|
फोटो : रासस

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफैँमाथि न्याय गर्न नसकेको बताएका छन्।

आइतबारबाट सुरु भएको प्रि-बजेट छलफलमा भाग लिँदै डा. भट्टराईले बजेटका सिद्धान्त र प्राथमिकता तय गर्ने क्रममा अर्थमन्त्री डा. ले अल्छी गरेको भान भएको धारणा राखे।

डा. भट्टराईले भने, 'बजेटका सिद्धान्त र प्राथमिकतामा विद्वान अर्थमन्त्रीले आफैँमाथि न्याय गर्नुभएको जस्तो देखिएन।'

डा. भट्टराईले अगाडि भने, 'बजेटका प्राथमिकता र सिद्धान्त लेख्ने बेला समयको अभाव वा इच्छाशक्तिको अभावले हो अर्ध निद्रामा भएको मान्छेले हाइ काढ्दै निबन्ध लेखेको जस्तो आयो। नविनता, सरसता, तीव्र ढंगले दिशाबोध गर्ने प्रतिबद्धता छैन। खाली कर्मकाण्डी प्रकारको दस्तावेज जस्तो आयो। बिरालो बाँधेर श्राद्ध गर्ने मात्रै विधि हुन्छ कि भन्ने चिन्ता लागेको छ।'

'अलि समय लिएर जाँगर चलाएर दस्तावेज चलाउनु भए उहाँको र हाम्रो पनि सम्मान हुन्थ्यो', डा. भट्टराईको सुझाव थियो, 'हाम्रो अर्थतन्त्र तीव्र तवरले विकास भएको देखिन्छ तर यो रोगको कारणले मोटाएजस्तो देखिन्छ।'

पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले बजेटका प्राथमिकता र सिद्धान्त पेश गर्नु पहिले नै सरकारले नीति तथा कार्यक्रम जारी गरेकोमा पनि असन्तुष्टि पोखे। उनले भने, 'प्रक्रिया नमिलेजस्तो लागेको छ। सरकारको नीति तथा कार्यक्रम आएर पारित भइसकेको छ। त्यसले बजेट लगायत सरकारका वर्षभरीका कार्यक्रम आइसेका छन्। सांसदहरूले कुरा राख्न पाएर नीति तथा आएको भए सुझाव समेटिएको भए हुन्थ्यो। यो उल्टो भयो भन्ने लागेको छ।'त्यसैगरी, संघीयताको कार्यान्वयन पूर्ण ढंगले भइनसकेको पनि भट्टराईको भनाइ थियो। उनले प्रदेश र स्थानीय तह निरीह ढंगले अगाडि गइरहेका बेला सघींयता कार्यान्वयन पूर्ण रूपमा भइसकेको भन्न नमिल्ने बताए।

'संविधान संशोधनको अवस्था नरहेको भनेर दम्भपूर्ण ढंगले राखियो यो सही होइन। संविधान संशोधन गरेर अगाडि बढेन भने दिगो शान्ति हुँदैन। दिगो शान्ति नभएसम्म विकास सम्भव छैन', डा. भट्टराईको भनाइ थियो। उनले सुशासनमा पनि सरकारले ध्यान दिनुपर्ने धारणा राखे। उनले वैदेशिक लगानी यो वर्ष कम आएकाले पनि गम्भीर भएर अगाडि जानुपर्ने धारणा राखे।

यो पनिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.