सेवासुविधा नबढाए उद्योगीविरुद्ध नै खनिने चेतावनी

|

भद्रपुर, (झापा) : चिया मजदुरले नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तलको घरसहित निजी कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन्।

चिया उद्योगीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै ४४ औँ दिनदेखि भोकभोकै सडक आन्दोलन उत्रिएका चिया मजदुरले भद्रपुर ८ स्थित जनताचोकमा रहेको चिया उत्पादक संघका अध्यक्ष मित्तलको घरसहित निजी कार्यालय घेराउ गरेका हुन्।

भद्रपुरको संगमचोकमा भेला भएका आन्दोलित चिया मजदुर संघठनका नेता तथा मजदुरहरू र्‍याली प्रदर्शन गरेका थिए। र्‍यालीमा उद्योगीको विरुद्ध चर्को नाराबाजी गर्दै अध्यक्ष मित्तलको घर घेराउ गरेका थिए। मजदुरहरूले अध्यक्षको घरको मुख्य ढोकामा ब्यानर लगाउँदै डेढ घण्टा धर्नासमेत दिएका थिए। सडकसँगै अध्यक्षको घर जोडिएकोले सडकमै मजदुर धर्नामा बस्दा डेढ घण्टा सडक अवरुद्ध भएको थियो।

मजदुरहरू कुनै माग लिएर आन्दोलन भएको होइन, सरकारले तोकेको ऐन लागू गराउन मजदुरहरू आन्दोलित बनेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए।

‘खान नपाएर भोकभोकै बसेका मजदुरहरू अहिलेसम्म शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्’, उनले भने, ‘चिया मजदुरको आन्दोलनसहित सरकारले दिएको निर्देशनलाई अब पनि ठूला उद्योगी बेवास्ता गरे झापा बन्ददेखि नाकाबन्दी सहितको संर्घषको कार्यक्रम लिएर सडकमा उत्रिने छौँ।’

‘सरकार गुहार्दै चिया उद्योगीहरू काठमाडौं धाउने गरेकोमा सरकारसँग एक चरणको वार्ता भइसकेको छ', उनले भने, ‘सो वार्तामा श्रम ऐन लागू गराउन चिया उद्योगीलाई श्रम मन्त्रालयले निर्देशन दिइसकेको र अब उप्रान्त पनि सरकारको निर्देशन नमाने उद्योगीलाई जहाँ भेट्न, त्यही कारबाही गर्ने छौँ।’

यता धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै ट्रेड युनियनका झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, ट्रेड युनियन महासंघका प्रतिनिधि भरत राई, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मददुर सघंका अध्यक्ष सीता सापकोटालगायतले सम्बोधन गरेका थिए।

उनीहरूले सरकारले श्रम ऐन ‘२०७४’ लाई २०७५/७६ को बजेट भाषणमार्फत नै चिया क्षेत्रमा लागू गर्ने गरी मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा पाउने भनी तोकिदिएको बताए। उनीहरूले ऐन लागू गर्न ठूला उद्योगीले नमानेको भन्दै अब उद्योगीविरुद्ध नै खनिने चेतावनी दिए।

चार वटा साना किसानसहित झापाका केही उद्योग सरकारले तोकेको श्रम ऐनअनुसार सेवासुविधा दिने मजदुर नेतासँग सम्झौता गरेपछि सञ्चालनमा आइसकेको छ। केही उद्योग सम्झौताअनुसार ज्याला दिने मजदुर नेताहरूसँग छलफल गरिरहेको बुझिएको छ। तर, ठुला उद्योगहरू अझै पनि सञ्चालनमा नआउँदा मजदुरलाई एक छाक जुटाउन समस्या पर्न थालेको मजदुरहरूको भनाई छ।

झापामा साना किसानसहित २८ वटा चिया उद्योग छन्। ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.