|

ताप्लेजुङ : लिम्बू जातिको पहिचान झल्काउने ऐतिहासिक सामग्रीहरु संकलन गरेर लिम्बु संग्रहालय निर्माण गरिएको छ। सदरमुकाम फुङलिङदेखि १३ कोष उत्तर–पूर्वमा रहेको मामाङ्खेमा २०५७ सालमा संग्रहालय स्थापना भए पनि प्रचारप्रसार र उचित व्यवस्थापन हुन नसक्दा ओझेलमा परेको छ। 

१८१४ र १८३१ सालमा पृथ्वीनारायण शाहले लिम्बुहरुसँग गरेको सम्झौता र गोरखा–लिम्बुवान युद्धमा प्रयोग भएको युद्ध सामग्रीहरु संग्राहलयमा छ। ६०० अघि लिम्बु पुरोहित फेदाङ्माले प्रयोग गरेको पहिरन (जामा, पगरी) पनि सो संग्रहालयमा हेर्न पाइन्छ। यस्तै, लिम्बू जातिले जनमदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गर्ने २०० भन्दा बढी सामग्री संग्रहालयमा राखिएका छन्। 

‘हामीले यो संग्रहालयमा लिम्बू समुदायले प्राचीनकालमा प्रयोग गर्ने सामग्रीहरुलाई संकलन गरेर राखेका छौँ,’ संग्रहालय व्यवस्थापन समितिका एक सदस्य टीका माबोले भने, ‘अझै पनि धेरै सामग्रीहरु संकलन गर्न सकेका छैनौं।’

यस संग्रहायलयको संरक्षण स्थानीयले गर्दै आएका छन्। संग्रहालय कञ्चनजंघा हिमाल जाने पदमार्गमै पर्दछ। यातायातको पहुँच नपुगेको दुर्गम गाउँ भएकाले यहाँ अवलोकनकर्ताहरु धेरै नपुग्ने स्थानीयहरुको भनाइ छ। ‘यातायातको साधन हाम्रो गाउँसम्म आइपुगेको छैन,” माबोले भने, ‘यसैले गर्दा पनि पैदल धाएर अवलोकनकर्ताहरु आउँदैनन्। त्यसो मात्र नभएर प्रचारप्रसारमा पनि कमी भएकाले अवलोकनकर्ता नगन्य मात्रामा आउँछन्।’

सिरिजंगा गाउँपालिकाको विकट मानिने यस वडामा अहिलेसम्म सडक सञ्जालले जोडिएको छैन। यहाँसम्म सडक निर्माण र प्रचारप्रसार भएमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने स्थानीयको अपेक्षा छ। समितिले संग्रहालयको प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरिरहेको छ। चालु आर्थिक वर्षमा वडा कार्यालयबाट विनियोजन भएको ८० हजार रुपैयाँले ब्रोसर बनाएर प्रचार गर्ने समितिको योजना छ। 

‘संग्रहालयको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि हामीले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर अगाडी बढ्ने योजना बनाएका छौं,’ ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद योगेश भट्टराईले भने, ‘लिम्बूहरुको एतिहासिक तथा पुरात्वातिक महत्त्व बोकेको संग्रहालयलाई प्रवद्र्धन गर्ने लागिपरेका छौं।’

संग्रहालय लिम्बु इतिहास र संस्कृतिको अध्ययनकर्ताहरुका उपयुक्त गन्तव्य रहेको प्रजिन हाङ्बाङ् बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.