|

जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित जानकी महामहोत्सव विशेष समारोहमा सहभागी हुन  सोमबार आउँदै छिन्। रामायणकालीन नारी सीताको जन्मदिनको अवसरमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति भण्डारी जनकपुरधामको जानकी मन्दिर आउने भएपछि स्वागतमा रेड कार्पेट बिछ्याइएको छ।

जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने जानकी महोत्सवको विशेष समारोहमा सहभागीका लागि बिहान करिब नौ मिनेटमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जनकपुरधामस्थित एयरपोर्ट आउने र एयरपोर्टबाट सिधै जानकी मन्दिरमा पूजा तथा दर्शन गर्ने कार्यक्रम तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँदा पादुर्भाव भएर जन्म भएको सीताको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ। सोही जानकी नवमीको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जनकपुरधाम आउन लागेको जानकी मन्दिरका सह–महन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

धनुषाका प्रजिअ कणेलका अनुसार पूजा दर्शनपछि राष्ट्रपतिले विश्राम गर्नेछिन्। त्यसपछि जानकी महोत्सव विशेष समारोहमा ४५ मिनेट सहभागी भई जानकी मन्दिरकै प्राङ्गणमा बनाइएको भव्य पण्डालमा विशेष धार्मिक सम्बोधनको कार्यक्रम रहेको छ।

मन्दिरमा सर्वसाधारण रोक

बिहानको समयमा जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकलाई आवतजावतमा रोक लगाइएको छ। विशेष गरी पूजापाठको समय बिहान भएकाले मन्दिर परिसरमा दर्शनार्थीको अत्यधिक चापलाई मध्यनजर गर्दै सर्वसाधारणको आवतजावतमा रोक लगाइएको बताइएको छ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको आवगमन हुने भएपछि जानकी मन्दिर तथा आसपासका क्षेत्रहरुमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। जनकपुरधामको एयरपोर्टबाट श्यामचोक, क्याम्पसचोक, मुरलीचोक, शिवचोक र जानकी मन्दिर परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसअघि तीन वर्षअघि रामजानकी विवाह महोत्सवको अवसरमा राष्ट्रपति भण्डारी आउँदा मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुले विरोध जनाएका थिए। विरोधको क्रममा जानकी मन्दिरको गर्भगृहस्थलसम्म आन्दोलनकारीहरुले आक्रमण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.