जग्गा कब्जा गर्नेलाई नेताहरूकै संरक्षण

|

प्युठान : प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीको जग्गामा भूमाफियाले रजाइँ गरेका छन्।  एक हजार बिघाभन्दा धेरै जग्गा भूमाफियाको कब्जामा गएको हो। लाजुपर्जा मालिक स्वर्गद्वारी आफ्नो सम्पत्तिमा अरूको रजाइँ टुलुटुलु हेरेर बस्न विवश छ।

रोल्पाको रुम्टीगढीका बालतपस्वी नारायण गौतम (सन्यासपछि हंसानन्द गिरी) ले अखण्ड महायज्ञ लगाएपछि अग्नि कुण्ड अझै बलिरहेको छ । तर त्यही महायज्ञको भेटीबाट जोडेको सम्पत्तिमा भने भूमाफियाले दाइँ गरेका छन्। 

लालपुर्जा आश्रमको, रजाइँ भूमाफियाको

बाल तपस्वी नारायण गौतमले वि.सं. १९५२ को बैशाखे पूर्णेमा लगाएको यज्ञलाई अखण्ड राख्‍न आश्रम बनाइयो। अखण्ड महायज्ञ र द्वापर युगका पञ्चपाण्डव स्वर्ग गएको ढोकाका रुपमा लिने स्वर्गद्वारी हेर्न नेपाल र भारतका लाखौँ पर्यटक वर्षेनि आउन थाले । त्यही भेटीबाट स्वर्गद्वारी आश्रमको नामका जग्गा जोडियो।

१९९७ मा देहवसान भएका तपस्वी गौतमले प्युठान र दाङका जग्गाबाट एक हजार सात सय ९३ क्‍विन्टल धान, ४ सय भन्दा बढी क्‍वीन्टल तोरी फलाउँथे। आश्रममा पालिएका गाई त्यहीँको पराल खाएर फस्टाउँथे। स्वर्गद्वारी आश्रममा एक हजार भन्दा धेरै गाई पालन गरी दूध, दही, र घ्युबाट अखण्ड यज्ञ गरिएको थियो। तर अहिले ती जग्गा आश्रमको नाममा मात्रै छन्, रजाइँ भने अरुले गरेका छन्।

'आश्रमकै नाममा लालपूर्जा छ तर हकभोग भने व्यक्तिले गरिरहेका छन्,' स्वर्गद्वारी आश्रमका प्रशासन प्रमुख हरि अधिकारीले भने, 'आश्रमको नाममा रहेको जग्गाको बर्षेनि कर तिरिरहेका छौं । तर २४ वर्षदेखि आयस्ता शून्य छ।' 

मोही किसानले बर्षेनि बुझाउनुपर्ने कुत नदिँदा आश्रम संकटमा पर्दै गएको छ। आश्रमका जग्गा भूमाफियाले लाखौँ रुपैयाँमा किनबेच गरेका छन्। आश्रमको जग्गामा लालपूर्जाबिना नै विशाल भवन ठडिएका छन्।

चौलाही मौजाको अर्नहवा र रामपुर क्षेत्रमा मात्रै ६० बिघा अतिक्रमण भएको छ। दाङमा चुनावका बेला आश्रमका जग्गा ब्यक्तिलाई बनाइदिने नारा नै लगाउँछन् नेताहरु। नेताहरुले चुनावी नारा बनाएर आश्रमको जग्गा अतिक्रमणमा थप सघाउ पुर्‍याएका छन्।

अधिँया गर्नेलाई बाँडिदिएर टाठावाठाले आश्रमको जग्गामा मस्ती गरिरहेका छन। आश्रमको जग्गामा दल नेताले राजीनित गरिरहेको प्रशासकहरु बताउँछन्। आफ्नो जग्गा अधिँयामा लगाएर चलिरहेको आश्रम अहिले आम्दानीबिहीन हुँदा संकटमा परेको छ।

सम्‍झौता मानेनन्

केही दशक अघिसम्म जग्गाको आम्दानीले नै हजार भन्दा धेरै गाई आश्रमले पालेको थियो । तर अहिले गाई पाल्नका लागि भेटी र चन्दा उठाउनुपर्ने अवस्था आएको छ। आश्रमका सहायक कोठारी बाबुराम न्यापाने भन्छन्, 'आयस्ता छैन, सबै अरुको कब्जामा छ। भेटीको भरमा जसोतसो चलिरहेका छौँ।'

स्वर्गद्वारी आश्रम, दाङको वनगाउँ र झिगौरासहित अहिले पनि ७ सय गाई छन्। गाईलाई पराल र दानासम्म अरुसँग मागेर चलाउनु पर्ने बाध्यता छ। आश्रमलाई नियमित खर्च धान्‍नै मुस्किल परिरहेको छ। 

