|

उदयपुर : रोजगारीको सिलसिलामा मलेसिया गएका एक युवा डेढवर्षदेखि सम्पर्कविहीन छन्। उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरका प्रदीपकुमार चौधरी डेढ वर्षदेखि सम्पर्कमा नरहेका हुन्।

सम्पर्कविहीन चौधरीको परिवारले उनको खोजीका लागि पहल गरिदिन सरकारी निकाय गुहारेका छन्। मलेसिया पुगेको केही समयसम्म आफूसँग फोन सम्पर्कमै रहेको छोरो ०७४ साल मंसिर ४ गतेदेखि सम्पर्कविहीन भएको आमा सन्ध्यादेवी चौधरीले बताइन्। ‘घर परिवारसँग सम्पर्कमै छैन,’ उनले भनिन, ‘मरेको बाँचेको समेत थाहा छैन, खोजिदिनु पर्‍यो।’

बसुन्धरास्थित पिजन ओभरसिज प्रालिबाट मलेसिया गएका सम्पर्कविहीन चौधरी मलेसियाको डब्ल्यूसीटी कन्स्ट्रक्सन एसडीएन बीएचडी कम्पनीमा कार्यरत थिए। सो कम्पनीमा तीन वर्षे कार्यकाल पूरा गरेर २०७४ असारमा घर आएर उनी पुन: मंसिरमा गएका थिए। पछिल्लो पटक गएको केही समयपछि उनी सम्पर्कविहीन भएको बुवा सीताराम चौधरीले बताए। ‘घरमा सम्पर्क गर्न छाडेपछि उनको खोजी कार्य सुरू गरेका छौ,’ वुवा चौधरीले भने, ‘तर अहिलेसम्म उनी भेटिएका छैनन।’

खोजी गर्ने क्रममा वैदेशिक रोजगार प्रवर्धन बोर्डमा समेत निवदेन दिएको उनले बताए। बोर्डले पहल गर्दा मलेसियाका जेल र सेल्टरमा प्रदीपकुमार चौधरी नामको कुनै पनि व्यक्ति नरहेको जानकारी आएको बुबा सीतारामको भनाइ छ। 

त्यसैगरी मलेसियामै काम गर्ने उदयपुरका एकजनाको सहयोगमा प्रदीपले काम गर्ने कम्पनीमा समेत खोजी कार्य गरिएको थियो। ‘कम्पनीको गार्डले जानकारी दिएअनुसार उनले ८\१० महिनादेखि नै कम्पनी छाडेर अन्यत्र गएको खबर आयो,’ उनले भने, ‘छोरो वेपत्ता नै भयो।’

फेसबुक म्यासेन्जर, इमो र भाइबरमा नियमित कुरा गर्ने श्रीमान् डेढ वर्षदेखि सम्पर्कमा नरहेको श्रीमती कुन्तादेवीको भनाइ छ। ३२ वर्षीय प्रदीपका १३ वर्षका एक छोरी र ८ वर्षकी एक छोरा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.