प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

थाहा संवाद

आवश्यक पर्‍यो भने चुनावमा भाग लिन्छौं : मोहन वैद्य
SHARES

माओवादी केन्द्रसँग एकता टाढाको कुरा भइसक्यो

मंसिर २८, २०७३

    ७० बर्षको उमेरसम्म पनि लाभको पदमा नरहेका र अझै जनवादी क्रान्तिको आबश्यकता देख्ने मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष हुन्। उनी अहिलेको राज्यसत्ताले जनताका आधारभूत समस्यापनि समाधान गर्न नसकेकोले नयाँ जनवादी क्रान्तिको आबश्यकतामा भएको बताउँछन्। आफू बाँचुञ्जेल निरन्तर क्रान्तिको कुरा गर्ने र त्यसलाई निष्कर्षमा पुर्‍याउने तिर लागिरहने उद्देश्यका साथ क्रान्तिकारी पार्टी निर्माणमा लागी परेका बैद्यसंग नेकपा क्रान्तिकारी माओवादीको भावी रणनीतिका बिषयमा थाहासंचार नेटवर्कका देवीराम देवकोटाले गरेको कुराकानी :

    हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तपाईले भेट गर्नुभयो। भेटमा के कुराकानी भयो?

    खास गरिकन यो समसामयिक राजनीतिका बारेमा कुराकानी भएको थियो। संसदमा पेश भएको संशोधन विधेयक र निर्वाचनका बिषयमा पनि कुराकानी उठिराख्या छन्, पार्टीहरुका बीचमा भइरहेका बहस र विवाद लगायतका बिषयमा मैले प्रधानमन्त्रीसंग जिज्ञासा राखेको थिएँ।

    अनि प्रधानमन्त्रीले के भन्नुभयो?

    उहाँले अब संविधान संशोधनको प्रक्रियामा लागिएको  छ। सहमति बनाउनेतिर मैले प्रयास गर्छु। सहमति बनेन भनेपनि यो अब फिर्ता हुन्न, संगै मैले चुनावको कुरा पनि अगाडि लगेको छु। यी सबै कुरामा मैले गम्भीरतापूर्वक ध्यान दिएको छु भनेर कुरा गर्नुभएको थियो। मैले खाली यी बिषयमा जिज्ञासा मात्रै राखेको हो। मैले यसो गर्नुहोस्, उसो गर्नुहोस् भन्ने कुरा भएन।

    पार्टी एकताका बिषयमा तपाईहरुबीच कुरा भएन?

    अहँ। यो बिषयमा त कुराकानी भएन, तर मिडियामा यसबारे कुराकानी भयो भनेर आयो। यो कसरी आयो मैले बुझ्न सकिन । अहिले हाम्रो यस बिषयमा कुराकानी नै भएन। हुने कुरा पनि भएन। किनकी अहिले यो सम्भव नै छैन।

    किन यस बिषयमा कुराकानी नभएको तपाईहरुको?

    म यस बिषयमा कुराकानी गर्न गएको पनि होइन। हाम्रो पार्टीको नीति अहिले माओवादी केन्द्रसंग पार्टी एकता गर्ने भन्ने पनि छैन। हाम्रो सच्चा क्रान्तिकारीहरुबीच एकता गर्ने भन्ने नीति त छ तर अब माओवादी केन्द्रसंग एकता गर्ने भन्ने कुरा विचारसंग, कार्यदिशासंग जोडिएको बिषय छ। यसरी हेर्दाखेरी त अब माओवादी केन्द्रसंग र हाम्रो बीचमा धेरै लामो दूरी छ। त्यसकारणले अहिले माओवादी केन्द्रसंग एकता गर्ने कुरा सम्भव पनि छैन र यस बिषयमा कुरा गर्ने कुरा पनि भएन भन्नुस्।

    सिद्धान्त र विचारले भन्दा पनि यहाँहरुको बीचमा त मनको फाटो भएर विभाजित भएको होइन र?

