|

अहिले काठमाडौं महानगरपालिकाले महत्वकांक्षी योजना भनेर अघि सारेको पुरानो बसपार्कमा निर्माण हुने भनिएको काठमाडौं भ्यूटावरको निकै चर्चा छ। तीन वर्षमा सम्पन्न गर्ने गरी २०७१ सालमा भ्यूटावरको शिलन्यास पनि गरियो। तर काठमाडौंबाट निर्वाचित हामी सांसद र जनताले यसको विरोध गरिरहेका छौं भने महानगरपालिका यसै ठाउँमा बनाउने जिद्धि गरिरहेको छ। 

महागरपालिकाले महत्व दिएर अघि बढाइएको भ्यूटावर निर्माण रोक्न किन लागि परेका छन् त काठमाडौंका सांसद? अनि म किन लागि परेको छु? यसको कारण बुझ्न काठमाडौं शहरको थोरै इतिहास पनि बुझ्नुपर्छ। 

यसरी निर्माण भएको थियो काठमाडौं शहर

हरियाली पहाडले घेरिएको प्रकृतिक उपत्यका हो काठमाडौं उपत्यका। भूकम्पीय जोखिमयुक्त, सानो क्षेत्र, धेरै जनसंख्या र पानीको अभाव यहाँका समस्या हुन्। विशेषगरी काठमाडौंलाई देशको राजधानीको रुपमा रुपान्तरण गरिएपछि समस्या बढेको हो। 

भूकम्पीय जोखिम न्युनीकरण र पानीको श्रोत व्यवस्थापनलाई ध्यान दिदै हाम्रा पुर्खाले काठमाडौं शहरको परिकल्पना गरेका थिए। एक ठाउँबाट छिरेर अर्को ठाउँमा निस्कने बाल,ठूला ठूला छ्य(चौर), पानी पोखरी, इनार, हिटी (ढुङ्गेधारा) र बाटोका ट्रयाकहरुको योजना बनाएर मात्रै घर निर्माण गर्ने खाका कोरिएको थियो र सोही अनुसार शहर निर्माण गरियो।

बहाल

बहाल अर्थात एक ठाउँबाट छिरेर अर्को ठाउँमा निस्कन मिल्ने गरी बनाइएका चौर। भूकम्पीय जोखिमलाई मध्यनजर गरेर काठमाडौंमा थुप्रै बहालहरुको निर्माण गरिएको थियो। यो हाम्रो पुस्ताले योजनावद्ध ढङ्बाट निर्माण गरेको संरचना हो। भोटेबहाल,नागबहाल, देबहाल, संकटा बाल, कुटुमबहाल, पिमबहाल लगायत थुप्रै बहाल यहाँ छन्। यस्ता एक ठाउँबाट भित्र छिरेको मानिस अर्को ठाउँबाट निस्कन सक्छ। विशेषगरी भूकम्प जाँदा भाग्ने क्रममा एक ठाउँबाट पसेर अर्को ठाउँमा निस्कन सहयोग पुग्छ भन्ने हेतुले बनाइएको संरचना हो बहाल।

छ्य (खुला ठाउँ, चौर)

मान्छेको जमघटलाई मध्यनजर गरेर बिभिन्न स्थानमा छ्यहरु निर्माण गरियो। विशेष गरी भूकम्प गएका बेलला बस्नको लागि ठूला ठूला छ्यहरुको निर्माण गरिएको थियो।

धोवी छ्य, तुलछ्य, नारायण छ्य, लैन छ्य थुप्रै छ्यहरुको निर्माण गरियो। भूकम्प जादाको समयलाई मध्यनजर गरेर नै नारयणहिटीदेखि दशरथ रंगशालासम्मको सबैभन्दा ठूलो छ्य टुडिखेल थियो। तर अहिले त्यो रुपमा पाउन सकिदैन। अहिले सेनाले त्यही घर बनायो, बीचको जग्गा पनि अन्य प्रयोजनको लागि खर्च गरियो।

