|

पोखरा : गण्डकी सरकारले आर्थिक समृद्धिको आधार नै पर्यटन रहेको बताउँदै गण्डकी पर्यटन वर्ष घोषणा गरेको छ।

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी राष्ट्रका पर्यटन भ्रमण वर्ष, २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन भ्रमण वर्ष भनेर कार्यक्रम नै बनाएर गण्डकी सरकारले प्रचार प्रसार गरिरहेको छ। तर अध्ययन नै नगरी होमस्टेका नाममा करोडौँ रकम बाँडिएको छ। 

पहिलो चरणमा १९ करोड, पछि साढे आठ करोड

अध्ययन र पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन नै नगरी गण्डकी सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अहिले धमाधम बजेट वितरण गरिरहेको छ। अहिलेसम्म जम्मा १९ प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले होमस्टेकाको नाममा रकम वितरण भएकोलाई प्रमुख उपलब्धि मानेको छ।

मन्त्रालयले पहिलो चरणमा १९० वटा होमस्टेलाई १० लाखको दरले बजेट वितरण गर्ने निर्णय गरी चार\चार लाख रुपैयाँ पठाइसकेको छ। १९० होमस्टेलाई १० लाखको दरले १९ करोड रुपैयाँ पहिलो चरणमा वितरण गर्ने निर्णय भएको हो। त्यस्तै दोस्रो चरणमा ८४ वटा होमस्टेलाई १० लाख रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको हो। आठ करोड ४० लाख रुपैयाँ वितरण गर्न लागेको मन्त्रालयले जनाएको छ।

अध्ययन विना ३०० गाउँमा होमस्टे

गण्डकी सरकारले प्रदेशका ११ जिल्लाका विभिन्न पर्यटकीय गाउँहरू छनोट गरी ३०० गाउँमा होमस्टे सञ्चालन गर्ने निर्णय गरेको छ। अध्ययन नै नगरी होमस्टेको लागि आवेदन मागेको पर्यटन मन्त्रालयले ९० प्रतिशत अनुदानको नाममा अहिले बजेट वितरण गरिरहेको हो।

चालू आर्थिक वर्षमा ३० करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयले होमस्टे छनोटका लागि समिति पनि बनाएको छ। तर, पर्यटनमन्त्री विकास लम्सालको दबाबले समितिले सोचेअनुसारको काम गर्न नसकेको समितिका एक पदाधिकारीले बताए। निवेदन आउनेवित्तिकै पूर्वाधार नै नहेरी सिफारिस दिने गरेको उनको भनाइ छ। 

यता पर्यटनमन्त्री विकास लम्सालले छनोट समितिको सिफारिसमा नै होमस्टे छनोट भएको बताए। ‘पर्यटन वर्ष मनाइरहेका छौँ,’ उनले भने, ‘२०२२ सम्म २० लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ती पर्यटकलाई राख्ने ठाउँ पनि चाहियो।’ होमस्टे सञ्चालन गर्ने गाउँमा संरचना बनाउनु पर्ने भएकोले नै रकम पठाएको उनले बताए। उक्त रकम पहिलो चरणमा सिधै मन्त्रालयबाट, दोस्रो चरणमा सम्बन्धित स्थानीय तहको सिफारिसमा र तेस्रो चरणमा छनोट तथा मूल्याङ्कन समितिको स्थलगत अवलोकनपछि प्रदान गर्ने मन्त्रालयले जनाएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.