    त्यो होइन। यहाँ सिद्धान्त र विचारकै कुरा हो। जगजाहेरै छ, माओवादी केन्द्रका साथीहरुले अब जुन राजनीतिक लाईन लिनुभएको छ, खासगरि यो बर्तमान सत्ता र व्यवस्थालाई बचाउने खासको काम गरिरहनुभएको छ। यो सिद्धान्ततः गलत खालको राजनीति हो। उहाँहरुसंग अहिले मिल्ने खालको स्थिति छैन। हो निश्चित रुपमा माओवादी केन्द्रभित्र राम्रा साथीहरु पनि हुनुहुन्छ, क्रान्तिकारी साथीहरु पनि हुनुहुन्छ त्यो अलग कुरा हो।

    सच्चा क्रान्तिकारी गोलबन्द हुनैपर्छ। त्यो साँचो कुरा हो। तर वर्तमान लोकतान्त्रिक गणतन्त्र, जुन एउटा संसदीय व्यवस्था हो, यो व्यवस्थालाई स्थापित गर्ने, संविधानको कार्यान्वयन गर्ने दिशातिर गइरहनुभएको छ। जबकी यो संविधान जनताको संविधान होइन, पुरानै वर्गको संविधान हो। त्यसकारण यसको बिरोधमा संघीय जनगणतान्त्रिक संविधानको तयारी गर्नुपर्छ। त्यो संविधानको तयारीका लागि फेरि आन्दोलनको आवश्यकता छ भन्ने हाम्रो पार्टीको सोच छ। त्यो भएर हाम्रो मूलभूत कुराहरु मिल्दैनन्। त्यसैले पार्टी एकता हुन सम्भव छैन।

    त्यसो भए कस्तो खालको आन्दोलन गर्नुहुन्छ?

    देशमा राष्ट्रियताको रक्षा, जनताको जनतन्त्र र जनजीविकाका आधारभूत समस्या समाधान गर्नको निम्ति हामीले लामो समयदेखि आन्दोलन गर्दै आयौं। कम्युनिष्ट आन्दोलनको इतिहास पनि लामो भैसकेको छ। तर अन्तमा आउँदा १० बर्षको जनयुद्ध, शान्ति प्रक्रियापछि पनि पुरानै वर्ग हावी भयो। दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग, सामन्त वर्गका बिरुद्ध हामीले संघर्ष गर्दै आइरहेका थियौं। अहिले पनि राज्यसत्तामा त्यही वर्ग हावी छ। जनताको सत्ता छैन। हामीले संसदीय व्यवस्थाका बिरुद्ध संघर्ष गरेका थियौं। अहिले पनि त्यही छ। केही कुरा जस्तो संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष जस्ता कुराहरु त सकारात्मकै छन्। तर पनि समग्रमा राज्यसत्ता पुरानै वर्गको हातमा छ। त्यसैले हामीले जनताको राज्यसत्ता स्थापनाको लागि हामीले आन्दोलन र संघर्षको  कुरा गरेका छौं।

    कस्तो संघर्ष हो तपाईहरुको?

    नयाँ जनवादी क्रान्ति पुरा भएकै छैन। त्यसैले समाजवादमा पुग्न नयाँ जनवादी क्रान्तिको आवश्यकता छ। माओवादी केन्द्रका साथीहरुले नयाँ जनवादी क्रान्ति पूरा भयो भनेर भन्नुहुन्छ। हामीले यो पूरा भएको छैन भन्छौं। उहाँहरुले राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने कुरा गर्नुहुन्छ। हामीहरु राजनीतिक क्रान्ति पूरा भएकै छैन भन्छौं। किनभने सत्तामा बसेका अहिलेका दलहरुले कुनै पनि हालतमा आर्थिक क्रान्ति गर्नै सक्दैनन्। त्यसो हुनाले अहिले राजनीतिक क्रान्तिकै आवश्यकता छ, आर्थिक क्रान्ति र सांस्कृतिक क्रान्तिको पनि आवश्यकता छ। त्यसैले अहिले नयाँ जनवादी क्रान्ति गरेर समाजवादमा जाने हो।  नयाँ जनवादी क्रान्तिका लागि हामीले संघर्ष गर्नुपर्छ भनेका हौं।