चोक र सागल

बहाल र छ्यसंगै चौबाटो। चौबाटो नजिकै सागल बनाए हाम्रा पुर्खाहरुले। सा भनेको मल र गाल भनेको खाली। 'पेटको खेतमा खेतको पेटमा' भन्ने नीतिका साथ सागलहरु बनाइएको थियो। यसो हुँदा फालिएको दाल भात तरकारी लगायत अन्य कुहिने वस्तुहरु एक ठाउँमा फालिने र त्यो वस्तु मलको रुपमा परिणत गरी अन्न उब्जनीमा सहयोग पुग्थ्यो।

इनार र हिटी

काठमाडैंमा हुने पानीको अभावलाई मध्यनजर गर्दै प्रत्येक चोकहरुमा इनार निर्माण गरियो भने काठमाडौंका चारै कुनामा हिटी (ढुङ्गे धारा) निर्माण गरियो।

त्यो बेला धाराहरु जडान थिएन त्यसैले पनि हिटी र इनारलाई विशेष प्राथमिकतामा राखिएको थियो। साँगा, काभ्रेस्थली, टोखाबाट बाटोको ट्रयाकहरु खोलेर हिटी निर्माण गरिएको थियो। ठहिटी क्योहिटी, गाहिटी, नारायणहिटी, भोटाहीटी, धेरै ठाउँमा हिटी बनाइएको छ। राजधानीका चारै कुनामा हिटी छन्। विद्युत प्राधिकरण र राष्ट्रिय नाचघर नजिकै पद्दी हिटीहरु थिए।

पानी पोखरी

हिटीहरुबाट बग्ने पानीलाई मध्यनजर गरेर पानी पोखरी निर्माण गरियो। पशुपंक्षीलाई पानी खानलाई सहज हुने गरी रानी पोखरी, पानी पोखरी, नाग पोखरी, लगायत धेरै ठाउँमा पोखरीहरु निर्माण गरिएको थियो। केशरमहल पछाडि पनि धेरै ठूलो पोखरी थियो अहिले धेरै त्यस्ता पोखरीहरु अस्तित्वमा छैनन्।

अहिलेको छाया सेन्टर भएको ठाउँमा समेत १० वर्ष अगाडिसम्म ठूलो पोखरी थियो। त्यहा थुप्रै चमेराहरु देखिन्थे। तर अहिले त्यसको अस्तित्व हरायो।

जब बल्झियो समस्या

पूर्खाहरुले बनाएका संरचना दिन दिनै अस्तित्वबाट हट्न थालेका छन्। काठमाडौंमा दिनदिनै समस्या थपिएका छन्। सीमित समधानका बाटोहरु रहेपनि त्यसलाई वास्ता गरिएको छैन। यातायातको समस्या बढ्दै जाने, काठमाडौं शहर संसारकै प्रदुषित शहरका रुपमा चिनिने, वायु प्रदुषण बढ्ने लगायतका समस्याले ग्रस्त भयो। यसको समधानको बाटो खोज्न विशेष गरी म र गगन (थापा) जी लाग्यौं। अनि उपत्यबाबाट निर्वाचित प्रत्यक्षतर्फका १५ र समानुपातिक सहित ३१ जना सांसद एक ठाउँमा उभिएर तत्कालिन प्राधनमन्त्रीलाई समधानको बाटोसहित प्रतिवेदन बुझाएका थियौं।

त्यो प्रतिवेदनमा हामीले काठमाडौंका खाली ठाउँ जोगाउन र थप्नको लागि सुझाव दिएका थियौ। खाली ठाउँ जोगाउने अभियान अन्तर्गत तत्कालिन काठमाडौं विकास प्राधिकरणका प्रमुख यज्ञ बरालसंगको परामर्शपछि नारायणचौरमा नमुना पार्क निर्माण गरियो। लगत्तै भूकम्प गयो। नारायणचौर लगायतका सबै खाली ठाउँ, कहिँ खाली रहेन खाली स्थान नभएकै कारण खोलाका किनारामा बसे। त्यहाँ पनि ठाउँ नपुगेकै कारण कति मान्छे डराउँदै घरमै बसे। भूकम्पपछि काठमाडौंमा खाली क्षेत्रको आवश्यकता उजागर पनि भयो।

काठमाडौं भ्यूटावरको किन विरोध?