स्वर्गद्वारी आश्रमको रेकर्डमा आश्रमका नाममा २६ हजार रोपनी पाखो जग्गा र कोचिबाङमा १ सय ४० रोपनी खेत छ। त्यस्तै, दाङमा १ हजार १२ बिघा जग्गा छ। त्यसमध्ये ३० बिघा जग्गाको मात्रै आयस्ता प्राप्त हुन्छ। वार्षिक २ देखि ५ क्‍विन्टलसम्म अन्‍न दिने सम्झौता किसानहरुले पालना गरेका छैनन्।

बाँकी जग्गामा माओवादीले जनयुद्ध थालेसँगै अरुले रजगज गरिरहेका छन्। धेरैजसो जग्गा लमही, घोराही, रामपुर र टरीगाउँमा छ। ती जग्गाको बजार मूल्य अर्बौँ रुपैयाँ रहेको जानकारबताउँछन्। यो बाहेक नेपाल बैंकस्थित खातामा तीन करोड रुपैयाँको अक्षय कोष छ। यो कोष चलाउन मिल्दैन। वि.सं. २०२८ मा मोहीलाई केही जग्गा नामसारी गरिएबाहेक कागजमा स्वर्गद्वारीको जग्गा कतै हराएको छैन। तर फिल्डमा भने भूमाफिया, ठेकेदार र मोहीले रजाइँ गरेका छन्।

आश्रम चलाउन वर्षको तीन करोड

आश्रमको जग्गा फिर्ता गर्न स्थानीयले आवाज नउठाएका होइनन्। आश्रम व्यवस्थापन समितिले अतिक्रमण हटाउन दाङ, प्युठान र रोल्पाका प्रमुख जिल्ला अधिकारीसहितको बैठक थुप्रैपटक बोलायो तर प्रगति शून्य छ। सरकारकै सहयोगमा गुठी संस्थानले जग्गालाई राजगुठी बनाउन थालेपछि आश्रम सर्वोच्च अदालत गएको सदस्य मिश्र बताउँछन्।

बाल तपस्वी गौतमले जग्गा किन्दा बनाएका लिखतसमेत अदालतमा पेस गरिएका थिए। दलका केही नेताले राजगुठी बनाएर खण्डीकरण गर्न चाहेका थिए। तर सर्वोच्च अदालतले स्वर्गद्वारीको पक्षमा फैसला गरेको छ। सर्वोच्चले २०६३ मा निजी गुठी भनेर आश्रमको जग्गामा मोहियानी हक नलाग्‍ने पनि फैसला गरेको छ।

आश्रमका जग्गा तपस्वी गौतमले भक्तजनको दक्षिणाबाट किनेका हुन्। त्यसैले यसलाई खण्डीकरण गरी हस्तान्तरण गर्न नमिल्ने अदालतको फैसलामा उल्लेख छ। अदालतको फैसला अघिसम्म स्वर्गद्वारीको जग्गा खनजोत गर्दै आएका मोहीलाई आश्रमले भोगचलन दिइरहेको छ। मोहीभन्दा जग्गा कब्जा गर्नेबाट आश्रम पीडित रहेको सञ्चालकहरुको गुनासो छ।

स्वर्गद्वारी आश्रम नियमित चलाउन वार्षिक तीन करोड रुपैयाँ चाहिन्छ। एक सय ४२ जना कर्मचारी छन्। उनीहरुलाई मासिक तलब दिनुपर्छ। त्यस्तै, एक सय विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीको सम्पूर्ण खर्च आश्रमले व्यहोर्छ। आश्रममा साधुसन्त, ब्राहमण गरी दैनिक दुई सय ५० जनालाई खाना पाक्छ। ती सबैका लागि स्वर्गद्वारी आश्रमको दैनिक खर्च  कम्तिमा ६० हजार छ।

नियमित स्रोत नहुँदा आर्थिक संकटमा परेको स्वर्गद्वारी आश्रमका लागि भक्तजनको दान-दक्षिणा एक मात्र स्रोत हो। कब्जा भएका जग्गाबाट आयस्ता जुट्न छोडेपछि स्रोतको समस्या हुन थालेको हो। सरकारले अदालतको फैसला कार्यान्वयन गराएर जग्गा फिर्ता दिए आश्रमले हात  फैलाउनै पर्दैन। तर यसबारे ठोस पहल भएको छैन। करिब २ दशकदेखि आश्रमले आफ्नै जग्गाबाट आयस्ता नपाउँदा समस्या भएको हो। सयौँ  बिघाको धनी स्वर्गद्वारी आश्रम मागेर चलिरहेको छ।

