|

रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा काम गर्ने श्रमिकको दुर्घटना बिमा गरिएको छ। नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (एनसिसिएसपी) को सहयोगमा गाउँपालिकाभित्र सञ्चालित योजनाहरूमा कार्यरत कामदारहरूको बिमा गरिएको हो। 

योजनाले नै दुर्घटना विमा गरिदिएपछि काम गर्ने कामदारहरू उत्साहित बनेका छन्। आफूहरूको बिमा भएपछि काम गर्न उत्साह थपिएको नेटापोखरा काँडा सडक मर्मत तथा सुधार उपभोक्ता समितिले सञ्चालन गरेको सडक मर्मतको काममा कार्यरत खडकबहादुर केसीले बताए। गाउँपालिकाका यस्ता ७ वटा योजनामा काम गर्ने एकसय ४० जना श्रमिकको सामूहिक दुर्घटना बिमा गरिएको छ।

योजनामा बजेट सहयोग गर्ने निकाय एनसिसिएसपीले नै यहाँ कार्यरत श्रमिकको दुर्घटना बिमा गराइदिएको बताइएको छ। कार्यक्रमले श्रमिकको सामूहिक दुर्घटना बिमावापत एक लाख १० हजार ५४२ रुपैयाँ विमा कम्पनीलाई भुक्तानी दिएको छ। एनसिसिएसपीको आर्थिक सहयोगमा बाँफिकोट गाउँपालिकाको २, ३ र १० नम्बर वडामा खानेपानी आयोजना निर्माण भइरहेको छ। त्यस्तै ७, ८ र ९ नम्वर वडामा सिचाइँ तथा ५ नम्बर वडामा सडक निर्माणको काम भइरहेको छ।

यति लामो समयसम्म मजदुरी गर्दै आएकोमा अहिले आएर बिमा गर्ने योजना पाउँदा ढुक्कले काम गर्न सकिएको केसीको भनाई छ। माटो, ढुंगाको काम गर्दा कहिलेकाहिँ चोटपटक पनि लाग्ने हुनाले त्यसको उपचार र क्षति पूर्तिको समेत व्यवस्था गरिएको छ। दुर्घटना बिमा मार्फत सुरक्षा तथा क्षतिपूर्तिको व्यवस्था भएको आफूले पहिलोपटक थाहा पाएको कार्यरत श्रमिक हर्कबहादुर नेपालीले बताए।

काम गर्नेहरूको सुरक्षाको लागि सबै क्षेत्रका योजनामा काम गर्ने श्रमिकको यसरी नै दुर्घटना बिमा गराउनु आवश्यक हुने उनको भनाई छ। योजना मार्फत दुर्घटना बिमा गराइदिँदा श्रमिकको थप सेवा पाएको अनुभूति गर्ने र कामकाजमा उत्साह देखाउने गरेको स्थानीय उपभोक्ताको भनाई छ। काम गर्ने क्रममा दुर्घटना भएर चोटपटक लागेमा चोटको प्रकृति हेरेर एकलाख रुपैयाँ सम्मको उपचार खर्च र कामकै क्रममा मृत्युमा परिवारलाई १० लाख आर्थिक सहायता दिने गरी बीमा गराइएको एनसीसीएसपीका कार्यक्रम संयोजक भक्त भण्डारीले जानकारी दिए।

‘काम गर्ने क्रममा कुनै श्रमिकलाई चोटपटक लाग्न सक्ने भएकोले उक्त जोखिम कम गर्ने गरी दुर्घटना बिमा गरिएको हो।’ उनले भने, ‘योजनाको काम नसकिँदासम्म उक्त बिमा लागु हुने छ।’ योजनामा काम गर्ने सबै श्रमिकलाई काम गर्ने क्रममा सुरक्षा होस् भनेर सुरक्षा सामग्री पनि उपलब्ध गराएको उनको भनाई छ। हेल्मेट र ज्याकेट लगायतका काम गर्दा सुरक्षा हुने सामग्रीहरू पनि प्रदान गरिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.