आफ्नै बलबुतामा जिन्दगी जिउने लिलु-तिलु

|

बुटवल : तिनाउ पुलको पूर्वीद्वारबाट हाटबजार जान एउटा सिँढी ओर्लिर्नुपर्छ। त्यही सिँढीको छेउमै चारतिर बाँसका खम्बा गाडेर माथिबाट जुटको बोराले छाएको सानो टहरो छ। तर, यही टहरामा कसैको टाउको ओत लागेको छ। हेर्दा सानो टहरो लिलु बुढामगर र उनकी दिदी तिलुको जीवन बिताउने आधार हो। 

कान्छो जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगास्थित तकसेरा गाउँमा जन्मेहुर्केका यी दिदी बहिनीले यही टहरोमा मकै पोल्ने ‘बिजनेस’ चलाएका छन्। बुटवल-५ शान्तिपथमा रहेको सानो डेरामा  बस्ने तीनजनाको परिवारको गुजारा यही टहरोमा मकै पोलेर चलेको छ।

सबल जीवनको खोजमा २०४० सालमा रुकुमबाट पतिको पछि लागेर बुटवल झरिन् हुन् लिलु। पतिले केही वर्ष बुटवल उपमहानगरपालिकामा फोहोर उठाउने काम गरे। त्यतिन्जेल केही राहत थियो उनलाई। तर श्रीमान् रक्सीको कुलतमा फसेपछि जोडेको सम्पत्ति पनि स्वहा भयो। एकछाक खानसमेत धौधौ पर्न थाल्यो। उमेरले बुढेसकाल चढिरहेको जनाउ दिँदै थियो। ‘दिनभर रक्सी खाएर घरमै सुत्थे। कि त छटपटाएर कतै हिँड्थे। के खाने कसरी खाने थाहै थिएन,’ लिलुले भनिन्।

जिन्दगीले कोल्टे फेर्‍यो

केही उपाय नलागेपछि ७ महिना अगाडिको एक बिहान नेपालगन्जरोडको प्रतिक्षालय पारिपट्टी सिँढी नजिकै बाँसका चारवटा खम्बा गाडिन्। उनले खुट्टा टेक्ने भरोसा पनि यिनै चार खम्बामाथि थियो। चार खम्बालाई माथिबाट जुटको बोरा काटेर छाइन्। पानी ओत्न नसके पनि घामका सोझा किरण छेक्न सक्ने टहरो तयार भयो।

पहिलो दिन त्यही टहरोमै बसेर सब्जीमण्डीबाट ल्याएका ८ वटा मकै पोल्न लागिन्। ६ वटा विक्री भए। ‘बिजनेस’को सुरुवात भइसकेको थियो। दोस्रो दिन १० मकै बिक्री भए। त्यसपछि कति बिक्री भए उनलाई याद छैन। तर, त्यस दिनदेखि लिलुले राति भोकै सुत्नुपरेन। 

पहिलो महिना बित्दा दैनिक सरदर ३० वटाका दरले मकै बिक्री हुन थालेको थियो। प्रतिगोटा २५ रुपैयाँमा बेच्दा उनलाई दैनिक ७ सय ५० रुपैयाँका दरले आम्दानी भयो। ‘पहिलो महिनामा १३ हजार रुपैयाँ कमाएकी थिएँ,’ सम्झँदै भनिन् लिलुले। अब जिन्दगीले सजिला सिँढी चढ्न थालेकोमा प्रफुल्ल छिन् लिलु।

दिदीको कथा उस्तै

उता रुकुममा दिदी अविवाहित बसेकी थिइन्। अर्काको घरमा मजदुरी गर्दै बसेकी दिदीलाई आफूसँगै राख्न पाए काममा साथ मिल्ने ठानेर बुटवल बोलाइन्। र, दिदी बहिनीले टहरोमुनि मकै पोल्न थाले। त्यसैबाट गुजारा गरिरहेका थिए, राति भोको पेट सुत्नुपरेको थिएन।

तर सधैँ जीवन कहाँ एकनासको हुन्छ र। दिदीबहिनीको जीवनमा खुसी भरिँदै गरेका बेला बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भए। गत बैशाख ७ गते जितगढी किल्लामा विजयोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री आउने भएपछि भिआइपी सवारीका लागि ‘बाटो खाली गर्न’ उपमहानगरपालिका जुट्यो।

त्यस दिन बिहानैदेखि लिलु नेपालगन्जरोडमा त्यह टहरोमा मकै पोलिरहेकी थिइन्। ९ बजेतिर उपमहानगपालिकाका कर्मचारीले असुरक्षाको कारण देखाउँदै लिलुको जीवन धानिरहेको टहरो फाल्न निर्देशन दिए। तर उनले मानिनन्।

मकै पोल्ने टहरो जोगाउन मानेनन्

दिनभर घाममा मकै पोल्नै सकिनन्। 'टहरो जोगाइदिन बिन्ति गर्दा पनि सुनेनन् कर्मचारीले। भत्काइछाडे’, उनी भन्छिन्। सधैँ साँझ ७ बजेसम्म मकै पोल्ने लिलु त्यसदिन ११ बजे नै दिदीसँगै डेरा फर्किइन्।

कर्मचारीले ठूलो छाता दिने बहाना बनाएर टहरो भत्काएका थिए। तर, त्यो आश्वासन अलपत्र पर्यो। ‘केही दिन पर्ख्यौँ तर छाता पाइएन। अनि यही ठाउँमा अर्को बलियो टहरो बनायौं’, लिलु भन्छिन्। 

उपमहानगर ढाँट्छ

बुटवल उपमहानगरपालिकाका सूचना अधिकृत लेखनाथ पोखरेल यसबारे आफूलाई थाहा नभएको बताउँछन्। भीआइपी सवारी हुँदा उपमहानगरपालिकाले सुरक्षाको उपाय अपनाएको हुनसक्ने बताउँदै पोखरेलले यसमा कमजोरी भएको भए पीडित पक्षलाई निवेदन दिएर प्रक्रियामा आउन सल्लाह दिए।

‘म यस विषयमा अनभिज्ञ छु। तर सुरक्षाका लागि उपमहानगरले टहरा नफालेको भन्न सक्दिन। कोही पीडित हुनुहन्छ भने निवेदन लिएर उपमहानगरपालिकामा आउन आग्रह गर्छु,’ उनी भन्छन्।

लिलु र तिलुले अहिले आफैँले बनाएको ठाउँमा मकै पोलिरहेका छन्। दैनिक ४५ देखि ५० वटासम्म मकै बेच्छन्। विहान ९ बजे आइपुग्छन्। साँझ ७ बजेपछि डेरा फर्कन्छन्। लिलु जीवन गुजार्ने यो काममा बाधा नपुग्ने कामना गर्छिन्। ‘मन्त्री-प्रधानमन्त्री' किन आए गए थाहा छैन। तर मैले दु:ख गरेर बनाएको टहरो भत्काउँदा ५ दिनसम्म गरि खान पाइनँ। सुरुमा त छाता देलान् भन्ने लागेको थियो तर ढाँटे। अब त आस लाग्न छाड्यो,’ उनले भनिन्।

अरुको आस गर्नुभन्दा आफैँ काम गरेर खाँदा धेरै खुसी मिलेको बताउँछिन् उनी। ‘कति आस गरौं। सबै कुरामा आस गरेर पनि त भएन । सबै आफैं गर्ने हो। आफ्नो जिन्दगी आफैँले जिउने हो, दुःख सुखका सिँढी चढ्ने हो ।’ लिलु सुनाउँछिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.