|

पोखरा : जेठो हिमालको उपमा पाएको अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा म्याराथन प्रतियोगिता हुने भएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन  समिति आयोजना र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा म्याराथन हुन लागेको हो।

अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा जेठको १७ गते देखि २० गतेसम्म हुने महोत्सवको अवसरमा अन्नपूर्ण आधार शिविर (४१३० मिटर) मा म्याराथन हुन लागेको महोत्सवमा संयोजक ललित गुरुङले जानकारी दिए। अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुक पुगेर समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ।

‘अन्नपूर्णको प्रचार र पर्यटन प्रवर्द्धनका लागि महोत्ससँगै म्याराथन गर्न लागेका हौँ,’ उनले भने, ‘म्याराथनले साहसिक पर्यटनमा रमाउनेलाई अन्नपूर्णसम्म ल्याउने हाम्रो अभियान हो।’ महोत्सवलाई म्याराथनको माध्यमबाट अन्नपूर्ण आधार शिविरमा यसखाले गतिविधि गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्य रहेको गुरुङ बताउँछन्। यसपटकको म्याराथनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरू अन्नपूर्ण आउने उनले बताए। ‘उच्च हिमाली भेगमा जो कोही धावकले दूरी पार गर्न सक्दैन’, उनले भने। 

मौरिस हर्जाेगको सम्झना 

अन्नपूर्ण हिमाललाई जेठो हिमाल पनि भनिन्छ। सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग सहितको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण पहिलो पटक गरेको सम्झनामा जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाइन्छ। जुन ३ मा मौरिस हर्जोगको टोलीले ८ हजार मिटर भन्दा अग्लो हिमाल पहिलो पटक आरोहण गरी विश्व कीर्तीमान रचेको दिनमा म्याराथन हुन लागेको हो। यसपटक अन्नपूर्ण प्रथम हिमालका आरोही मौरिस हर्जोगको अर्धकदको शालिक अनावरण गरिने महोत्सवका प्रचारप्रसार संयोजक टंक अधिकारीले बताए।   

हिमआँधीले भत्केको आधार शिविर    

गत फागुन १५ गते आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरमा रहेको होटलहरू सबै भत्के। विश्वकै चर्चित अन्नपूर्ण आधार शिविर हिमआँधीका कारण तीन महिना यता ठप्प छ। भारी हिउँ जमेकोले त्यसलाई पन्छाएर होटल बनाउन नसकेकै कारण होटलहरू निर्माण गर्न नसकिएको ब्यवसायी जगनराज गुरुङले जानकारी दिए।

अन्नपूर्ण आधार शिविरमा भीषण हिमआँधीका कारण  होटलहरू भत्केपछिनजिकै रहेको नजिकैको माछापुच्छे आधार शिविरका होटलमा बसोबासको व्यवस्थापन मिलाएर प्रतियोगिता गर्ने तयारी आयोजकको छ। 

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार रुपैयाँ, दोस्रोेले ७५ हजार र तेस्रोले ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ। विदेशी धावकले ३५० अमेरिकी डलर र स्वदेशीले १ हजार रुपैयाँ तिरेपछि म्याराथनमा सहभागी गराउन सकिनेछ। म्याराथनमा सहभागी धावकको आवश्यक सुरक्षा, उद्धार, बिमासमेत हुनेछ।

म्याराथनसँगै अन्य सांस्कृतिक प्रस्तुति, भलिबल, घोडा दौड लगायतका खेलहरू समेत हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समितिले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.