|
प्रतिकात्मक तस्‍वीर

सुनसरी : जिल्लाको इटहरी क्षेत्र निवासी एकजना महिलाका श्रीमानको कमाइले सामान्य जीवन चलेकै थियो। तर, श्रीमानको मृत्यु भएपछि उनीसँग नत कुनै सीप छ नत घर व्‍यवहार चलाउने उपार्जनको कुनै माध्यम नै। आर्थिक उपार्जनको कुनै माध्यम नै नभएपछि उनीमाथि घरेलु हिंसा सुरु भयो।

हिंसाविरुद्ध बोल्ने हिम्मत उनमा आएन। न्याय माग्न कतै जाँदा पनि दुई/चार रुपैयाँसमेत उनको साथमा हुँदैन्थ्यो। तर, यो अवस्था धेरै वर्ष भने रहेन। जब उनले महिला सीप विकास केन्‍द्रबाट सीप सिकेर आयआर्जन गर्न थालिन त्यसपछि उनको अहिले जीवन नै फेरिएझैँ भएको छ।

सीप नभएकै कारण घरेलु कामदार

वैदेशिक रोजगारका क्रममा ठगिन पुगेकी सुनसरी भरौलकी भारती गौतममा पनि अहिले निकै परिवर्तन आएको छ। उनले पनि महिला अधिकारको क्षेत्रमा काम गर्ने एक संस्थाबाट सिलाइकटाइ सम्बन्धी तालिम लिएपछि अहिले उनको कमाइ निकै राम्रो छ। चार वर्षअघि उनी वैदेशिक रोजगारीका क्रममा कुवेत गइन्। दुई छोराछोरी श्रीमानलाई छोडेर कुवेत हानिएकी भारतीले हातमा कुनै सीप नभएर कुवेतमा त्यत्तिकै बस्नुपर्‍यो।

केही काम नपाएर घरेलु कामदारको रूपमा काम गर्दा उनले त्यहाँ निकै हिंसा सहनुप्यो। अन्तत अनेक कठिनाइका बाबजुद उनी नेपाल फर्कन सफल भएकी थिइन्। त्यहाँ काम गर्न नसक्नु र हिंसा सहनुको मुख्य कारण थियो उनमा सीप नहुनु। तर, नेपाल फर्किएपछि सीप सिकेर काम गर्न थाल्दा आफूमा व्‍यापक परिवर्तन आएको उनको दाबी छ।

महिलाहरुमा सीप नहुँदा हिंसाको सीकार बन्ने गरेको प्रशस्त उदाहरण समाजमा भएको उनले सुनाइन्। सीप नभएपछि महिलाहरु आर्थिकरूपमा सबल नहुने र उनीहरूमाथि अनेक हिंसा घट्ने उनको अनुभव छ। धेरैजसो महिलाको हातमा आर्थिक कारोबार हुँदैन। घरका पुरुषले खटाएर दिए भने दिए नत्र उनीहरूलाई दुई/चार रुपैयाँ पनि खर्च गर्ने अवस्था आयो भने गाह्रो हुने इटहरी खनारकी महिला कल्पना कार्कीको अनुभव छ।

यस्तै, सुनसरीको बर्जु गाउँपालिकाकी अर्की एकजना महिलाको सबै घरव्‍यवहार श्रीमानकै हातमा थियो। सारा सम्पति पनि श्रीमानकै नाममा। श्रीमानले त्यो सबै जाँड रक्सीमा उडाए। अहिले के खाऊ के लाऊको अवस्था मात्र होइन हिंसा पनि सहेर बस्नुपरेको छ। केही गरौँ भने उनमा कुनै सीप छैन। कुनै सीप नभएको आर्थिकरूपमा सबल हुन नसकेको उनको दु:खेसो छ।

उल्लिखित समस्या महिलाहरूका केही प्रतिनिधिमूलक मात्र हुन्। समाजमा यस्ता धेरै महिला अझै छन्।  उनीहरु आर्थिक तथा सामाजिकरूपमा सबल बन्न नसक्दा हिंसा सहेर बस्न बाध्य छन्। सामाजिक तथा आर्थिक अवस्थाले पनि महिला हिंसालाई प्रत्यक्ष प्रभाव पारिरहेको मानवअधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराई बताउँछन्।

महिलाको अवस्था आर्थिक तथा सामाजिकरूपमा सबल बन्न नसक्दा अझै पनि महिला हिंसाको सिकार बनिरहेको भट्टराईको भनाइ छ। महिलाको अवस्था आर्थिक तथा सामाजिकरूपमा सबल बन्न नसक्दा अझै पनि महिला हिंसाको सिकार बनिरहेको घटना प्रशस्तै आफूले पाएको भट्टराईइले सुनाए।

महिलाहरूलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन जरुरी

सुनसरीमा सरकारी तथा गैरसरकारी संस्थाहरूले महिलालाई आर्थिकरूपमा सबल बनाउनकै लागि विभिन्न सीपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाइरहेका छन्। तर, धेरै महिला यसको पहुँचमा पुग्न नसक्नु समस्या विद्यमान रहेको गुनासो बढेको छ। उनीहरूमा पहुँच पुर्‍याउन स्थानीयस्तरमै महिलाको आर्थिक सशक्तीकरणका लागि योजना बनाएर अघि बढ्नुपर्ने इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल बताउँछिन्।

उनी भन्छिन्, 'आफूसँग केही सीप हुँदा आर्थिकरूपमा सशक्त हुन सकिन्छ र हिंसाविरुद्ध आवाज उठाउन सहज हुन्छ।' आर्थिकरूपमा सबल हुनेतर्फ लाग्न महिलाहरू स्वयं अग्रसर हुनुपर्ने उनको सुझाब छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.