|
प्रतीकात्मक तस्बिर

रसुवा : आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ७३ प्रतिशत काम पूरा भएको छ। २०७७ असोजभित्र विद्युत् उत्पादन गर्ने गरी कामलाई तीव्रता दिइएको छ।

आयोजनको हेडबक्सको काम ८० प्रतिशत, पेनस्टक निर्माणको काम ७५ प्रतिशत र पावर हाउस निर्माणको काम ७० प्रतिशत सकिएको आयोजनाका प्रशासकीय अधिकृत सुनीलप्रसाद रेग्मीले जानकारी दिए। यस्तै, हेडरेस टनेल निर्माणको काम ८२ प्रतिशत सकिएको छ। तीन हजार ६७१ मिटर हेडरेस सुरुङमध्ये तीन हजार २४ मिटर सुरुङ निर्माण गरिएको प्रशासकीय अधिकृत रेग्मीको भनाइ छ।

आयोजनाको पाँच हजार २०० मिटर सुरुङमध्ये करिब ७०० मिटर निर्माण बाँकी छ। ‘बाँध निर्माणको काम ८० प्रतिशत सकिएको छ,’ उनले भने, ‘यही गतिमा काम हुने हो भने तोकिएको समयमा विद्युत् उत्पादन हुन्छ।’ 

साढे ४२ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य २०६९ सालदेखि सुरु भएको हो। एसइडब्लु टुन्डी जेभीले निर्माण गरिरहेको छ। आयोजनाको पाँच चरणमा काम भइरहेको प्रशासकीय अधिकृत रेग्मीले बताए।

सिभिलमा एसइडब्लु टुन्डी जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रशारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ।

चारवटा ठेकेदार कम्पनीले निर्माण कार्य गरिरहेका छन्। चारवटै ठेकेदारले डिजाइन, आयात, जडान, परीक्षण र कमिसनिङको काम गर्ने प्रशासकीय अधिकृत रेग्मीले बताए। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हबमा गएर जोडिने छ। आयोजनाहरूबाट विद्युत् उत्पादन गर्ने समय नजिकिँदै गएको कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको छ। 

भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ। यो आयोजना निर्माणका लागि पाँच अर्ब दुई करोड ४२ लाख रुपयाँ खर्च हुने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.