|

रौतहट : जानकी जयन्ती समारोहमा सहभागी हुन गत शनिबार रौतहट आएका उपराष्ट्रपति नन्दबहादुर पुनले कटियाको प्रशंसा गरे। कटिया रौतहटको कटहरिया नगरपालिकामा बनाइने मासुको परिकार हो। 

उपराष्ट्रपति पुनले कटियालाई मधेशको पहिचान समेत रहेको बताए। कटहरिया आउने जो कोहीले पनि माटोको भाँडामा पकाएको मासु (कटिया) चाख्ने गरेका छन्।

के हो कटिया ?

कटिया मासुको स्वादिष्ट परिकार हो। माटोको भाँडोमा खसीको मासु पकाएर कटिया तयार पारिन्छ। यसरी पकाइने कटिया कटहरियाबाट नै सुरु विश्वास गरिन्छ।

करिब चार दशकअघि कटहरीयाका मौजीलाल साह र जगा साहले माटोको भाँडोमा खसीको मासु पकाउन थालेको स्थानीयको भनाइ छ। यसरी सुरु भएको कटिया खान अहिले कटहरियामा विभिन्न ठाउँका मानिसहरु आउने गर्दछन्। 

स्थानीय व्यवसायी कामेश्वर साहले करिब तीन दशकअघि सुरु गरेको कटिया पसल अहिले डेड दर्जनभन्दा छन्। कटहरियामा रहेको पसलमा दैनिक २०० किलोभन्दा बढी खसीको मासु खपत हुने गरेको साह बताउँछन्।

माटोको भाँडो (कोहिया)मा करिब २०० ग्राम खसीको मासु, तोरीको तेल, प्याज, नुन, नपिनेको मसला हालेर ४० मिनेटदेखि एक घण्टासम्म कोइलाको रापमा पकाउनु पर्दछ। कामेश्वर साहले भने, ‘कोइलामाथि कटियाको भाँडो राखिन्छ र पंखाले हम्केर कटिया पकाइन्छ।’

कटिया अन्य मासुको परिकारभन्दा फरक स्वादको रहने उनको भनाइ छ। त्यसैले कटियाको माग दैनिक बढ्दै कटिया व्यवसायी हिरालाल साहले बताए। महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरबाट ३० किलोमिटर दक्षिणमा रहेको कटहरियामा नेपालका साथै भारतको विभिन्न स्थानहरुबाट कटियाका पारखीहरु आउने गरेको विजय कटिया हाउसका सञ्चालक सोनु जयसवालले बताए। कटिया खसीको मासुको बनाइने र अन्य जनावरको मासुबाट कटिया नबन्ने उनको भनाइ छ।

जयसवालले दैनिक ५० वटा भाँडोमा कटिया पकाएर बेच्दै आएका छन्। प्रतिभाँडो ४०० रुपैयाँ लिने बताउँदै उनले भने, ‘यो व्यवसाय चाँडै काठमाडौंमा पनि चलाउने योजना छ।’

कटहरियाका कटिया खान काठमाडौं, पोखरा, वीरगंज, जनकपुरलगायतका स्थानबाट आउने गरेको स्थानीय पत्रकार संजय मिश्रले बताए। उनले भने, ‘कटहरियाको कटियाको आफ्नै स्वाद छ। जुन स्वाद लिनको लागि पनि यहाँ विभिन्न ठाउँका मानिसहरु आउने गर्दछन्।’ 

पछिल्लो समय कटहरियाको कटियाको सिको गर्दै रौतहटकै गरुडा, गौर, बाराको कलैया, सिम्रौनगढ, पर्साको वीरगंज, भारतको रक्सौल, बयरगनियालगायत स्थानमा कटिया बनाउने गरेका छन्। तर, कटहरियाको जस्तो राम्रो र स्वादिष्ट नपाउने कटिया पारखी कृष्ण तिवारीले बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.