|

नेपालगन्ज : बाँकेमा धार्मिक एवम् सामाजिक सद्भाव भड्किने सम्भावना बढ्नासाथ यहाँका सामाजिक, धार्मिक एवम् मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले धार्मिक गुरुलाई गुहार्ने गरेका छन्। यस अर्थमा बाँकेको धार्मिक र सामाजिक सद्भाव धार्मिक गुरुहरुको भरमा अडेको छ। 
बाँकेमा विभिन्‍न समयमा भड्केका धार्मिक, सामाजिक र जातिय सद्भावलाई यिनै धार्मिक गुरुले समाधान गर्दै आएका छन्। धार्मिक, सामाजिक र जातिय सद्भाव भड्किन नदिन र भड्की हालेको खण्डमा समाधान गर्न धार्मिक गूरुहरुले नेपालगन्जमा अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्च गठन गरेर द्वन्द्व समाधान गर्दै आएका छन्। 

क्षेत्रीयस्तरको मञ्चको अध्यक्षमा बागेश्वरी मन्दीरका मुल महन्थ चन्द्रनाथ योगी र उपाध्यक्षमा इस्लाम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी छन्।  सचिवमा क्रिश्चियन धर्मका गुरु पास्टर बेन्जामिन र बौद्ध गुम्बा तथा शिख धर्मका गूरु सदस्य छन्। २०६३ सालमा यो मञ्च गठन भयो। कपिलबस्तुमा मधेसी र पहाडिया बीच बढेको द्वन्द्वपछि बाँकेमा यस्तो द्वन्द्व सल्किन नदिन मञ्च गठन गरिएको अध्यक्ष एवम् बागेश्वरी मन्दिरका मुल महन्थ चन्द्रनाथ योगीले जानकारी दिए। 
मधेसी–पहाडिया र हिन्दू–मुस्लिमबीच नेपालगन्जमा पटक पटक द्वन्द्व भैसकेको छ। यसैलाई मध्यनजर गरेर नेपालगन्जमा अन्तर धार्मिक, सामाजिक सद्भाव मञ्च गठन गरिएको मञ्चका अध्यक्ष एवम् बागेश्वरी मन्दिरका मुल महन्थ चन्द्रनाथ योगीले बताए। उनल धार्मिक विवाद समाधान गर्न र हिंसा भड्किन नदिन नेपालगन्जमा रहेका धार्मिक गूरुहरु एक भएर उभिने गरेको बताए। 
मानव जाति रहेमात्र धर्म रहने भएकोले आफूहरुको पहिलो प्राथमिकता धार्मिक, जातिय एवम् सामाजिक सद्भाव जोगाउने रहेको मुस्लिम धर्म गूरु एवम् मञ्चका उपाध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरीले बताए। उनले अहिलेसम्म दजनौँ धार्मिक तथा जातिय द्वन्द्व समाधान गरिसकेको बताए। उनले जातियभन्दा धार्मिक द्वन्द्वका घटना बढी समाधान गरेको बताए। ‘सामाजिक द्वन्द्वभन्दा धार्मिक द्वन्द्वका घटना मञ्चले बढी मिलाएको छ,’ उनले भने, ‘कतिखेर धार्मिक एवम् जातिय द्वन्द्व भड्किन्छ भन्न सकिने अवस्था छैन, हिरमिनिया र कम्दीमा हिन्दू र मुस्लिम बीचको द्वन्द्व पनि हामीले नै समाधान गरेका हौँ।’
धर्मगुरुलाई प्रशासनले समेत गुहार्छ
धर्म गुरुहरुले भनेको मान्ने भएकोले अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चलाई विवाद समाधान गर्न मद्दत मिलेको छ। धर्मावलम्वीले आ–आफ्नो  धर्मगुरुले भनेको कुरा इन्कार गर्न नसक्ने भएकोले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सजिलो भएको बागेश्वरी मन्दिरका मुल महन्थ चन्द्रनाथ योगीले बताए। उनले अन्तर धार्मिक सद्भावका लागि सवै धर्म गुरुले आ–आफ्ना अनुयायीलाई सम्झाउने, बुझाउने गरेको समेत बताए। 
धार्मिक हिंसा भड्किन थालेपछि वा अन्तर धर्म वीच विवाद भए प्रहरी, प्रशासनले समेत धर्मगुरुलाई गहार्ने गरेको मुस्लिम धर्मका गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए। ‘प्रहरी, प्रशासनले नसकेको विवाद अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चले मिलाउने गरेको छ,’ मौलाना मन्जरीले भने। 