काठमाडौंको पुरानो बसपार्कमा भनिएको २९ तले र अनुमति पाएको १२ तले काठमाडौं भ्यूटावर निर्माणका लागि सम्झौता गरिएको छ। यो भ्यूटावर निर्माणको जिम्मा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई दिइएको छ। उक्त टावरको भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ।

काठमाडौंबासी र हामी सांसदहरुले पुरानो बसपार्कमा भ्यूटावर निर्माणको विरोध गरिरहेका छौं। यसको नेतृत्व मैले गरेको छु। यसै कारणले मलाई विकास विरोधी पनि भन्न थालिएको छ। तर  न, म विकास विरोधी हुन सक्छु न त मेरो पार्टी नेपाली कांग्रेस विकास विरोधी बन्न सक्छ। बरु विकासको नेतृत्व हामी गर्छौ।

के गर्दा बढी लाभ हुन्छ र जनताले राहत पाउँछन्, भन्ने कुरालाई मध्यनजर गरेर निर्णय लिने हो। जनताको भलो हुने गरी काम गर्ने हो। मैले त्यही गरिरहेको छु।

काठमाडौं भ्यूटावरको निर्माण पूर्वधार निर्माणको एक महत्वपूर्ण काम हो। भ्यूटावर निर्माणमा मेरो विरोध होइन। भ्यू टावर निर्माणस्थलका विषयमा मेरो र काठमाडौंबासीको विरोध हो। अहिले जहाँ (पुरानो बसपार्कमा) निर्माण गर्न खोजिएको छ, त्यो भ्यूटावर निर्माण गर्ने उपयुक्त ठाउँ होइन।

यस ठाउँमा भ्यूटावर निर्माणको विरोध गर्नुको मुख्य कारण काठमाडौंको खुला क्षेत्र मासिन्छ भन्ने नै हो, तर कारण यति मात्रै होइन। माथि उल्लेख गरिएका धेरै संरचनाहरु लोप भएका छन्। एउटा निर्माणको नाममा अनेक समस्या थुपार्ने काम भइरहेको छ। ३० मिटर तलसम्म जग खनेर निर्माण गर्ने भनिएको काठमाडौं भ्यु टावरका कारण त्यहाँका बस्ती त जोखिममा पर्छन् नै रानी पोखरीमा समेत पानी सुक्नेछ। खाली ठाउँ अभावमा फेरि भूकम्प आउँदा उद्दार गरेर राख्ने ठाउँ पनि पाउन मुश्किल पर्छ।  

आज पुरानो बसपार्कमा ठूलो भवन निर्माण गर्ने नाउँमा हामी चुप बस्ने, भोलि खुल्लामञ्चमा भवन बनाउने र पर्सी टुँडिखेलमा भवन बनाउने अनि कहाँ रहन्छ खाली ठाउँ, कहाँ बस्छन् काठमाडौंका जनता?