    तपाई कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भएको पनि झण्डै ४ दशक बितिसकेको छ। यो अबधिमा तपाईले २०३६ सालको जनमत संग्रह, ४६ सालको जनआन्दोलन, ५२ सालको जनयुद्ध , ६२–६३ को जनआन्दोलन मार्फत गणतन्त्र स्थापना भएको कुरा भोगिसक्नु भएको छ। अहिले पनि तपाई फेरि नयाँ जनवादी क्रान्तिकै कुरा गर्नुहुन्छ? यो बाहेक अर्को सोच्न सकिदैन?

    नयाँ जनवादी क्रान्ति पूरा भएकै छैन। पूरा भएको भए त राष्ट्रिय स्वाधीनता रक्षा, सत्तामा जान दिल्ली दरबार ताक्ने कुरा नै आउँदैनथ्यो। जलश्रोतको धनी हाम्रो मुलुकमा पानी किन्नुपर्ने अवस्था छ। अपर कर्णाली निर्यातमुखी योजनाका साथ विदेशीलाई दिइएको छ। यी चीज त यथावत नै छन्। जनजीविकाका समस्याहरु उस्तै छन्। मुलुकमा भ्रष्टाचार व्याप्त छ। संसदीय व्यवस्थालाई नयाँ जनवादी क्रान्ति गर्नेले त स्वीकार गर्न सक्दैन त। संसदीय व्यवस्था दुनियाँमा असफल भैसकेको छ र त्यसका विरुद्ध जनवादी क्रान्ति गर्नैपर्छ। साँचो कुरा जनताको सत्ता आएकै छैन।  सत्तामा त पञ्चायतमा पनि तिनै थिए। ४६ मा पनि तिनै थिए। जनयुद्ध र जनआन्दोलन पछि पनि तिनै छन्। त्यसैले जनताको सत्ता नआएसम्म क्रान्ति त गर्नैपर्छ। तब मात्रै समाजवादमा जाने हाम्रो सोच हो।

    समाजवादको कुरा त सबैले गरिरहेका छन् । प्रचण्ड, बाबुराम , विप्लव सबैले यही कुरा गरिरहेका छन् नि। सबैले यही कुरा गरिरहँदा पार्टी किन फरक फरक?

    समाजवाद धेरै किसिमका छन्। भन्न त उहाँहरुले समाजवाद भन्नुभएको छ। तर उहाँहरुको समाजवाद सुधारवादी हो। भन्न त कांग्रेसले पनि समाजवादको कुरा गरेको छ नि। तर ती सबैले सुधारवादी समाजवादका कुरा गरेका हुन्। हामीले त्यस्तो समाजवादको कुरा गरेका होइनौं। हामीले भनेको वैज्ञानिक समाजवाद हो। जो अरुहरुले भनको भन्दा फरक हो।

    तपाईको वैज्ञानिक समाजवाद कस्तो हो त?

    हाम्रो समाजवाद भनको वर्ग संघर्षको एउटा निष्कर्ष हो। हामीले स्थापना गर्ने समाजवादमा जनताको शासन हुन्छ। जनताका हक अधिकार स्थापित हुन्छन्। राज्यसत्तामा पुरानो वर्गको अधिकार हुँदैन, तल्लो वर्गका जनता, अझभन्दा सर्वहारा वर्गका जनताको हक अधिकार हुन्छ र जनताका प्रतिनिधिहरु आउने हुन्छन्। त्यसैले हामीले गरेको वैज्ञानिक समाजवाद र अरुले गरेको वैज्ञानिक समाजवादमा फरक छ भन्नुस्।

    जनताका प्रतिनिधिहरु त अहिले पनि  सत्तामा गएका छन् नि? तपाईहरुसंगै संघर्ष गरेका नेता कार्यकर्ता सत्तामा छन् नि?