धार्मिक एवम् सामाजिक सद्भावका लागि चनाखो 
बाँकेका सर्वसाधारणहरु पनि धार्मिक एवम् सामाजिक सद्भावका लागि चनाखो हुने गरेका छन् । यहाँका सर्वसाधारण एकअर्काको धार्मिक एवम् सामाजिक कार्यमा सरिक हुने गरेका छन्। मुस्लिम धर्मावलम्वीको मोहर्रम, ईद, बक्रईद, मोहम्मद डे जस्ता पर्वमा अन्य धर्मालम्बीले मस्जिदमै गएर मुस्लिम धर्मावलम्वीलाई शुभकामना दिने, एकआपसमा खुसीयाली साटेर खुसीयाली साट्ने गरेका छन्। 
मुस्लिम धर्मावलम्वीले पनि हिन्दू धर्मावलम्वीले मनाउने दसैँ, तिहार, पूजापाठ, अन्तिम संस्कार, नाचगानमा सहभागी भएर रमाउने गरेका छन्। कतिपय मुस्लिम समुदायले तिहारको भाई टिका समेत लगाउने गरेको नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेका अध्यक्ष मोहम्मद शेर बागवानले बताए। 

मटेहियामा भएको विवाद मिलाउन मञ्चको महत्वपूर्ण भूमिका
मुस्लिम समुदायले ‘मोहम्मद डे’ को र्‍याली निकाल्ने क्रममा गाँउले बीच भएको झडपमा पछि मटेहियामा उत्पन्न तनावलाई पनि अन्तर धार्मिक तथा सामाजिक मञ्चको पहलमा मत्थर बनाइएको छ। घटनाको खबर पाउनासाथ मञ्चका अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत कार्यसमितिका सदस्यको बैठक डाकेर समस्या समाधानका लागि सामूहिक अपिल गरिएको उपाध्यक्ष मन्जरीले बताए। उनले सोमबार र मंगलबार दिनभर जिल्ला प्रशासन, प्रहरी र मानवअधिकाकर्मीको टोलीसँग विवाद समाधानका लागि छलफल गरेको बताए। ‘हामीले छलफल र बार्ता गरेर मटेहियामा भएको घटनालाई बढ्न दिएनौँ,’ उनले भने। 
उक्त घटनामा नरैनापुर गाविस–३ का ४५ वर्षीय मेनेजर खानको मृत्यु भएको छ।  १२ जना घाइते छन्। घाइते हुनेमा कटकुइया गाविस–५ का ३० वर्षीय समिर सेख, सोही गाविस–५ का ५० वर्षीय असगर अल, लक्ष्मणपुर गाविस–५ का मौलाना बजहुल कम्मर खाँ, सोही गाविस–६ का ५५ वर्षीय सहिद खाँ र नरैनापुर गाविसका २२ वर्षीय सलमान खान रहेका छन्। घाइतेहरूको उपचार नेपालगन्ज मेडिकल कलेजमा भइरहेको छ।  
घाइते मध्ये पाँच जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले बताए। निमित्त प्रजिअ बस्नेतका अनुसार घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी अवस्था सामान्य बनाइएको छ। घाइते मध्ये मौलाना बजहुल कम्मर खाँको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
घाइते मटेहिया गाविस–५ का ६० वर्षीय दुलारे यादव, सोही गाविस–४ का ६५ वर्षीय शिवप्रसाद काधुको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। अस्पतालसम्म आईनपुगेका अन्य घाइतेहरूमा ढिल्लो यादव, सावल यादव, बजरङ्गी गोडिया, बुधई यादव, ओमकार मौर्य रहेको घाइते दुलारे यादवले बताए।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सर्बपक्षीय बैठकले घटनाको छानविन गर्ने निर्णय गरेको छ। 

विवाद नबढाउन धर्मगुरुको अपिल
मटेहियामा भएको घटनालाई अतिरन्जित नगर्न र यसलाई नबढाउन बाँकेका धर्मगुरुले अपिल गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि धर्मगुरुहरुले सामान्य विवादपछि उत्पन्न तनावलाई लिएर कुनै किसिमका क्रियाकलाप नगर्न र आवेशमा नआउन आग्रह गरेका छन्। 
इन्सेकको समन्वयमा मंगलबार इन्सेक क्षेत्रीय कार्यालयमा बसेको मानवअधिकारकर्मी, सञ्चारकर्र्मी र धर्मगूरुसहितको बैठकले पनि घटनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘स्थितिलाई सामान्य बनाई सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न सम्बन्धित पक्षलाई आग्रह गर्दछौँ,’ बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.