|

टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले नगर क्षेत्रभित्रका सुत्केरी महिलालाई आवश्यक रगत र अस्पतालसम्म पुग्न एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्न थालेको छ । 

नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीमार्फत रगत गत असोजदेखि र एम्बुलेन्स सेवा फागुनदेखि दिन थालेको हो । रगत १२५  र एम्बुलेन्स सेवा २०  सुत्केरीले लिएको सोसाइटी टीकापुरले जनाएको छ ।

'घरमा सुत्केरी हुने सङ्ख्या शून्यमा झार्न यो कार्यक्रम ल्याइएको हो', टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, 'ग्रामीण क्षेत्रका महिला सुविधा नहुँदा अस्पतालसम्म पुग्न सक्दैनन् । अस्पतालमा गएपछि खर्चिलो हुन्छ भन्ने गलत बुझाइलाई चिर्न सफल भएका छौँ ।' 

नगरपालिकाले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई सञ्चालन गर्न दिएको छ । रेडक्रसले सुत्केरीलाई निःशुल्क बोक्नुपर्ने नीति बनाइएको छ। 

प्रयोग भएको रगतको आधारमा लाग्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । नगरपालिकासँगको सम्झौतानुसार रेडक्रसले सुत्केरी मात्र नभई टीकापुरबासी सबैलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ । 

रेडक्रसले अहिलेसम्म १२५ सुत्केरीसहित २५३ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रसले एक व्यक्तिलाई दुई पिन्टसम्म रगत नि?शुल्क दिने गरेको रेडक्रस उपशाखा टीकापुरका रक्त सञ्चार संयोजक टेकराज बिनाडीले बताए।

स्वयंसेविका चन्द्रावती शर्माले सुत्केरीले निःशुल्क एम्बुलेन्स र रगत पाउने भएपछि निकै राहत भएको बताए। 'हामीले गाउँगाउँमा आमा समूहको छलफलमा यो सेवाबारे जानकारी दिन थालेका छौँ', उनले भने, 'गर्भवतीलाई व्यथा लागेमा फोन गरेको आधा घण्टामा एम्बुलेन्स घरमा पुग्छ । महिलाका लागि धेरै राम्रो काम शुरु भएको छ । निरन्तर हुनुपर्छ ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.