|

चितवन : झापा-११ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत सोमबार बिहान सम्पन्न दोस्रो क्वार्टरफाइनलमा च्यासल युथ क्लबलाई २ एक गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो।

यी २ टिमबीचको आइतबार आपराह्‍न भएको खेल हावाहुरीका कारण स्थगित भएको थियो। स्थगित हुनुअघि झापाको २ तथा च्यासलले १ गोल गरेको थियो। बाँकी १५ मिनेटको खेल सोमबार बिहान खेलाइएकोमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि झापा विजयी भयो।

झापाका लागि संजोग राईले खेल सुरु भएको १ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। यस्तै निसान लिम्बूले पहिलो हाफपछि थपिएको ४ मिनेटमा टिमको दोस्रो गोल गरे।

उता, च्यासलका लागि सुशील राईले ५९ औँ मिनेटमा गोल गरेका थिए। उनै राई खेलको म्यान अफ दी म्याच बने। राईले नगद १० हजार पाएका छन्।

बिहानको खेलमा रेफ्रीले पक्षपातपूर्ण तरिकाले खेलाएको भन्दै च्यासलका खेलाडीले असन्तुष्टि जनाएपछि केही समय रेफ्रीसँग तनाव पनि भएको थियो। १५ मिनेटको छोटो खेलमा निकै आक्रामकरूपमा प्रस्तुत भएका च्यासलले केही मौकालाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपर्‍यो।

प्रतियोगिताअन्तर्गत अपराह्‍न संकटा र जावलाखेल भिड्ने आयोजकले जनाएको छ। वैशाख २४ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ। उपाधि विजेताले ६ लाखसहित गोल्डकप र उपविजेताले ३ लाख पाउनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.