|

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक विद्यालयमा समायोजन भएको छ। गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन्।

सोमबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा तीन विद्यालय एकै विद्यालयमा समायोजन गरिएको हो। सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले ब्यानर पढेर विद्यालय समायोजन भएको घोषणा गरे।

गाउँपालिकामा रहेको मर्निङवेल इंलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठन पाठन हुनेगरी समायोजन गरिएको हो। बढ्दै गइरहेको बसाइसराइका कारण विद्यार्थीको अनुपात कम भएकाले तीन विद्यालयलाई समायोजन गरिएको हो। गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ।

नर्सरीदेखि कक्षा ३ सम्म सञ्चालनमा रहेको मर्निङवेल बोर्डिङ स्कुलमा गत शैक्षिक सत्रमा जम्मा ९० जना विद्यार्थी रहेको जनाइएको छ। त्यसैगरी कक्षा १ देखि ३ सम्म सञ्चालनमा रहेको सरस्वती प्राथमिक विद्यालय जिमरोडामा गत शैक्षिक सत्रमा जम्मा ५ जना मात्र विद्यार्थी रहेका थिए। त्यस्तै कक्षा कक्षा १ देखि ५ सम्मको लाटागन्याप प्राथमिक विद्यालय मालिगाउँमा गत शैक्षिक सत्रमा जम्मा ४८ विद्यार्थी रहेको थिए।

सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले समायोजन गर्नु परेको मर्निङवेल बोर्डिङ स्कुलका प्रिन्सिपल शेरबहादुर ऐरले बताए। ‘संस्थागत विद्यालयमा जसरी गुणस्तरीय शिक्षा दिइएको थियो। त्यहीअनुसारको गुणस्तर सरकारी विद्यालयमा दिनुपर्छ भन्ने मान्यताले गर्दा हामी सबै मिलेका हौं’, उनले भने,‘संस्थागत विद्यालयकै गुणस्तर कायम गर्नुपर्छ भन्ने उद्देश्यले गाउँपालिकाको समन्वयमा हामी समायोजन भएका हौं।’

एकै स्थानमा धेरै विद्यालय रहेकोमा विद्यार्थीको अनुपात कम भएको तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले अभियान थालेको जनाइएको छ। गाउँपालिकाभित्रका अन्य निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालयमा भर्ना हुन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगेर समायोजन हुन थालेका गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए।

मर्निङवेल इंलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको उनले बताए। अन्य वडामा रहेका निजी विद्यालय र विद्यार्थी संख्या कम रहेका सामुदायिक विद्यालयलाई समेत समायोजनको प्रयास भइरहेको उनको भनाइ छ। ‘यो समायोजनले गुणस्तरीय शिक्षामा टेवा पुग्छ। अन्य विद्यालयलाई समायोजनको प्रयास भइरहेका छ’ उनले भने, ‘यो अभियान सफल भयो भने गाउँपालिकाको शैक्षिक गुणस्तर बढ्छ।’ 

शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ। विद्यालयमा भवन, खेल मैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरणलगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापनमा सुधार गरिने अध्यक्ष मल्लले बताए।

समायोजन भएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत् रहने र आवश्यक परेका समुदायमा बाल विकास केन्द्र थपिने गन्यापधुराका शिक्षा इकाइले जनाएको छ।  जिल्लाका अन्य स्थानीय तहमा रहेका विद्यालयमा पनि विद्यार्थी संख्या कम हुँदा पनि समायोजन हुन नसक्दा गन्यापधुराले गरेको समायोजनको पहल कदरयोग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.