|

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले धमाधम बैंकहरू स्थापना हुन थालेका छन्। ८ गाउँपालिका र १ नगरपालिकासहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा बैंकहरू स्थापना हुन थालेका हुन्। 

आइतबार मात्र जिल्ला सदरमुकाम फुङ्लिङमा एनआइसी एसिया बैंकले २८२ औँ शाखा विस्तार गरेको छ। यो सँगै जिल्ला सदरमुकाममा १२ वटा बैंकले आफ्नो शाखा विस्तार गरी कारोवार गरिरहेका छन्। यस्तै जिल्लाको २ स्थानीय तह बाहेकका अन्य स्थानीय तहबाट पनि फरक फरक बैंकले सेवा दिइरहेका छन्। गाउँ गाउँमै बैंक खुलेपछि दुर्गमका नागरिकले बैंकिङ सेवा आफ्नै ठाउँवाट लिइरहेका छन्।

जनप्रतिनिधि आएपछि सार्वजनिक सेवा गाउँबाटै पाए पनि दुई वर्षसम्म बैंकिङ कारोबार गर्न सदरमुकाम पुग्नु पर्दा वास्तविक रुपमा संघीयताको अनुभूति गर्न नसकेका आठराई त्रिवेणी गाउँपालिकाका पूर्ण लिम्बूले बताए। उनले गाउँमै राष्ट्रिय वाणिज्य बैंकले सेवा प्रवाह गर्न थालेपछि भने खुसी लागेको  बताए। ‘अब चाहिँ गाउँमै सिंहदरबार आए जस्तो लाग्यो’ ६७ वर्षीय लिम्बूले भने, ‘बुढेसकालमा भएपनि गाउँमा सबै अफिसहरू खुलेको देख्न पाएँ।’ 

सिदिङ्वा गाउँपालिका ४ का हर्कबहादुर पन्धाकको पनि बैंकिङ करोबार गर्न एक दिन लगाएर सदरमुकाम फुङलिङ धाउनुपर्ने बाध्यता हटेको छ। ‘अब एक दिन लगाएर बैंक जानुपर्ने बाध्यता हट्यो’, लिम्बूले भने,'गाउँपालिकाको कैन्द्र साब्लाखुमै बैंक खुलेपछि हामी ग्रामीण भेगका नागरिकलाई सहज भएको छ।’

स–सानादेखि लिएर ठूला योजना सञ्चालनका लागि अनिवार्य बैंक खाता खोल्नु पर्छ। खाता खोल्न उपभोक्ता समितिका तीनजना पदाधिकारी स्वयं उपस्थित हुनुपर्छ। वित्तीय संस्था खुलेसँगै जनतालाई सेवा प्रवाह गर्न समेत सजिलो हुने जनप्रतिनिधिको भनाई छ। 

गाउँपालिकामा बैंकको शाखा खुलेपछि आगामी दिनमा योजना सञ्चालन गर्न पनि धेरै सजिलो हुने पाथिभरा–याङ्वरक गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रमान खोयाहाङले बताए। ‘उपभोक्त समितिका पदाधिकारीलाई सदरमुकाम धाएर काम गर्न निकै कठिन थियो। खाता खोल्न गयो। बजारमा खान बस्न पर्‍यो। खर्च पनि उत्तिकै हुन्थ्यो’, खोयाहाङले भने,‘अब समय र लागत दुवैको बचत हुने भयो।’ 

स्थानीय तहमध्ये सनराइजले मैवाखोलामा, वाणिज्यले आठराई-त्रिवेणीमा तथा लक्ष्मी बैंकले सिदिङ्वा र पाथिभरा-याङवरकमा र नेपाल बैंकले सिरिजंघा गाउँपालिकामा शाखा खोलेका हुन्। यस्तै फक्ताङलुङ गाउँपालिकामा जनता बैंकले शाखा विस्तार गरेका छन्। मेरिङदेन र मिक्वाखोला गाउँपालिकामा भने कहिलेसम्म बैंक सञ्चालन हुने टुंगाे लागिसकेको छैन। 

सदरमुकाम समेत रहेको फुङलिङ नगरपालिकामा भने नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सिद्धार्थ बैंक, जनता बैंक, एनएमबी बैंक, गण्डकी बैंक, सेञ्चुरी बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंक सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.