    उनीहरु त छन् तर जनताका कामहरु गर्नुपर्‍यो नि उनीहरुले। उनीहरुले पुरानै तरिकाका कामहरु गर्दै गएका छन्। त्यहाँ पुरानै राज्यसत्ता छ, जसका कारण पुरानै तरिकाले काम गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा रुपमा राज्यसत्ताको वकालत नगरेर सारमा बुझ्नुपर्ने हुन्छ। सारमा नबुझ्ने रुपमा बुझ्ने प्रवृत्ति गलत हो।

    यस्तो प्रवृत्तिको विरुद्धमा लड्न विभाजित भएका माओवादीहरु एक हुनु पर्दैन त?

    एक हुनुपर्छ तर क्रान्तिकारीहरु एक हुने हो। अब सबै संग त गाह्रो हुन्छ एकता गर्न। किनभने भेडा भेडातिर, बाख्रा बाख्रातिर भनेजस्तै क्रान्तिकारी क्रान्तिकारीबीच ध्रुवीकरण हुनुपर्छ। हामीले यसको पहल गरिहेका छौं।

    यसको नेतृत्वले तपाईले गर्नुहुन्छ अब?

    कुशल नेतृत्व त वर्ग संघर्षले जन्माउने हो। नेतृत्व गर्नुपनि पर्छ र जनताले पनि साथ दिएर नयाँ नेतृत्व आउने हो।

    तपाई अन्तरसंघर्षमा कहिल्यै पनि अल्पमतमा नपरेको मान्छे नेतृत्वमा आएपछि अल्पमतमा पर्नुभएको छ। ४१ सालमा महामन्त्री बन्नुभयो, तर ४२ सालमा मोहनविक्रम सिंहले अर्को पार्टी बनाउनुभयो। ६८ मा फेरि प्रचण्ड संग छुट्टिएर जानुभयो। तपाईलाई साथ दिने विप्लवले छोड्नुभो, फेरि वादलले पनि छोड्नु भो। यस्तो अवस्थामा तपाईले फेरि कसरी नेतृत्व गर्न सक्नुहोला?

    नेतृत्व गर्दा कहिले अल्पमतमा पर्ने कहिले वहुमतमा पर्ने त भइहाल्छ। अल्पमतले बहुमतको निर्णय मान्नै पर्छ भन्ने पनि होइन। बहुमतले पेल्ने पनि होइन। यस्तो कुरा पार्टीमा हुन्छ नै। तर मैले भनेको नेतृत्व एउटा टिमबद्ध निमार्ण गर्ने भन्ने हो। यस्मा म मात्रै होइन, आन्दोलनले थुप्रै साथीहरुलाई जन्माएको छ। यही आधारमा नेतृत्व गर्ने हो। अर्को कुरा, म आफु बाँचुञ्जेल निरन्तर क्रान्तिको कुरा त गर्न छोड्दिन। निरन्तर क्रान्ति र वर्ग संघर्षको कुरा त यो मार्क्सवादको गुदी कुरा हो।

    अब अन्त्यमा, सरकारले एक वर्षमा स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गर्ने स्थिति आयो भने तपाईको पार्टी निर्वाचनमा जान्छ कि जान्न?

    यसका दुईटा कुरा छन्। सैद्धान्तिक रुपमा भन्दा चुनावको प्रश्न एउटा कार्यनीतिको कुरा हो। त्यसका आवश्यकता अनुसार उपयोग पनि गर्न सकिन्छ। बहिष्कार पनि गर्न सकिन्छ। तर यो कुरा त्यतिबेलाको परिस्थितिले के गर्दा उपयुक्त हुन्छ त्यो आधारमा पार्टीले निर्णय गर्छ। आवश्यकता पर्‍यो भने चुनावमा भाग लिन पनि सकिन्छ। बहिष्कार पनि गर्न सकिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]