गरेको बताउँदै संविधानको मर्यादाविपरीत कोही पनि जान नहुने बताए।

सरकारप्रति निकै खरोरूपमा प्रस्तुत भएका प्रमुख सचेतक खाँणले भने, ‘नेपालको संविधानले मेरो सरकार तेरो सरकार चिन्दैन। व्यक्तिगतरूपमा राष्ट्रपति प्रधानमन्त्रीले मेरो सरकार, राजा बाबु जे जे भन्नु होला तर संविधानको उल्लंघन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जस्तो औपचारिक कार्यक्रममा त्यस्तो बोल्न पाउनुहन्न।’ उनले संविधानको संरक्षण गर्ने दायित्व राष्टपतिको भएको पनि बताए।अहिले प्रधानमन्त्री केपी ओलीबाटै संविधान र राष्ट्रियतामाथि बढी खतरा बढेको समेत आरोप लगाए।

सरकारले पारित गरेको नीति तथा कार्यक्रममाथि  टिप्पणी गर्दै सचेतक खाँणले महत्वाकांक्षी, अस्पष्ट, अमूर्त र कामभन्दा प्रचार र प्रोपोगण्डामा केन्द्रित भएर भाषण र सतहीरूपमा नीति तथा कार्यक्रम आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.