स्थानीय पुरुषले दिए मार्नेसम्मको धम्की

|

जनकपुर: जनकपुरको उखरमाउलो गर्मी। बिहानै पनि पसिनाले निथ्रुक्क भिजाउँछ। गर्मी भए पनि बिहान ७ बजे वरिपरि जानकी मन्दिर आसपास मान्छेहरूको भिड देखिन्छ। त्यो भीडमा कोही मन्दिर दर्शनका लागि आएका मान्छे छन् त कोही मानिसहरूको भीडनजिकै आफ्नो व्‍यापार व्‍वसाय चलाउन।

जानकी मन्दिरको पश्चिमपट्टिको गेटमा ३० वर्षकी एक महिला निमको डाँठ बिक्री गरिरहेकी भेटिइन्। उनको हरेक दैनिका बिहान त्यहीँ कट्छ। उनी हुन लालमती। नीमको डाँठ त्यहाँका मानिसहरूले दाँत माझ्न प्रयोग गर्छन्। मैले आफ्नो परिचय दिएर उनीसँग केहि कुरा गर्न खोजेँ।

लालमतीको पीडा, छैन कसैको साथ

मैले सोध्न खोजेभन्दा उनले भिन्न कुराहरू सुनाइन्। जुन कुरा उनको मनमा गुम्सिएर बसेको रहेछ। ‘हजुर त पत्रकार हुनुहुँदो रहेछ मिल्छ भने म एउटा कुरा भन्छु,’ उनले थपिन् ‘हामीलाई यहाँ यसरी व्यापार गर्न पनि साह्रै समस्या छ। केटा मान्छेले हेप्छन्। मुख देखाएर खुल्ला बोल्न पाइँदैन। म यसको विरोधमा छु। त्यै भएर घरमै पनि कति गाली खान्छु खान्छु।’

स्थानीय पुरुषहरूले दिए मार्नेसम्मको धम्की

जनकपुर महिलाहरू पछि परेको, महिलाहरू हेपिएको दबिएको ठाउँ भएको उनले सुनाइन्। लालमतीले जसोतसो ८ कक्षा सम्म पढेकी छन्। तर, त्योभन्दा धेरै उनका परिवारले पढाउन मानेनन्। उनका दुई दाजु छन्। ठूलो दाजु काठमाडौंमा जागिरे छन्।

अर्का दाजु जनकपुरमै व्‍यापार गर्छन्। उनीहरू दुवैले उच्च शिक्षा हासिल गरेका छन्। महिला तथा बालिकाहरूलाई साह्रै हेप्ने प्रवृत्तिविरुद्ध लड्न भनेर लालमतीले जनकपुर महिला जागरण नामको संस्था खोलेको दुई वर्ष पनि भएको छैन। तर, त्यो संस्था नाममा मात्र सीमित भयो।

स्थानीय पुरुषहरूले मार्नेसम्मको धम्की दिएपछि त्यो त्यसै सेलायो। १६ वर्षमै बिहे गरेकी लालमतीका दुई छोरी र एक छोरा गरी तीन सन्तान छन्। छोरीहरूले आफ्नो जस्तो पीडा नभोगून् भन्ने उनको चाहना छ।

‘संस्था खोलेर महिलाहरूलाई जागरूक बनाउन भनेर लागेका थियौँ,’ उनले भनिन्, ‘गाउँका जान्नेबुझ्ने भन्नेहरु नै हामीलाई संस्था खारेज गर्न भन्दै धम्की दिन थाले। मेरो यो योजनामा साथ दिनेहरूलाई मार्नेसम्मको धम्की दिए।’ यति हुँदा पनि लालमतीले हिम्मत हारेकी छैनन्। तर, साथ दिने कोही छैन।

सरकारसँग केही आशा

प्रदेश-२ को सरकारसँग लालमतीको आशाका पोका टन्नै छन्। उनको सबैभन्दा धेरै भरोषा महान्यायधिवक्ता दीपेन्द्र झासँग छ। ‘हाम्रो यहाँको प्रदेश सरकारको वकिल हुनुहुन्छ नी दीपेन्द्र झा उहाँले केही गर्नुहुन्छ भन्ने आशा छ,’ उनले भनिन्, ‘उहाँले नै भनेपछि मुख्यमन्त्रीले बेटी बचाऊ, बेटी पढाऊ अभियान ल्याउनुभएको रे। उहाँसँग भेटेर मेरो योजना सुनाउने मन छ।’

नाम भन्न हुँदैन

जनकपुरमा महिलाहरूले बाहिरका कसैले नाम सोधे भने पनि भन्दैनन्। ‘यहाँ सोध्नुस् कुनै पनि महिलाले नाम भन्दैनन्। कसैले केटीहरू, महिलाहरूसँग गफ गरेको नाम सोधेको थाहा पाए यहाँका युवाहरू उर्लिएर कुट्नै आउँछन्।’

साँझ ५ बजेबाट बाहिर हिँड्न बन्द

नाम भन्न मात्र नपाउने हैन। जनकपुरका महिलाहरूले साँझ पाँच बजेपछि जति नै महत्वपूर्ण नै काम भए पनि बाहिर निस्कन पाउँदैनन्। बाहिर निस्केको थाहा पाए घरका मानिसहरूको नराम्रो हप्की खानुपर्छ। कसैले कुटाइ पनि खाने गरेको लालमतीले सुनाइन्। ‘हामीलाई साँझ पाँच बजेतिरबाट बाहिर हिँड्न पनि वञ्चित छ,’ उनले दु:खी हुँदै भनिन्, ‘पहाडबाट झरेर यहाँ व्‍यापार चलाएर बसेका परिवारका महिलाबाहेक यहाँका स्थानीय महिला बाहिर हिँड्नै पाउँदैनन्। बाहिर हिँडेको थाहा पाए घरका मानिसहरुले कुटपिटसमेत गर्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.