कहाँ कति जग्गा 

आश्रमको नाममा दाङमा एक हजार ५० बिघा जमिन थियो। केही जग्गा सडकमा परेपछि ९ सय ९८ बिघा बाँकी छ। जसमध्ये खेत ६ सय ३१ बिघा एक कट्ठा छ। बारी ३ सय ६७ बिघा ७ कट्ठा छ। ७ सय ७६ बिघा ७ कट्ठा जग्गामा मोही लागेको छ।

आश्रमको शुद्ध घर खेती दुई सय २१ बिघा १७ कट्ठा ७ धुर छ। आश्रमको ३६ सय ११ कित्ता हो। पुरानो मोही संख्या २ सय ७९ छ। भूमिसुधार कार्यालयले २०५१ सालमा ९५ बिघा जग्गाबाट मोही निस्कासन गरेको थियो। साविक चैलाही र सतवरीया मौजाको जग्गामा समस्या छ। चैंलाही मौजाको अर्नहवा र रामपुरमा मात्रै ४० विगाह जमिन अतिक्रमणमा छ।

किसानहरूले जोतेको जग्गामा तेस्रो व्यक्तिको हालिमुहाली छ। आश्रमसँग सम्झौता गरेका किसान त्यहाँ छैनन्। अरुले नै चर्चिएका छन्। आश्रमले समस्या समाधान गर्न सरकारले नदिएको बताउँदै आएका छन्। स्वर्गद्वारी आश्रम र किसानसँग मोहियानी हकको समस्या बल्झिरहन्छ।

सधैँ राजनीतिक हतियार

स्वर्गद्वारीको जग्गामा बस्दै आएका मोही, अधिँया गर्दै आएका किसान र भोगचलन गर्दै आएकाबारे दलको प्रस्ट दृष्टिकोण छैन । दलहरु प्रष्ट नहुन्जेल यो समस्या समाधान हुने अवस्था छैन।

दाङमा हरेक निर्वाचनमा आश्रमको जग्गाको लालपूर्जा बनाइदिने चुनावी नारा मूख्य बन्छ। अतिक्रमणकारीलाई प्रोत्साहन दिने गरी पार्टीले भूमिका खेलेका छन्। वास्तविक मोहीबाहेक अरूलाई जग्गा दिनुपर्ने जरुरी नै छैन। घोराही, तुल्सीपुर र लमही क्षेत्रमा आश्रमको सबैभन्दा धेरै जग्गा अतिक्रमित छ।

नेताहरूकै दबाबमा आश्रमको नामका लालपुर्जा भएका जग्गामा बस्‍नेलाई पनि सडक, बिजुली, पानीलगायत पूर्वाधार बाँडिएको छ। किसानहरूले जोतेको जग्गामा तेस्रो व्यक्तिको हालिमुहाली छ। आश्रमसँग सम्झौता गरेका किसान नै त्यहाँ छैनन्। अरुले नै जग्गा चर्चिएका छन्। अदालतमा मुद्दा पर्छ। प्रहरी र अदालतका कर्मचारी घर भत्काउन पुग्छन्। तर, दलका नेताको आडमा तेस्रो पक्षको हालीमुहाली चलेको छ।

मोही भन्छन्- आश्वासन मात्रै 

स्वर्गद्वारी आश्रमको स्वामित्वमा रहेको लमही नगरपालिका-७ उचानिम्बुमा बस्दै आएका कन्हैयालाल चौधरीले नेताले चुनावमा जग्गाको पूर्जा दिलाइदिने आश्वासन दिने गरेको बताए। 'हामीले वर्षौँदेखि  जग्गा जोत्दै आएका थियौँ। आफ्नो नाममा जग्गा नहुँदा मानसिक तनाव भइरहन्छ', उनले भने, 'नेताहरू जग्गाको लालपुर्जा दिलाइदिन्छौँ भन्छन् तर हामी खाली हात छौँ।'

यो जग्गा पुस्तौ देखि भोगचलन गरिरहेको उनले बताए। जग्गा छ, पूर्जा छैन। चौधरीले मोहियानी हक पाउनुपर्ने बताए। 'पुस्तौँदेखि खनजोत गर्दै आएको जग्गा कस्ले छोड्छ?', उनले भने। लमही नगरपालिका-७ सतबरियास्थित उचानिम्बुस्थित स्वर्गद्वारी आश्रमको स्वामित्वमा रहेको जग्गा र मन्दिरको जग्गामा अहिले ६५ घरधुरी बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.