|
प्रतीकात्मक तस्बिर

सुनसरी : मोरङ उर्लाबारीकी कल्पना वन ४३ वर्ष पुगिन्। उनी कुलपितृलाई चढाउँदा संस्कारअनुसार अलिअलि मदिरा पिउँथिन्। तर, अलिअलि गर्दागर्दै आफूलाई नै भूल्ने गरी लतमा फसेको उनलाई पत्तै भएन। 

कल्पनाका एक छोरा र दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ। एउटी पढ्दै छन्। छोराको पढाइ अघि बढेको छैन। उनको श्रीमान सानोतिनो व्यापार गर्छन्। उनले ‘लिमिट’ले पिउन नसक्दा पुनर्स्थापना केन्द्रसम्म पुगेकी हुन्।

झापा बिर्तामोडकी देवी तामाङ करिब ४३ वर्ष पुगिन्। उनको होटल थियो। त्यहाँ खाना, खाजा र मदिरा पाइन्थ्यो। पसल रहेको रक्सी अलिअलि खाँदा उनी मादक पदार्थको लतमा फसिन्। यतिसम्म किन रक्सी सेवनकै लागि श्रीमान् तथा परिवारका अरु सदस्यलाई छलेर जग्गा धितोमा राखी ऋण निकाल्न समेत भ्याइन्।

कल्पना र देवीजस्तै धरानकी अञ्जु तामाङ पनि मदिराको लतमा फसेपछि सबै कुरा बिर्सन थालिन्। सधैंजसो नशा सेवन र झगडा गरिरहने भएकीले उनलाई पुनर्स्थापना केन्द्रसम्म पुर्‍यायो। यति मात्र होइन, मदिरा सेवनको कारण उपचारका लागि अस्पतालसम्म पुगिन्। ४२ वर्षीया अन्जुको श्रीमान् केही वर्षअघि बिते। उनका दुई छोरा विदेशमा छन्। छोराहरु पढुन्जेल थोरै पिए पनि दुई वर्षदेखि लतमा नै फसिन्। 

गृह मन्त्रालयले सार्वजनिक गरेको एउटा तथ्यांकअनुसार सुनसरीमा लागुऔषध प्रयोगकर्ताहरु साढे सात हजारभन्दा बढी छन्। तथ्यांकअनुसार लागुऔषध प्रयोगकर्ताहरुमा काठमाडौं महानगरपालिका सबैभन्दा धेरै छन्। काठमाडौमा ३६ हजारभन्दा बढी रहेको उल्लेख छ। 

१८ वटा जिल्लामा गरिएको सर्वेक्षणमा प्रदेश १ का १४ जिल्लामध्येमा सुनसरी, मोरङ, झापा र धनकुटामा लागुऔषध प्रयोगकर्ताहरु उल्लेख्य रहेका छन्। प्रहरीले जतिसुकै कडाई गरे पनि लागुऔषध प्रयोगकर्ताले पूर्वको नाका काँकडभिट्टा, विराटनगरको जागेबनी, सुनसरीको भाण्टाबारीको भिमनगर, घुस्की नाकालाई लागुऔषध ओसारपासरको मुख्य मार्ग बनाउको सुरक्षा अधिकारीहरुको भनाइ छ। दुर्व्यसीमा पुरुषसँगै महिलाको संख्या पनि उल्लेख्य छ।

महिला पुनर्स्थापना केन्दको अभाव

प्रदेश १ मा महिला पुनर्स्थापना केन्दको अभाव देखिएको छ। लागुपदार्थ तथा मादक पदार्थ दुव्र्यसनमा फसेकाहरुलाई उपचार गर्न पुनर्स्थापना गर्न संस्थाहरु खोलिने क्रम पनि जारी छ। तर, महिला पुनर्स्थापना केन्द्र नेपालमा एकदम कम छन्। 

प्रदेश १ को झापाको दमक र सुनसरीको इटहरीमा मात्र महिला पुनर्स्थापना केन्द्र रहेको छ। इटहरीमा रहेको जागरण आरोग्य समूहले पुरुष र महिला पुनर्स्थापना केन्द्र सञ्चालन गर्दै आएको छ। यी दुईवटा पुनर्स्थापना केन्द्र पूर्व लागुऔषध सेवनकर्ताहरुले सञ्चालन गरिरहेका छन्। 

सुनसरी र मोरङमा लागूऔषध प्रयोग गर्ने महिलाको संख्या पुरुषकै बराबरमा रहेको छ। १० वर्ष लागूऔषधको कुलतमा फसेकी पूर्वलागुऔषध प्रयोगकर्ता प्रतिभा थापाका अनुसार अहिले पनि घर–घरमा लागूऔषध प्रयोगकर्ता महिलाहरु छन्। स्कुल र कलेजहरुमा लागूऔषध प्रयोग गर्ने युवतीको संख्या ठूलो छ। तर, महिला पुनर्स्थापना केन्द्र अभाव हुँदा उनीहरु उपचारबाट बञ्चित रहेको थापाको भनाइ छ। (समाचारमा उल्लिखित नाम परिवर्तन गरिएको छ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.