|

काठमाडौं : आर्यतार इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजले दाङको घोराहीस्थित न्यूरोडमा दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । स्टक ब्रोकर ५७ ले दाङका सर्वसाधारणलाई दोस्रो बजारमा सहभागी गराउने लक्ष्यसहित शाखा बिस्तार गरिएको जनाएको छ । 

शाखा बिस्तार भएसँगै बजारमा लगानीकर्ताको संख्या समेत बढ्ने विश्वास आर्यताराले लिएको छ । एक कार्यक्रमका बिच घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल र आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका अध्यक्ष भरतप्रसाद नेपालले नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

शाखाको उद्घाटन गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले मुलुकभरीका सर्वसाधारणले दोस्रो बजारबाट शेयर कारोबार गर्न नसकिरहेको अवस्थामा दाङमा सेवा सुरु गरेको भन्दै आर्यतारा सेक्युरिटिजलाई बधाई तथा धन्यवाद दिएका थिए । उनले सहज रुपमा आम लगानीकर्ताले शेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाउन आर्यतारालाई सुझाव पनि दिए ।  

शाखा बिस्तार गर्दै आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक गुणनिधी भुसालले राजधानी केन्द्रित लगानीकर्ताले सरह घोराहीका लगानीकर्ताले पनि उत्कृष्ट सेवा पाउने गरी व्यवस्था मिलाइएको बताए ।  

कार्यक्रममा सहभागी सर्वसाधारणलाई भुसालले भने, “आज सानो सानो रकमको शेयर किनेर पनि भोलि ठूलो पूँजी निर्माण गर्न सकिन्छ । कसरी शेयर किन्ने अनि बेच्ने भन्ने विषय सानो सानो कारोबार गरेर जानिन्छ । त्यसैले आजैबाट सानो रकमको भए पनि शेयर कारोबार गर्न थाल्नुहोस् । हामी सहज रुपमा उत्कृष्ट सेवा दिनेछौं ।”

बजार बिस्तारमा जोड दिएका भुसालले लगानीकर्ता सचेतनाका लागि दाङमा आर्यताराले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाए । 

घोराही नगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष शक्तिबहादुर डाँगी तथा सक्रिय लगानीकर्ता रमेश केसीले उत्कृष्ट सेवा पाउनेमा आफुहरु विस्वस्त रहेको बताएका थिए । 

देशव्यापी रुपमा स्टक ब्रोकरको सेवा बिस्तार हुन नसकिरहेको अवस्थामा ग्रामिण भेगका सर्वसाधारणलाई समेत दोस्रो बजारमा सहभागि गराउँदै बजार बिस्तार गर्ने लक्ष्य आर्यताराले लिएको छ । यस अघि नै आर्यताराले बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याई सकेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.