|

भक्तपुर : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक खरिद ऐन चाँडै संशोधन हुने बताए।

मन्त्री पोखरेलले भक्तपुरको नगरकोटस्थित तेलकोटमा प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको नाममा निर्माण हुन लागेको तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किलाे मिटर हरिगुरु मार्गको शिलान्यास गर्दै सार्वजनिक खरिद ऐन संशोधनका बारेमा बताएका हुन्।   

मन्त्री पोखरेलले ऐनका केही प्रावधान विकास निर्माण योजना समयमा सम्पन्न गराउन बाधक देखिएकाले ऐन संशोधन गर्ने तयारी भइरहेको बताए। उनले भने, ‘केही ठूला निर्माण व्यवसायीले निर्माण कार्यको ठेक्का सम्झौता गरी २० प्रतिशत 'मोभिलाइजेशन' लिने गरेका छन्। तर त्यसमा राजनीतिक पहुँचका आधारमा काम नगर्ने परिपाटीको विकास भएकाेछ। त्यस्तो प्रणालीको अन्त्य गर्न ऐन नै संशोधन गर्ने तयारी भइरहेको हो।’

रक्षामन्त्री पोखरेलले विकासको काम कुनै पार्टी विशेषको नहुने भन्दै सबै पार्टी मिलेर विकास र समृद्धिको अभियानमा एकजुट हुन आग्रह गरे। उनले नगरकोट सडकलगायतका ठूला निर्माण कार्यमा ढिलासुस्ती गर्ने, आलटाल गर्ने, लापरवाही गर्ने र गुणस्तरहीन निर्माण कार्य गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे।

सरकारले मुलुकको विकास र समृद्धिको आधार निर्माण गरिसकेकाले आर्थिक वर्ष २०७६/०७७ विकासको वर्ष हुने उनले दावी गरे। मुलुक संघीयतामा गइसकेकाले प्रदेश र स्थानीय सरकारलाई आफ्नो अधिकारको पूरा उपयोग गर्न उनको आग्रह थियो।

कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी तिमिल्सेनालगायतले अब भाषण मात्र नभई देखिने गरी विकास निर्माणका कार्य हुनुपर्नेमा जोड दिए।

सो अवसरमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले केन्द्र सरकारको २ करोड ८५ लाख र चाँगुनारायण नगरपालिकाको ५ करोड ६१ लाख गरी ८ करोड ४७ लाख लागतमा सो सडक निर्माण हुन लागेको जानकारी दिए।

प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको स्मृतिमा हरिगुरु मार्ग नामकरण गरिएको उक्त साँढे सात किलोमिटर लामो सडक ६ महिनाभित्र निर्माण सम्पन्न हुने प्रमुख मिश्रले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.