विरोधका स्वरहरु

अहिले निर्माण ठेक्का लिएर सबै प्रकिया पूरा गरेपछि किन विरोध गरिरहेको छ, भन्ने कुरा पनि आइरहेका छन्। तर, मैले जहिलेदेखि थाहा पाएँ त्यसै दिनदेखि पुरानो बसपार्कमा भ्यूटावर निर्माण गर्नु हुदैन भनेर लागेको छु। पुरानो बसपार्कमानै भ्यूटावर निर्माण गर्ने कुरा सुशील कोइराला नेतृत्वको सरकारको पालामा भएको हो।

त्यसै बेलादेखि विरोध गर्न सुरु गरिएको हो। तत्कालिन उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भ्यूटावरको शिलन्यास गर्ने कार्यक्रम तय गरिएको थियो। यो थाहा पाएपछि मैले प्रकाशमान सिंहलाई भनेँ। हाम्रो कुरा सुन्नु पनि भयो र उहाँले भ्यूटावरको शिलन्यास गर्नु भएन।

दोस्रो पटक उपराष्ट्रपतिले शिलन्यास गर्नुभएछ। काठमाडौंका सबै सांसदलाई निमन्त्रणा गरिएको थियो हामी कोही पनि गएनौं। सायद उपराष्ट्रपतिले भ्यूटावरले पार्न सक्ने प्रभावको विषयमा बुझ्न नसकेकै कारण शिलन्यास गर्नुभयो। पुरानो बसपार्कमा भ्यूटावर निर्माण गर्दा काठमाडौं महानगरपालिकाका सीमित कर्मचारी र ठेकदार मनोज भेटवालबाहेक कसैको हित हुँदैन। 

म काठमाडौं क्षेत्र नम्बर ६ को सांसद हुँ। यो क्षेत्रको विकास र यहाँका जनताको हितमा काम गर्ने मेरो दायित्व हो, यही प्रतिवद्धताका कारण नै मलाई यस क्षेत्रका जनताले जिताएका हुन्। तर जनताको भावना विपरीत र बसपार्क निमार्णको लागि भनेर काठमाडौं महानगरपालिकालाई दिएको जग्गा भवन निर्माणमा प्रयोग गर्न थालिएपछि त्यसको विरुद्धमा हामी लागेका छौं। 

काठमाडौंमा गाडीको चाप बढ्दै गएपछि बसपार्क निर्माण गर्नुपर्ने थियो। यही कुरालाई मध्यनजर गरेर जनताले बसपार्क निर्माणको प्रयोजनको लागि खेतीयोग्य जमिन महानगरपालिकालाई बझाएका हुन्। व्यापारिक कम्प्लेक्स बनाउन दिइएको होइन। जनताले दिएको जग्गा महानगरपालिकाले गलत ठाउँमा प्रयोग गर्दैछ। म र काठमाडौंबाट निर्वाचित अन्य माननीयहरुले राष्ट्रपति विद्यादेबी भण्डारी, शहरी विकास मन्त्री अर्जुननरसिंह केसी र काठमाडौं महानगरापालिकाका कार्यकारी प्रमुख रुद्रसिंह कार्कीलाई भ्यू टावर निर्माण नगर्न ज्ञापन बुझाएको छौ। उद्योग मन्त्री नविन्द्रराज जोशी र स्वास्थ्य मन्त्री गगनकुमार थापा काठमाडौंबाट निर्वाचित सांसद हो। उहाँहरु त पुरानो बसपार्कमा भ्यूटावर बनाउन नहुने लाइनमै हुनुहुन्छ। यसमा बलजफ्ती निर्माणको नाममा हामीलाई संघर्षमा उठ्न बाध्य नबनाइयोस्।

राष्ट्रपति चिन्तित

पुरानो बसपार्कमा भ्यूटावर निर्माणको विषय राष्ट्रपति ज्यूलाई पनि चित्त बुझेको छैन। काठमाडौं मेरो जन्मथलो नभए पनि कर्म थलो भयो, म यही क्षेत्रबाट चुनाव लडेकी हुँ। काठमाडौंका खाली स्पेस मासिदै गएका छन्। अहिले पुरानो बसपार्कमा टावर बनाउने कुराले जनताको हित गर्दैन भन्नुभयो। मैले हामीले विरोध गरिरहेका छौं तपाईंले पनि आफ्नो ठाउँबाट भूमिका निर्वाह गरिदिनुपर्‍यो भनेका छौं। 

उहाँ बेल्जियम जाँदा शहरमा धेरै ठूला ठूला खाली ठाउँहरु देख्नु भएको रहेछ। खाली ठाउँ जोगाउने र बढाउने त्यहाको नीति नै रहेछ। हामीले पनि त्यस्तै गर्नुपर्ने होइन? भन्नुभयो।

जनप्रतिनिधि नहुदा समस्या?

