समाज

बागलुङका अधिकांश वडा सचिवविहीन
SHARES

बैशाख २७, २०७६

    बागलुङ : समायोजनसँगै वडामा कार्यरत कर्मचारी हिँडेपछि बागलुङका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन्। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका वडा कार्यालयमा काम गर्ने कर्मचारीको अभाव भएको हो।

    सदरमुकाममा रहेको बागलुङ नगरपालिकामा ७ जना मात्रै वडा सचिव कार्यरत छन्। १४ वडा रहेको नगरपालिकाका बाँकी ७ वडा सचिवविहीन छन्। ‘केन्द्र तथा प्रदेश र अन्य स्थानीय तहमा समायोजन भएका कर्मचारी हिँडे’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘रहेका केही वडाका सचिवहरू समेत हिँड्ने तरखरमा हुनुहुन्छ। नयाँ कोही आएका छैनन्।’ 

    पाँचवटा वडा रहेको बरेङ गाउँपालिकामा १ जना मात्रै वडा सचिव कार्यरत छन्। उनकै भरमा सबै वडामा पञ्जीकरण दर्ता, चलानी लगायतका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए। ९ वटा वडा रहेको ढोरपाटन नगरपालिकामा २ जना मात्रै सचिव छन्। कर्मचारीको अभावका कारण एक जनालाई चारवटा वडा र अर्का एक जनालाई पाँचवटा वडाको जिम्मेवारी दिइएको छ।

    ‘वडा अध्यक्षहरूले सघाउनु भएको छ। सचिवले नै गर्नुपर्ने कामको जिम्मेवारी दुई जनालाई दिइएको छ’ प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने ‘कर्मचारीको अभावमा वडा कार्यालय कतै वडा अध्यक्षको भरमा छन् भने कतै कार्यालय सहयोगीले काम चलाउनु भएको छ।’

    ६ वडा रहेको तमानखोला गाउँपालिकामा २ जना, ७ वडा रहेको निसीखोला गाउँपालिकामा २ जना, १० वडा रहेको बडिगाड गाउँपालिकामा ३ जना मात्रै सचिवले काम गर्दै आएका छन्। ८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा पनि १ जना मात्रै वडा सचिव कार्यरत छन्।

    प्रायः सबै वडामा सचिव रहेको यो गाउँपालिका कर्मचारी समायोजनपछि खाली भएको हो। सचिव नभएका वडाहरूमा कतै गाउँपालिकाका सहायक कम्प्युटर अप्रेटर त कतै स्वास्थ्य शाखामा काम गर्नेहरूलाई जिम्मेवारी दिइएको छ।

    ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा पनि वडामा खटाउन सकिने कर्मचारीको अभाव छ। समायोजनका बेला स्थानीय तह रोज्ने कर्मचारी कम भएको र केन्द्र तथा प्रदेशमा समायोजन भएर सरुवा हुने क्रम बढेपछि जिल्लामा वडा सचिवको अभाव भएको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतीपचन्द्र सुवेदीले बताए। वडा सचिव नभएका कारण सर्वसाधारणको पञ्जीकरणको काम सबैभन्दा प्रभावित हुने गरेको छ।

    जन्ममृत्यु, बसाइँसराई जस्ता काम सचिवले नै गर्नुपर्ने व्यवस्थाका कारण सर्वसाधारणका काम प्रभावित हुने गरेको काठेखोला गाउँपालिका ५ का वडा अध्यक्ष शिवप्रसाद कँडेलले बताए। चालु आर्थिक वर्षका योजना सम्झौता तथा फरफारकका काम समेत सचिवको अभावका कारण प्रभावित हुने देखिएको छ।

    ‘कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयमा कामको चाप हुने समय हो। यहीँ समयमा कर्मचारीको अभाव छ’ बागलुङ नगरपालिकाका प्रमुख पौडेलले भने ‘आर्थिक वर्ष सकिने बेलामा कर्मचारीको समायोजन र सरुवाका कामले हामी मर्कामा परेका छौं।’ अन्यत्रै समायोजन भएका कर्मचारीले रमाना मागिरहेको भए पनि केही पालिकाले भने रोकेर राखेका छन्।

    सबै सचिव हुने एक्लो पालिका

    दशवटा पालिकामध्ये सबै वडा कार्यालयमा सचिव रहेको पालिका हो जैमिनी नगरपालिका १० वडा रहेको यो नगरपालिकामा ७ वडामा सचिवहरूले काम गरिरहेको र बाँकी ३ वडामा नयाँ सचिव खटाउने काम भइरहेको जैमिनी नगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए। कार्यपालिको कार्यालयमा कर्मचारी घटाएर भए पनि वडा कार्यालयको लागि खटाइएको उनले बताए।

    स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी

    यहाँका केही पलिकाहरूले कर्मचारीको अभाव भएपछि स्वास्थ्य शाखामा काम गर्ने कर्मचारीलाई थप जिम्मेवारी दिएर काममा लगाएका छन्। बडिगाड गाउँपालिका १ मा अहेव यानबहादुर श्रेष्ठ र वडानं. ५ मा सुनिल गुप्तालाई जिम्मेवारी दिएको छ। उनीहरूले स्वास्थ्यचौकी र वडा कार्यालय दुवै कार्यालयको काम सम्पादन गर्दै आएका छन्। स्वास्थ्यचौकी र वडामा आउने सेवाग्राहीको काम उनीहरूले पालैपालो गर्ने गरेका छन्।

    निसीखोला गाउँपालिका ६ मा अहेव जुनी घर्तीले स्वास्थयचौकी र वडा कार्यालयको काम धानेकी छिन भने निसीखोला ४ मा अहेव ताराकुमारी चन्दलाई खटाइएको छ। कार्यालयको काम कारवाहीका लागि सचिवको अभाव रहेका कारण स्वास्थ्य शाखामा काम गर्ने उनीहरूलाई थप जिम्मेवारी दिएर काम चलाइएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए।

    निसीखोला गाउँपालिकाको प्राविधिक काम गर्नका लागि नियुक्त भएका सहायक कम्प्युटर अप्रेटर प्रकाशसिंह धामीलाई पनि दोहोरो जिम्मेवारी दिइएको छ। उनले वडा नम्बर २ को कार्यालयको काम पनि गर्दै आएका छन्। गल्कोट नगरपालिकामा पनि दुई जना वडा अहेवलाई नै जिम्मा लगाइएको छ। ११ वडा रहेको गलकोटमा ५ जना वडा सचिवले ९ वटा वडा हेर्ने गरेका छन भने बाँकी दुई वडामा स्थानीय स्वास्थ्य चौकीका अहेवलाई थप जिम्मेवारी दिएर काममा लगाइएको हो।

    गल्कोट नगरपालिका २ मा अहेव जमुना कार्की र गल्कोट नगरपालिका ११ मा दिलबहादुर श्रीषले स्वास्थ्य चौकीसँगै वडा कार्यालयको काम समेत गर्दै आएका छन्। समायोजन सँगै सुगममा पर्ने कर्मचारी हिँडेको र दुर्गममा पर्ने कतिपय कर्मचारीले अटेरी गरेका कारण वडा कार्यालयहरूमा समस्या भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए। यो अवस्था लामो समय रहन नदिने आफ्नोतर्फबाट पहल थाल्ने उनको भनाई थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]