अहिले काठमाडौं महानगरपालिकामा जनताबाट निर्वाचित प्रतिनिधिहरु छैनन्। जन निर्वाचित नेतृत्व नभएको यही मौकामा भ्रष्ट मानसिकताका कर्मचारीहरुले भ्यूटावरलाई कमाउने माध्यम बनाएका छन्।

के अहिलेका कार्यकारी प्रमुख जनताको प्रतिनिधि हो? उनी काठमाडौंको बासिन्दा हुन्? यी दुवै होइनन. यसकारण उनलाई काठमाडौंका जनतासंग सरोकार छैन खाली आफ्नो पेट भर्नुछ। सोही कारण उनी यो टावर बनाउन कम्मर कसेर लागेका छन्। 

यो हुन सक्छ विकल्प

संसारको जुनसुकै ठाउँमा पनि पुरानो संरचनालाई सकभर बचाउने प्रयास गरिन्छ। पुरानो सहर सानो भयो भने नयाँ शहरको स्थपना गरिन्छ। पुरानो सहरको छुट्टै अस्तित्व हुन्छ। तर यहाँ शहर निर्माणको नाममा जनताको घर भत्काउनेदेखि भएका संरचना पूर्ण रुपमा बिगार्ने काम भइरहेका छन्।

भ्यूटावर निर्माण गर्नुहुदैन, महानगरपालिकाले नाफा कमाउनु हुदैन भन्ने मेरो तर्क होइन। तर जहाँ त्यस्ता किसिमका भवन छन्,अरु भवन पनि त्यसै क्षेत्रमा बनाउनुपर्छ। बागदरबार (अहिले महानगरपालिकाको कार्यालय भएको ठाउँ) मा भ्यूटावर बनाउन उपयुक्त हुन सक्छ। त्यहाँ सिभिल मल, टेलिकमको विल्डिङ,सिटीसी मल लगायतका कम्प्लेक्सहरु पनि छन्। तिनै कम्प्लेक्सहरुको बीचमा भ्यूटावर निर्माण गर्नु उपयुक्त विकल्प हुन सक्छ। पुरानो बसपार्कमा त भ्यूटावर निर्माण गर्न दिइँदैन। 

निर्माण कम्पनी र ठेकदारको पृष्ठभूमि

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवाल हुन्। उनी महानगरपालिकाका पूर्व कर्मचारी हुन्। संसदीय समितले आवश्यक छैन भन्दाभन्दै पनि कलंकी र बालाजुमा महानगरापालिकाले यीनैलाई आकाशे पुल निर्माणको ठेक्का दिएको थियो। च्रकपथ सुधारको क्रममा यस्तो पुल फालिने थाहा हुँदाहुँदै र संसदीय समितिहरुले हुदैन भन्दाभन्दै महानगरपालिकाले उनलाई ठेक्का जिम्मा दियो। तर बनेको केही वर्षमा नै पुल भत्काइएको छ। पुल निर्माणको क्रममा ठेकेदार र महानगरपालिकाले मात्रै नाफा उठाए। 

हामीले बनाउन हुदैन भन्दाभन्दै महानगरपालिका भने भ्यूटावर बनाउने नै दाउमा लागेको छ। तर तीन वर्षमा सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले अहिलेसम्म केही काम गर्न सकेको छैन। बरु महानगरपालिका जमानी बसेर ऋण निकालिदिएको छ। भ्यूटावर निर्माण नहुने हो भने यो ऋण कसले तिर्ने हो?

भागवत भट्टराईसँग गरेको कुराकानी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.